७ वैशाख २०८१ शुक्रबार
खेल

महिला क्रिकेट: नेपालद्वारा मलेसिया पराजित

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ। जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ।

विश्वकप एसिया छनोटअन्तर्गत आज भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। मलेसियाले नेपाललाई जीतका लागि ९३ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले १८ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। जीतसँगै नेपालले आगमी वर्ष हुने टी–२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ।

नेपालको जीतमा सीता राना मगरले सर्वाधिक ३० रनको योगदान दिए। कप्तान रुविना क्षेत्रीले २०, सरिता राना मगरले १५, कविता कुँवरले १० तथा इन्दु बर्माले चार रन बनाए। त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो। मलेसियाका लागि एल्सा हन्टरले अविजित ३९ रन बनाए। मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान दिए।

बलिङतर्फ नेपालकी सबनम राईले दुई तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले एक/एक विकेट लिए। नेपाल चार खेलमा तीन जीत र एक हारका साथ ६ अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ। नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो।

त्यस्तै नेपालले तेस्रो खेलमा कुवेतलाई ९ विकेटले हराएको थियो। तीन खेल खेलेको युएई शत प्रतिशत नतिजाका साथ ६ अङ्क जोडेर दोस्रो स्थानमा छ। रनरेट बलियो भएका कारण नेपाल शीर्ष स्थानमा छ। नेपाल अन्तिम खेल आइतबार युएईसँग खेल्नेछ। रासस

प्रकाशित: १० मंसिर २०७८ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App