८ वैशाख २०८१ शनिबार
खेल

सातदोबाटोद्वारा थ्री स्टार स्तब्ध

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबलाई १–० ले स्तब्ध पारेको छ। ३१औं मिनेटमा मिडफिल्डर सुदीप गुरुङले गरेको गोल सातदोबाटोका लागि शीर्ष डिभिजनमा पहिलो जितको स्वाद चाख्न पर्याप्त बन्यो। गत साता उद्घाटन खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै ‘ए’ डिभिजन लिगमा अंक खाता खोलेको थियो।

लिगको दोस्रो खेलमै शीर्ष टोलीलाई स्तब्ध पारेको सातदोबाटोका प्रशिक्षक मेघराज केसीले खेलाडीको मिहिनेतले तीन अंक जोड्न सकेको र उनीहरूको प्रदर्शनले सन्तुष्ट रहको बताए। ‘मैले लिगको पहिलो खेलबाटै भन्दै आएको छु, हामी नयाँ टोली हाैँ र हामीले आफूलाई प्रमाणित गरेर देखाउनु छ,’केसीले भने,‘खेलाडीहरूको प्रदर्शनबाट म सन्तुष्ट छु। उनीहरूले धेरै मिहिनेत गरेका छन्, तर अझ केही पक्षमा सुधार गर्नुपर्छ।’

सातदोबाटोले दुई खेलबाट ४ अंक जोडेको छ भने समान खेलमा थ्री स्टारले ३ अंक बनाएको छ। तर प्रशिक्षक केसीले भने अहिले अंकतालिकामा ध्यान नदिएको बताए। ‘हामी अहिले दोस्रो चरणमा छौं, त्यसैले अहिले म अंकतालिकामा भन्दा पनि टोलीलाई कसरी राम्रो प्रदर्शन गराउन सकिन्छ भन्नेमा केन्द्रित छु। हाम्रो उद्देश्य तीन अंक जोड्ने थियो। आजको लक्ष्य पूरा भएको छ। आगामी खेलमा थप सुधारिएको प्रदर्शन गर्दै सुखद नतिजा ल्याउनेछौं।’

३६औं मिनेटमा निरोज चौधरीको प्रहार पोस्टनजिकैबाट बाहिरिँदा सातदोबाटोले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो। त्यसको एक मिनेटपछि नै थ्री स्टारले खेलमा फर्कने अवसर पाए पनि त्यसमा असफल रह्यो। ऋतिककुमार खड्काले गरेको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले विफल पारेका थिए।

थ्री स्टार प्रशिक्षक उज्जन श्रेष्ठले सातदोबाटोले उत्कृष्ट खेलेको प्रतिक्रिया दिए। ‘हामीले आज खेल्नै सकेनौं,’ उज्जनले भने, ‘पहिलो खेलमा पनि अग्रपंक्तिमा समस्या थियो। आज पनि त्यही समस्या दोहोरियो। मिडफिल्डर हेमन्त थापामगर अस्वस्थ भएपछि पहिलो रोजाइमा उतार्न सकेनाैँ। त्यसैले मिडफिल्डबाट अग्रपंक्तिमा बल नै सप्लाइ हुन पाएन। श्रेष्ठले सातदोबाटोसँगको हारले उपाधि दाबेदारीमा महँगो पर्न सक्ने बताए।

शुक्रबार भएको दोस्रो खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबमाथि पुनरागमन जित हात पा¥यो। मध्यान्तर हुन ३ मिनेट बाँकी हुँदा कप्तान प्रकाश बुढाथोकीले गरेको गोलमा फ्रेन्ड्सले अग्रता लिएको थियो। ५७औं मिनेटमा नीरज बस्नेतले संकटालाई खेलमा फर्काएका थिए। खेल सकिन ४ मिनेट बाँकी रहँदा फोडेन फफोनाले गरेको गोल संकटाको जितका लागि पर्याप्त बन्यो।

संकटाका प्रशिक्षक विष्णु गुरुङले टोलीले पहिलो हाफमा केही दबाबमा खेले पनि दोस्रो हाफमा रणनीतिअनुसारको प्रदर्शन गरेकाले जित सम्भव भएको बताए।

‘पहिलो हाफमा हामीले आफ्नै गल्तीमा गोल खायाैँ,’ गुरुङले भने, ‘दोस्रो हाफमा टोलीले राणनीतिअनुरूपकै प्रदर्शन गर्दा लिगमा तीन अंक जोड्न सफल भयाैँ। प्रशिक्षकका रूपमा मेरो यो लिगमा पहिलो जित हो। त्यसैले म खुसी छु। यता फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले दोस्रो हाफमा टोलीले लगातार गरेको गल्तीका कारण अग्रता लिए पनि त्यसलाई जोगाउन नसकेको बताए।

लिगअन्तर्गत शनिबार पहिलो खेलमा च्यासल युथ क्लब र एपिएफले प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा हिमालयन शेर्पा र मनाङ मस्र्याङदी भिड्दै छन्।

प्रकाशित: ११ मंसिर २०७८ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App