coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भुटानविरुद्ध सानदार जित

नेपालले आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा मंगलबार भुटानमाथि आठ विकेटको सानदार जित निकालेको छ।

दुबईस्थित आइसिसी एकेडेमीमा भएको खेलमा ६२ रनको लक्ष्य नेपालले ८.३ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्दै छनोटमा पहिलो सफलता निकालेको हो। यसअघि पहिलो खेलमा हङकङसँग ६ विकेटले स्तब्ध हुँदा नेपालको विश्वकप खेल्ने सपनामा ठूलो धक्का लागेको थियो।

कुल ६ राष्ट्रले एकअर्कासँग १/१ खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृष्ट एक टोली मात्र आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुने समीकरण छ। तर, पहिलो खेलमै हारले नेपालको लक्ष्यमा धक्का लाग्यो। हङकङले मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) सँग ११ रनको पराजय बेहोरेपछि नेपाललाई केही सहज भएको छ।

अब नेपालले एसिया छनोटका आफ्ना बाँकी तीनै खेलमा जित निकाल्दा ग्लोबल छनोटमा स्थान बनाउनेछ। नेपालले शीर्ष टोली युएईसँग भने आफ्नो अन्तिम खेल खेल्नेछ। युएई दुई खेलबाट चार अंकसहित शीर्षमा छ।

समान दुई खेलबाट २/२ अंक जोडेका नेपाल दोस्रो र हङकङ तेस्रो स्थानमा छन्। नेट रनरेटका आधारमा नेपाल दोस्रोमा उक्लिएको हो। भुटानसँग १० ओभरअगावैको जितले नेपालले नेट रनरेटमा सुधार गर्ने अवसरसमेत पायो। भुटानविरुद्ध नेपालको जितमा सीता रानामगरले अलराउन्ड प्रदर्शन गरिन्। सीताले तीन विकेटका साथै १७ रनको योगदान गरिन्।

ओपनर सीताले पहिलो विकेटका लागि इन्दु बर्मासँग ३७ रनको साझेदारी गरिन्। उनी टासी छेकीद्वारा १७ रनमा आउट भइन्। १३ बलको उनको इनिङमा दुई चौका थियो। इन्दुको अविजित १८ रनको इनिङमा कुनै बाउन्ड्री भने रहेन।

कप्तान रुविना क्षेत्री १० रनमा रनआउट भइन्। त्यसपछि ब्याटिङ गर्न आएकी कविता जोशीले लगातार दुई बलमा चौका प्रहार गर्दै जित दर्ता गराइन्। नेपालले अतिरिक्त ११ रन पाएको थियो। भुटानको बलिङमा टासीबाहेक सबै विकेटविहीन रहे। झीनो लक्ष्यका बावजुद भुटानले नेपालका ब्याटरलाई खुलेर ब्याटिङ गर्ने अवसर भने दिएन।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले अनुभवी नेपाली बलरसामु टिकेर खेल्यो। निर्धारित २० ओभर नै खेलेको भुटानले ६ विकेट मात्र गुमाए पनि ६५ रनको झीनो योगफल बनायो। भुटानका ओपनरद्वय सोनम पाल्डोन र नवाङ छोडेनले मात्र दोहोरो अंकमा रन बटुले। सोनमले ११ रन र छोडेनले १३ रन बनाए।

यो जोडीले पहिलो विकेटका लागि सर्वाधिक ३० रनको साझेदारी गर्दै मध्यम सुरुआत दिलायो। सीताले ६.६ ओभरमा सोनामलाई सरस्वती कुमारीद्वारा क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाइन्। बाँकी १३ ओभरमा भुटानले पाँच विकेट मात्र गुमाए पनि ३२ रन मात्र जोड्यो।

नेपाली बलरसामु उनीहरूले टिकेर खेल्ने रणनीति अपनाए। नेपालका लागि सीताले सर्वाधिक तीन विकेट लिइन्। ४ ओभर बलिङ गरेकी सीताले १० रन मात्र खर्चिइन्। करुणा भण्डारीले एक विकेट लिँदा बाँकी दुई विकेट भुटानले रनआउटका रूपमा गुमायो।

करुणाले चार ओभरमा एक मेडनसहित ६ रन मात्र दिइन्। तीव्र गतिकी बलर सबनम राई चार ओभरमा १० रन मात्र खर्चिंदै किफायती बने पनि विकेटविहीन रहिन्। नेपालका बलरले किफायती बलिङ गरे पनि विकेट लिन भने सकेनन्। नेपालले तेस्रो खेलमा बिहीबार कुवेतविरुद्ध खेल्नेछ। कुवेत पहिलो खेलमा भुटानसँगै पराजित भएको थियो।

प्रकाशित: ८ मंसिर २०७८ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App