सुवास ऐयरको उत्कृष्ट ब्याटिङप्रेरित कर्णाली प्रदेशले बुधबार यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य पछ्याएको लुम्बिनी २३.५ ओभरमा ९२ रनमा अलआउट भयो। लुम्बिनीका प्रज्वल थापाले २८, दुर्गेश गुप्ताले २० र आकाश त्रिपाठीले १५ रन जोडे। प्रज्वलले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दा दुर्गेशले ३७ बलमा ४ चौका तथा आकाशले २७ बलमा १ चौका प्रहार गरे।
कर्णालीका प्रकाश जैसीले ९ ओभरमा ४३ रन खर्चंदै ५ विकेट लिए भने युनिस सिंहले २.५ ओभरमा ८ रन खर्चंदै ३ विकेट लिए। अनुज चनाराले ७ ओभरमा ३२ रन खर्चंदै २ विकेट लिए। यसअघि टस जितेर ब्याटिङका लागि आएको कर्णालीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रनको योगफल खडा गरेको थियो। ओपनर मनीष थापालाई ७ रन जोड्दा गुमाएको कर्णालीले ३९ रन बनाउँदा अर्का ओपनर विपिन रावललाई पनि गुमायो।
तर तेस्रो विकेटका लागि कप्तान निश्चल रावल र सुवासले १ सय २९ रनको महत्वपूर्ण साझेदारी गर्र्दै कर्णालीको इनिङ उकासेका थिए।
सुवासले ९० बलमा ९ चौका र ३ छक्काको मद्दतमा ७६ रन जोड्दा निश्चिलले ९९ बलमा ५ चौकाको मद्दतमा ४४ र विपिनले २६ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३२ रन बनाए।
लुम्बिनीका दुर्गेशले ९ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए। त्यस्तै विशालविक्रम केसीले २ तथा मोहम्मद हुसैन र वासिर अहमदले समान १ विकेट लिए। लुम्बिनीले पहिलो खेलमा मंगलबार गण्डकी प्रदेशमाथि नौ विकेटको जित हात पारेको थियो। बुधबार नै मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बाग्मती प्रदेशले गण्डकी प्रदेशमाथि ७५ रनको जित हात पारेको छ।
प्रतियोगितामा बाग्मतीको यो पहिलो जित हो भने गण्डकीको लगातार दोस्रो हार हो। बाग्मतीले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रन मात्र जोड्यो।
गण्डकीका अर्जुन कुमालले सर्वाधिक ५४ रन जोडे। बाग्मतीका प्रतीश जिसी र तीर्थराज भण्डारीले समान ३ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको बाग्मतीले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय १३ रनको योगफल खडा गरेको थियो।
बाग्मतीका विवेक रानामगरले ८९ रन बनाए। सात प्रदेश सहभागी रहेको प्रतियोगिताको लिग चरणपछि शीर्ष २ टोली फाइनल प्रवेश गर्नेछन्। फाइनल खेल मंसिर १९ गते हुनेछ।
प्रकाशित: ९ मंसिर २०७८ ०२:५६ बिहीबार