८ वैशाख २०८१ शनिबार
खेल

विभागलाई विदेशी खेलाडीको चासो

नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विभागीय क्लबहरूले पनि फिफा र एएफसीको निर्देशिकाअनुसार क्लब लाइसेनिङ प्राप्त गरिसकेकाले टोलीले विदेशी खेलाडी भित्र्याएको खण्डमा विभागीय टोली पनि लिगको दाबेदार टोलीका रूपमा आउने बताएका छन्।

‘विभागीय क्लबले पनि क्लब लाइसेनिङ प्राप्त गरिसकेपछि हामी व्यावसायिकतातर्फ अघि बढिसकेका छाैँ,’ अनन्तले भने, ‘हाम्रो टोलीमा कम्तीमा तीन विदेशी खेलाडी भित्र्याउन पाउने हो भने हामी पनि सधैँ उपाधिका दाबेदार टोलीका रूपमा आउनेछौं। क्लबमा युवा खेलाडीको बाहुल्य छ। उनीहरूमा एक्सपोजरको कमी छ। विदेशी खेलाडी पनि भित्रिएको खण्डमा पक्कै पनि टोलीले माथिल्लो स्तरको प्रदर्शन गर्नेछ।’

यसअघि शनिबार आफ्नो दोस्रो खेलमा च्यासल युथ क्लबसँग पराजित भएपछि अर्को विभागीय टोली एपिएफका प्रशिक्षक कुमार थापाले पनि टोलीमा विदेशी खेलाडी भित्र्याउने बारे व्यवस्थापनसँग माग गरे र त्यसबारे छलफल भइरहेको बताएका थिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार सम्पन्न एक मात्र खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गरेको थियो। जारी लिगमा पुलिसको यो पहिलो जित हो। यसअघि लिगको पहिलो खेलमा पुलिस अग्रता जोगाउन नसक्दा त्रिभुवन आर्मी क्लबसँग १–१ को बराबरीमा रोकिएको थियो। लिगमा पुलिसले दुई खेलबाट चार अंक जोडेको छ।

७०औं मिनेटमा वैकल्पिक खेलाडी सुमन लामाले गरेको गोल पुलिसलाई जारी लिगमा पहिलो जित पक्का गर्नका लागि पर्याप्त बन्यो। सुमन ५१औं मिनेटम बुद्धबल तामाङको स्थानमा मैदान प्रवेश गरेका थिए। जावलाखेलले १० औँ मिनेटमा अग्रता लिने अवसर पाएको थियो। तर अमिर श्रेष्ठको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो। ४०औं मिनेटमा पुसिसका रवि पासवानले गरेको प्रहार जावलाखेलका कप्तान तथा गोलकिपर टेकेन्द्र थापाले उत्कृष्ट बचाउ गरेका थिए।

६५औं मिनेटमा पुलिसले अग्रता लिने अर्को अवसर पायो। तर पुलिसका लागि यस पटक बार बाधक बन्यो। रविको प्रहार बारमा लागेर फर्कंदा पुलिस निराश बनेको थियो। त्यसको एक मिनेटपछि नै सन्तबहादुर तामाङको प्रहार पोस्टमा लागेर फर्कंदा जावलाखेलले अग्रताको अवसर गुमायो।

खेल सकिन एक मिनेट बाँकी रहँदा पुलिसले अग्रता दोब्बर पार्ने अवसर पाए पनि भरत शाहका प्रहार टेकेन्द्रले विफल पारेका थिए। इन्जुरी समयमा जावलाखेलले खेलमा फर्कने अवसर पाए पनि रूपबहादुर लामाले गरेको प्रंहार गोलकिपर शत्रुघन चौधरीले विफल पार्दै पुलिसको संकट टारेका थिए। पुलिसका प्रशिक्षक अनन्तले रविको प्रभावशाली प्रदर्शनले टोलीका अन्य खेलाडीको समेत मनोबल बढ्ने बताए।

‘रवि क्षमतावान् खेलाडी हुन्। उनलाई मैलै आज जुन जिम्मेवारी दिएको थिएँ, त्यसमा उनले न्याय गरे,’ अनन्तले भने। यता लगातार दोस्रो हारपछि जावलाखेलका प्रशिक्षक किशोरकुमार केसीले राम्रो प्रदर्शन गर्दा गर्दै पनि नतिजा सुम्पिनुपरेको बताए। ‘म टोलीको प्रदर्शनबाट सन्तुष्ट छु,’ केसीले भने, ‘प्रदर्शन राम्रो छ तर नतिजा हाम्रो पक्षमा आएन। सायद हामीलाई भाग्यको साथ रहेन। दुई पटक बल पोस्टमा लागेर फर्कियो।’

‘विदेशी खेलाडीले पनि स्वाभाविक प्रदर्शन गर्न सकिरहेका छैनन्। कहिले चलेको जस्तो देखिन्छ, कहिले चल्नै नसकेको जस्तो देखिन्छ। मैले बुझ्नै सकिरहेको छैन,’ केसीले ठट्यौली शैलीमा भने।

प्रकाशित: १३ मंसिर २०७८ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App