७ वैशाख २०८१ शुक्रबार
खेल

हङकङसँगको हारले विश्वकप सपनामा धक्का

नेपालले आइसिसी महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया छनोटको पहिलो खेलमा सोमबार हङकङसँग हार बेहोरेपछि विश्वकप खेल्ने सपनामा ठूलो धक्का लागेको छ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत पहिलो खुड्किलोको रूपमा रहेको एसिया छनोटमा सोमबार हङकङसँग ६ विकेटले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपनामा ठूलो धक्का लागेको हो।

कुल ६ राष्ट्रले एकअर्कासँग १/१ खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृष्ट एक टोली आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुने समीकरण रहेको छ। तर, दुबईमा भएको पहिलो खेलमै हङकङसँग लज्जास्पद हार बेहोरेपछि नेपालको लक्ष्यमा धक्का लागेको हो।

अब बाँकी चारै खेल जिते पनि नेपालले छनोटका लागि हङकङको खेल नतिजामा पनि निर्भर रहनुपर्ने भएको छ। नेपालले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गर्न सकेन।

जसको फाइदा लिँदै ट्वान्टी–२० को विश्व वरीयतामा २५औं स्थानमा रहेको हङकङले नेपालमाथि रबाफिलो जित निकाल्यो। १ सय ५ रनको झीनो लक्ष्य हङकङले मात्र चार विकेटको क्षतिमा १८औं ओभरमा पूरा गर्‍यो।

हङकङको जितमा ओपनर मारिको हिलले सर्वाधिक ४३ रनको अविजित इनिङ खेलिन्। उनले ३८ बलमा चार चौका हिर्काइन्। दुई क्याचसमेत लिएकी हिल प्लेयर अफ दी म्याच घोषित भइन्।

कप्तान केरी चान १७ रन र नतासा मिल्स १६ रन बनाएर आउट भएका थिए। केरीलाई सीता रानामगरले र नतासालाई सवनम राईले क्लिन बोल्ड गरे। तेस्रो ओभरको दोस्रो बलमा नै नेपालले सफलता प्राप्त गरेको थियो।

कविता कुँवरले हङकङकी ओपनर यस्मिन दस्वानीलाई २ रनमै पवेलियन फर्काउँदै नेपाललाई सुखद सुरुआत दिलाइन्। तर, अर्का ओपनर हिलले अर्को छेउबाट इनिङ समाल्दै आफ्नो टोलीलाई जित दिलाइन्। इम्मा लाईले १४ रनको अविजित इनिङ खेल्दै हिललाई राम्रो साथ दिइन्।

नेपालको बलिङमा कविता, सीता रानामगर र सवनम राईले १/१ विकेट लिए। कप्तान रुविना क्षेत्रीले चार ओभरमा बिनाविकेट ३० रन खर्चंदै महँगो साबित भइन्। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुआत गर्‍यो। 

नेपालले निर्धारित २० ओभरमा चार विकेट मात्र गुमाए पनि १ सय ४ रनको मध्यम योगफल तयार पार्‍यो। नेपालले इनिङको दोस्रो बलमा नै ओपनर कविता कुँवरलाई गुमाउनुपर्‍यो। त्यसपछि ब्याटिङ गर्न आएकी काजल श्रेष्ठले निकै सुस्त खेलिन्। काजल २३ बलमा ४ रन मात्र जोडेर आउट भइन्। 

हङकङकी कप्तान केरी चानद्वारा ७.५ ओभरमा काजल आउट हुँदा नेपालको खातामा २१ रन मात्र थियो। त्यसपछि ओपनर सीता रानामगर र इन्दु बर्माले सुरुआतीमा पनि सुस्त गतिमा रन बटुले। तर, अन्तिम पाँच ओभरमा यो जोडीले ३६ रन बटुल्दै इनिङलाई ठूलो स्कोरमार्फत लाने प्रयास गर्‍यो। ओपनर सीता र इन्दुले तेस्रो विकेटका लागि ८१ रनको अर्धशतकीय साझेदारी गरेका थिए। १९औं ओभरको पाँचौं बलमा नेपालले तेस्रो विकेट रनआउटका रूपमा गुमाएको थियो। इन्दु बर्मा ३१ रनमा रनआउट भइन्। ३७ बल खेलेकी इन्दुको इनिङमा तीन चौका थियो।

सीताले ५८ बलमा चार चौकासहित नटआउट ४० रन बनाइन्। सुस्त गतिमा रन बटुलेको नेपाली टोलीले मध्यम लक्ष्य प्रस्तुत गमार्फतयो, जुन हङकङले १२ बलअगावै भेट्टायो।

हङकङको बलिङमा बेट्टी चानले चार ओभरमा एक मेडनसहित एक विकेट लिँदा १२ रन मात्र खर्चिन्। चार ओभर नै बलिङ गरेकी कप्तान केरी चानले पनि एक विकेट लिँदै १६ रन मात्र दिइन्। नेपालले मंगलबार नै दोस्रो खेल भुटानसँग खेल्नेछ।

प्रकाशित: ७ मंसिर २०७८ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App