८ वैशाख २०८१ शनिबार
खेल

कतार विश्वकप–२०२२: इटाली सीधै छनोट हुन असफल

अर्को वर्ष कतारमा आयोजना हुने विश्वकपमा सीधै छनोट हुने मौका गुमाएको युरोपियन च्याम्पियन इटालीले सोमबार उत्तरी आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएसँगै प्लेअफ खेल्नुपर्ने भएको छ भने स्विट्जरल्यान्डले बुल्गेरियामाथि ४–० को फराकिलो जित निकालेर समूह विजेता बन्दै विश्वकपको यात्रा तय गरेको छ।

सोमबार भएको छनोट चरणको खेलमा जित निकाले पनि इटालीले सीधै छनोट हुनका लागि स्विट्जरल्यान्डको खेल कुर्नुपर्ने अवस्था थियो। स्विट्जरल्यान्डले स्पष्ट जित निकाल्दै इटालीले बराबरी खेल्दा प्लेअफ खेल्नुपर्ने भएको हो। युरोपियन छनोट अन्तर्गत समूह ‘सी’ बाट स्विट्जरल्यान्डले ८ खेलमा १८ अंक जोडेर सीधै विश्वकपमा स्थान बनाएको हो। दुई अंकले पछि पर्दै दोस्रो स्थानमा अटाउँदा इटालीले प्लेअफ खेल्नुपरेको हो।

युरोपबाट कितार विश्वकपमा स्विट्जरल्यान्डसँगै जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन र सर्बियाले स्थान बनाइसकेका छन्। यसअघि २०१८ को विश्वकप गुमाएको इटालीलाई कतार विश्वकप पनि कठिन हुने अवस्थामा पुगेको छ।

‘हामीले खेल अवधिभर गोल गर्नका लागि निकै संघर्ष गर्‍यौं। खेलमा हामीले पकड जमाए पनि गोल गर्न भने चुक्यौं। यो हाम्रा लागि लज्जाको विषय भएको छ,’ इटालीका प्रशिक्षक रोबर्टो मान्सिनीले भने, ‘नतिजाबाट केही निराश भएको छु। मार्चमा हुने प्लेअफ कुर्नुपर्ने भएको छ। उक्त खेलमा सम्भवतः जित निकाल्नेछौं।’

स्विट्जरल्यान्डले कतारको टिकट काट्दा बुल्गेरियामाथि ४–० को सहज जित निकाल्न सफल भयो। घरेलु मैदानमा भएको खेलमा स्विट्जरल्यान्डले अग्रता निकाल्न दोस्रो हाफ कुर्नुपर्‍यो। ४८औं मिनेटमा नोह ओकाफोरले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए।

५७औं मिनेटमा रुबेन भर्गासले टिमको अग्रता २–० को बनाउँदा ७२औं मिनेटमा सेड्रिक इट्टेनले टोलीका लागि तेस्रो र इन्जुरी समयमा रिमो फ्रुलेरले गोल गर्दै स्विट्जरल्यान्डलाई ४–० को जित दिलाए। बुल्गेरिया ८ अंक जोडेर चौथो स्थानमा रह्यो।

प्रकाशित: १ मंसिर २०७८ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App