coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

हिमालयनमाथि मनाङको कठिन जित

हिमालयन शेर्पाविरुद्ध गोल गरेपछि मनाङका खेलाडीहरू। तस्बिरः नागरिक

स्ट्राइकर आफिज ओलावलेले खेल सकिन ६ मिनेट बाँकी छँदा गरेको गोलमा मनाङ मर्स्याङदी क्लबले हिमालयन शेर्पालाई १–० ले हराउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ।

पहिलो खेलमा जावलाखेललाई हराएको मनाङले दुई खेलबाट ६ अंक जोडेको छ। पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुको फ्लिक हेड पास सदुपयोग गर्दै ओलावलेले तीन अंक पक्का गराए। मनाङका प्रशिक्षक राजेन्द्र तामाङले हिमालयन शेर्पाले एक अंकका लागि खेलेको र सोहीअनुसार रक्षात्मक प्रदर्शन गर्दा गोल गर्न कठिन भएको बताए। ‘मैले हिमालयन र संकटाबीचको खेल हेरेको थिएँ। जहाँ हिमालयनले रक्षात्मक खेलेको थियो,’ तामाङले भने, ‘उसले हामीविरुद्ध पनि सोही रणनीति अपनायो। त्यसैले विंग्सबाट बल क्रस गर्ने हामीले रणनीति लियौं।’ उनले हिमालयनविरुद्ध सेट पिसमा सफलता पाएको पनि बताए।

‘जावलाखेलविरुद्ध पनि हामीले सेट पिसमै गोल गरेका थियौं। हामीले त्यसमा धेरै ध्यान दिएका छौं। आज हिमालयनविरुद्ध पनि हामीले सेटपिसमा ध्यान दियौं र सफल पनि भयौं,’ उनले भने। तामाङले टोलीमा रहेका दुई विदेशी खेलाडी ओलावले र एडेलाजा सोमिडेले विगतको जस्तो प्रदर्शन गर्न नसकेको पनि उल्लेख गरे। ‘ओलावले र सोमिडेले विगतमा गरेको प्रदर्शनबाट नै हामीले उनीहरूलाई टोलीमा भित्राएका हौं। तर उनीहरूले स्वभाविक प्रदर्शन गर्न सकिरहेका छैनन्,’ उनको भनाइ थियो। तेस्रो मिनेटमा पुजनको पासमा ओलावलेले गरेको हेडर पोस्ट नजिकैबाट बाहिरिँदा मनाङले अग्रता लिने अवसर गुमायो।

४१औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको फ्रिकिक बारमा लागेर फर्कदा हिमालयन निराश बन्यो। ५६औं मिनेटमा मनाङका विमल रानाले गोल गरे पनि अफसाइड भन्दै सो गोलले मान्यता पाएन। हिमालयनका प्रशिक्षक युगलकिशोर राईले राम्रो प्र्रदर्शन गर्दागर्दै पनि नतिजा सुम्पिनु परेको बताए। ‘टोलीले रणनीतिअनुसार नै प्रदर्शन गर्‍यो। तर पनि हामी नतिजा सुम्पिन बाध्य भयाैं, ’ राईले भने, ‘फुटबलमा भाग्यले पनि ठूलो भूमिका खेल्छ। आज हामीलाई भाग्यले साथ दिएन। नतिजा हाम्रो पक्षमा नआए पनि यसैअनुसारको प्रदर्शन गर्ने हो भने टोलीले लिगमा राम्रो स्थान हासिल गर्न सक्छ।’

यसअघि शनिबार च्यासल युथ क्लबले एपिएफमाथि १–० को जित हात पारेको थियो। पहिलो खेलमा च्यासलले थ्री स्टार क्लबलाई ३–० को नतिजा सुम्पिएको थियो। यता एपिएफको भने लिगमा लगातार दोस्रो हार हो। पहिलो खेलमा इन्जुरी समयमा सम्हालिन नसक्दा एपिएफले ब्रिगेड ब्वाइज क्लबसँग ३–२ ले नतिजा सुम्पिएको थियो। आइतबार हुने एक मात्र खेलमा नेपाल पुलिस क्लबले जावलाखेल क्लबको सामना गर्नेछ।

प्रकाशित: १२ मंसिर २०७८ ०४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App