१६ चैत्र २०८० शुक्रबार
खेल

सोल्सजायर बर्खास्त

म्यानचेस्टर युनाइटेडले आइतबार ओल्ड ट्राफोर्डमा ओले गनर सोल्सजायरसँग तीन वर्षको सम्झौता अन्त्य गरे पनि नयाँ प्रशिक्षकको नियुक्ति प्रक्रिया सिजनको समाप्तिसम्म नै कुर्नुपर्ने संकेत गरेको छ।

शनिबार वाटफोर्डसँग उसैको मैदानमा ४–१ को लज्जास्पद हार बेहोरेपछि युनाइटेडको बोर्डले नर्वेली प्रशिक्षक सोल्सजायरसँगको सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो।

केही हप्ताअगाडि मात्र घरेलु मैदानमा लिभरपुल र म्यानचेस्टर सिटीसँग अपमानजनक हार बेहोरेपछि युनाइटेड उनीप्रति रुष्ट बनेको थियो। सोल्सजायरकै प्रशिक्षण टोलीका सदस्य एवम् युनाइटेडका पूर्वमिडफिल्डर मिकाइल क्यारिकले उनको जिम्मेवारी लिनेछन्। क्लब सिजनको अन्त्यसम्मका लागि एक अन्तरिम प्रशिक्षक नियुक्त गर्ने योजनामा पनि छ।

‘ओले गनर सोल्सजायरलाई जिम्मेवारीबाट हटाइएको क्लब घोषणा गर्न चाहन्छ। उनी सदैव म्यानचेस्टरका लिजेन्ड हुन्,त्यसैले यो निर्णय गर्दा क्लब निकै दुःखी पनि भएको छ,’क्लबले विज्ञप्तिमार्फत भनेको छ।पछिल्ला केही हप्ता खराब नतिजा सामना गर्नुपरेको र उनको तीनवर्षे कार्यकालका लागि टोली पुनर्निर्माण पनि अस्पष्ट लक्ष्य देखिएको क्लबको भनाइ छ।

सोल्सजायरले वास्तवमै युनाइटेडलाई यस सिजनको प्रिमियर लिगको उपाधि होडबाट लगभग बाहिर नै पठाइसकेका छन्। किनकि ओल्ड ट्राफोर्ड क्लब शीर्ष स्थानको चेल्सीभन्दा १२ अंकले पछि पर्दै अंकतालिकाको सातौं स्थानमा खुम्चिएको छ।

युनाइटेडसँग अब लिग कपको लक्ष्य पनि हुनेछ। यता, नयाँ जिम्मेवारी पाएका क्यारिकले आफ्नो पहिलो खेल च्याम्पियन्स लिगमा आगामी मंगलबार भिल्लारियलसँग खेल्नेछन्। त्यो खेल युनाइटेड र क्यारिक दुवैका लागि महत्वपूर्ण बन्नेछ।स्पेनको टोलीसँगको हारले भने युनाइटेडलाई समूह ‘ए’ बाट छनोटका लागि कठिन अवस्थामा पुर्‍याउन सक्छ।

समूहचरणमा खराब प्रदर्शन गरेमा लगातार दोस्रो सिजन युनाइटेड नकआउट चरणअगावै बाहिरिनेछ। पछिल्ला सात खेलमा सोल्सजायरको टोली युनाइटेडले पाँच खेलमा हार बेहोर्नुपर्‍यो। ट्रान्सफर विन्डोको अन्तिम दिन क्रिस्टियानो रोनाल्डो गत अगस्टमा ओल्ड ट्राफोर्ड फर्किएपछि क्लबले उपाधि लक्ष्य राखेको थियो। उनीसँगै क्लबले जाडोन सान्चो र रफाइल भरानका लागि सय मिलियन पाउन्ड खर्चिएको थियो। तर,गत सिजन दोस्रो भएको युनाइटेडले नयाँ खेलाडी अनुबन्धनका बावजुद लगातार खराब नतिजा बेहोर्‍यो।

महँगा खेलाडी अनुबन्धित गरे पनि सोल्सजायरले ती खेलाडीबाट मजबुत टोली बनाउन सकेनन्। रोनाल्डोले पछिल्ला १४ खेलमा ९ गोल गरे पनि सोल्सजायरले त्यसको सदुपयोग गर्न सकेन। ‘हामी के गर्ने भन्ने नै बुझिरहेका छैनौं र कसरी रक्षात्मक बन्नेबारे पनि अनभिज्ञ जस्तै भएका छौं।

किनकि हामीले धेरै गोल बेहोरिसक्यौं,’वाटफोर्डका दुई पेनाल्टी रोकेका डेविड डी हेयाले भने, ‘हामीसँग जुन स्तरका खेलाडी छन्,त्योबाट पक्कै पनि क्लबले यस किसिमको नतिजा आशा गरेको छैन।यो हाम्रा लागि अर्को दुखद दिन हो।’

प्रकाशित: ६ मंसिर २०७८ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App