coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ठूला क्लबलाई रणनीति चाहिँदैन!

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतबार सम्पन्न दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबमाथि १–० को साँघुरो जित हात पार्‍यो।

५७औं मिनेटमा मिडफिल्डर दयानन्द सिंहको कर्नर प्रहारमा रक्षक दिनेश राजवंशीको हेडरले जाली चुमेसँगै मनाङले अग्रता लिएको थियो।

त्यसपछि पनि दुवै टोलीले केही गोलका अवसर पाए। अवसरको सदुपयोग गर्न नसक्दा मनाङले अग्रता बढाउन सकेन भने जावलाखेल खेलमा फर्कन सकेन। अन्ततः मनाङले १–० को जितका साथ स्पष्ट ३ अंक पक्का गर्‍यो।

मनाङले कीर्तिमानी आठ पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ। खेलपछिको पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक राजेन्द्र तामाङ बडो आत्मविश्वासका साथ प्रस्तुत भए। तामाङको भनाइ मान्ने हो भने मनाङले खेलअघि नै तीन अंक पक्का गरिसकेको जस्तो आभास हुन्थ्यो।

‘मलाई एउटा प्रशिक्षकको हिसाबमा कुनै दबाब थिएन। हामी लिगकै सर्वाधिक सफल क्लब हौं। हामी ठूलो क्लब हाैँ,’ तामाङले भने,‘त्यसैले एउटा प्रशिक्षकका रूपमा हामीलाई अन्य सानो क्लबजस्तो खेल रणनीति नै बनाउन पर्दैन।

हाम्रो टोलीमा स्तरीय र अनुभवी खेलाडी छन्। त्यसैले म आज खासै रणनीति बनाएर आएको थिइनँ।जित त पक्कै हात पार्छौं भन्ने थियो। जावलाखेल पनि नराम्रो टिम थिएन। हामीले अट्याकिङ थर्डमा जुन पोसेसन राख्नुपर्ने हो त्यो राख्न सकिएन।’ तामाङले दोस्रो हाफमा जावलाखेलले लिएको काउन्टर रणनीतिले भने खेल्न केही कठिन भएको बताए।

‘हामीले तीन–चारवटा मात्र अवसर सिर्जना गर्‍यौं,’ तामाङले भने, ‘हामीसँग अनुभवी खेलाडी थिए। त्यसैले जावलाखेलविरुद्ध यस्तो खेल खेल्छाैँ भनेर आएका थिएनौं। टोलीमा अनुभवी खेलाडी छन्। सजिलो छ,खेलाडीहरूसँग धेरै अनुभव छ।’ त्यस्तै जावलाखेलका प्रशिक्षक किशोरकुमार केसीले पहिलो हाफमा सम्हालिएको प्रदर्शन गरे पनि दोस्रो हाफमा गोलकिपरले गरेको एउटा गल्तीले मनाङलाई तीन अंक सुम्पिनुपरेको बताए। ‘राम्रो प्रदर्शन गर्दागर्दै पनि आज गोलकिपरको एउटा गल्तीले खेल गुमायौं,’केसीले भने,‘एक गोलले पछि परेपछि मैले चार स्ट्राइकर मैदान उतार्दै आक्रामक रणनीति अपनाए पनि खेलाडीले पाएका केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु पर्‍यो। ’केसीले लिगको पहिलो खेलमा बेहोरेको हारले टोली दबाबमा नपर्ने र आगामी खेलमा टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी रहेको बताए।

ब्रिजेडको सुखद सुरुआत

यसअघि आइतबार सम्पन्न पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले एपिएफमाथि ३–२ को रोमाञ्चक जितका साथ सिजनको सुखद सुरुआत गरेको छ।

खेलमा दुई पटक अग्रता लिएको बिबिसी एपिएफसँग अंक बाँड्ने संघारमा पुगेको थियो। तर इन्जुरी समयमा सुरज गुरुङले गरेको गोलमा बिबिसीले ३ अंक पक्का गर्‍यो। ११औं मिनेटमा मिडफिल्डर दिनेश राईले गरेको गोलमा बिबिसीले अग्रता लिएको थियो। तर त्यसको ६ मिनेटपछि नै आशिष लामाको गोलमा एपिएफ खेलमा फर्कियो।

६५औं मिनेटमा दिनेशको व्यक्तिगत दोस्रो गोलमा बिबिसीले पुनः अग्रता लियो। ७७औं मिनेटमा वैकल्पिक खेलाडी बिक्की तामाङले गरेको गोलमा एपिएफ पुनः खेलमा फर्कियो। इन्जुरी समयको पहिलो मिनेटमा सुरज गुरुङले गरेको गोलमा बिबिसीले रोमाञ्चक जित पक्का गर्‍यो।

प्रकाशित: ६ मंसिर २०७८ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App