६ वैशाख २०८१ बिहीबार
खेल

महिला हिंसाविरुद्ध मैत्रीपूर्ण फुटबल

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अस्ट्रेलिया नेपाल अल्मुनाई संघले मैत्रीपूर्ण फुटबल खेल्दै शनिबार महिला हिंसाविरुद्धको १६ दिने अभियानको सुरुआत गरेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको उक्त मैत्रीपूर्ण खेलमा नेपाली खेल पत्रकारहरूको छाता संगठन एनएसजेएफले नेपाल अल्मुनाई संघमाथि ३–१ को जित निकाल्यो। कुल ६० मिनेटको खेलमा दुवै टिममा महिला र पुरुष खेलाडी एकसाथ मैदान उत्रिए। महिला अधिकारको पक्षमा लामो समयदेखि काम गर्दै आएको गैरसरकारी संस्था साथी, एनएसजेएफ, नेपालस्थित अस्ट्रेलियाली दूतावास, अस्ट्रेलिया नेपाल अल्मुनाई संघ र एन्फाको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल गरिएको हो।

‘हाम्रो गोल महिला हिंसाविरुद्धको बोल’ भन्ने नारासहित उक्त खेल खेलिएको थियो। नेपालमा सबैभन्दा लोकप्रिय खेल फुटबल भएकाले अभियानको सुरुआत मैत्रीपूर्ण फुटबलबाट गरिएको साथीकी अध्यक्ष सजनी अमात्यले बताइन्। दुवै टोलीमा महिला र पुरुषको समान प्रतिनिधित्वले लैंगिक समानताको पक्षमा बलियो सन्देश दिएको उनको भनाइ थियो। साथीकी पूर्वअध्यक्ष बन्दना राणाले महिला र पुरुष राष्ट्रिय फुटबल खेलाडीका लागि समान तलबको व्यवस्था गरेकोमा एन्फाको प्रशंसा गर्दै १० वर्षअघि साथीले एन्फासँगको सहकार्यमा लैंगिक समानताको अभियान सुरु गरेको स्मरण गरिन्।

‘खेलको नतिजा जस्तो आए पनि हाम्रो लक्ष्य मैदानभित्र मात्र नभई सबैतिर फेयर प्लेको सन्देश दिँदै महिला हिंसाविरुद्ध प्रतिबद्धता जनाउनु हो,’उनले भनिन्। नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले लैंगिक समानताका लागि थुप्रै प्रयास भए पनि अझैंसम्म महिला हिंसा भइरहेकाले आफूलाई अत्यन्तै निराश पार्ने गरेको बताइन्। तीन दशकदेखि महिला हिंसाविरुद्ध १६ दिने अभियान चलाइदै आएको छ। साथीकी अध्यक्ष अमात्यले लैंगिक हिंसाको पूर्ण अन्त्यका लागि सबैको प्रयास आवश्यक हुने बताइन्।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले साथीसँगको सहकार्यमा नेपाली फुटबलको सर्वोच्च निकायले महिला हिंसाविरुद्धको अभियान लामो समयदेखि सुरु गरेको बताए। ‘अमेरिकामा महिला खेलाडीले समान तलबका लागि संघर्ष गरिरहेका छन्। तर, हामीले महिला राष्ट्रिय खेलाडीलाई पुरुषसरह तलबको व्यवस्था गरिसकेका छौं,’ तुलाधरले भने।

प्रकाशित: १२ मंसिर २०७८ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App