७ वैशाख २०८१ शुक्रबार
खेल

सदस्यसचिवमा विष्ट, महर्जन र घिसिङ दाबेदार

ओलम्पियन दीपक विष्टसहित करिब दुई दर्जनभन्दा बढी व्यक्तिले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव पदका लागि आवेदन दिएका छन्।

युवा तथा खेलकुद मन्त्रालयद्वारा जारी आवेदनको समयसीमा शुक्रबारसम्म रहँदा १८ जनाले उक्त पदका लागि दावेदारी प्रस्तुत गरेका हुन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेप सदस्यसचिव खुला छनोटका आधारमा हुने प्रावधान छ। यद्यपि, राजनीनिक आस्थाका आधारमै सदस्यसचिव नियुक्ति हुने गरेका छन्।

यसअघि सदस्यसचिव रमेश सिलवाल पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै सहयोगमा सो पदमा दोहोरिएका थिए। तर, सरकार परिवर्तनसँगै सिलवाल र ९ जना बोर्ड सदस्य बर्खास्त भए।

नयाँ ऐनअनरूप आठ सदस्य नियुक्ति हुने भए पनि सदस्यसचिव पदका लागि भने प्रक्रिया सुरु भएको छ। गठनबन्धन सरकार रहेकाले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस समर्थित व्यक्तिहरूले सो पदका लागि दाबेदारी प्रस्तुत गरेका छन्। यद्यपि, यसमा केही चर्चित खेलाडी र खेलकर्मीले पनि चासो देखाए।

आठौंदेखि ११औं दक्षिण एसियाली खेलकुद(साग) का स्वर्ण विजेता दीपक विष्टले पनि दाबेदारी दिएका छन्। छनोट चरण पार गरेर ओलम्पिक खेल्ने नेपालका दुई खेलाडीमध्ये एक दीपक एसियाड (सन् २००२ र २००६) का कांस्य पदक विजेता पनि हुन्।

त्यस्तै नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ र सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पनि सदस्यसचिव पदमा आवेदन दिएका छन्। यी तीन जनालाई नै सो पदका लागि प्रमुख दाबेदारका रूपमा हेरिएको छ। ओलम्पियन विष्टलाई कांग्रेसका नेताहरूको दारिलो साथ छ भने खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पनि रुचाएका छन्।

सुमेरु ग्रुपका अध्यक्ष महर्जनलाई पनि अर्का दाबेदारका रूपमा हेरिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै उनलाई सदस्यसचिव बनाउन अग्रसरता देखाएको माओवादीनिकट खेलकर्मीकोभनाइ छ।

महर्जन यसअघि नेपाल तेक्वान्दो संघका उपाध्यक्ष पनि हुन्। नेतृत्वसँगको तिक्तताका कारण उनी केही महिनाअगाडि सम्पन्न निर्वाचनअगावै तेक्वान्दो संघबाट बाहिरिएका थिए। धनाढ्य महर्जन पनि नेपाली खेलकुदको विकासमा पछिल्ला वर्ष निकै सक्रिय छन्।

यसमध्ये अर्का बलिया दाबेदार हुन्, नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ। उनी दाबेदारमध्ये राजनीतिक रूपमा सबैभन्दा माथिल्लो पोर्टफोलियोका हुन्। युद्धकालीन समयदेखि नै माओवादीमा आबद्ध घिसिङ अहिले बाग्मती प्रदेश कमिटीका सदस्य छन्।

हितबहादुर तामाङ खेलकुदमन्त्री रहँदा घिसिङ उनका प्रमुख स्वकीय सचिव पनि थिए। रत्नराज्य क्याम्पसबाट स्नातक गरेका उनी एसिया रग्बी महासंघमा कार्यकारिणी सदस्य छन्। नेपालमा रग्बीको विकासमा राम्रो योगदान पुर्‍याएकाले उनले एसिया रग्बीको विभिन्न जिम्मेवारी पनि पाएका छन्। 

राजनीति र खेलकुदमा घिसिङको राम्रो पकड रहेकाले उनलाई पनि दाबेदारका रूपमा हेरिएको छ। माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघले भने राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीलाई अगाडि सारेको छ। यसअघि महासंघलाई बाइपास गरेर नियुक्त गरिएकाले यस  पटक कार्कीलाई अवसर दिनुपर्ने माओवादी निकट खेलकर्मीको आशय छ।

यद्यपि, यी तीनबाहेक नेपाली खेलकुदका अन्य चर्चित खेलकर्मीले पनि दाबेदारी प्रस्तुत गरेका छन्। नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकार, नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ, नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामा,एथलेटिक्सका आरके विष्ट, खेलविज्ञ अच्युतम लामिछाने र ममता श्रेष्ठलगायतले आवेदन दिएका छन्।

कर्णिकार र लामिछानेले यसअघि पनि सो पदका लागि दावेदारी दिएका थिए। तर, ओली निकट सिलवाल नियुक्त भए। लामिछानेले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानमा पनि पाँच वर्ष काम गरेका थिए। आरके विष्ट पनि मार्सल आटर््सका पूर्वखेलाडी हुन्।

यी आवेदनमध्येबाट सदस्यसचिव सिफारिस समितिले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नेछ। मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठको छनोट समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। ऐनमा सदस्यसचिवका लागि स्नातक तह उत्तीर्ण, खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको,प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान छ। यसैका आधारमा तीन जनाको नाम सिफारिस हुनेछ।

आगामी सोमबारको क्याबिनेट बैठकमा नै ती नाम सिफारिस हुने सम्भावना छ। एसियन गेमको तयारी र नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न थोरै समय बाँकी रहेकाले मन्त्रालय छिट्टै सदस्यसचिव टुङ्ग्याउने योजनामा छ। गत कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले राखेप सदस्यसचिवबाट रमेश सिलवाललाई बर्खास्त गरेपछि सो पद रिक्त छ। त्यसयता मन्त्रालयले निमित्त सदस्यसचिव नियुक्ति गर्दै कामकारबाही अगाडि बढाउँदै आएको छ।

प्रकाशित: ११ मंसिर २०७८ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App