८ वैशाख २०८१ शनिबार
खेल

तेक्वान्दोकर्मी सम्मानित

नेपाली पारा तेक्वान्दोकी खेलाडी पलेशा गोर्वधन, उनका प्रशिक्षक कविराज नेगी लामा र चितवनका प्रशिक्षक दीपेन्द्रबहादुर नेपाली शनिबार सम्मानित भएका छन्।

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको प्रथम अधिवेशनको अवसरमा पलेशा, कविराज र दीपेन्द्रबहादुरलाई सम्मान गरिएको हो। उनीहरूलाई नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ र बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले सम्मान गरेका हुन्। टोकियो पारालम्पिकमा दुई फाइट जित्दै ऐतिहासिक सफलता हात पारेकी पलेशा र उनका प्रशिक्षकलाई बागमती प्रदेशले सम्मान गरेको हो। पलेशाभन्दा पहिले नेपाली खेलाडीले ओलम्पिकमा दुई फाइट जित्न सकेका थिएनन्।

उनी अन्तिम समयमा ऐतिहासिक कांस्य पदक जित्नबाट पनि चुकेकी थिइन्। सोही अवसरमा चितवनको न्यु लाइफ तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक दीपेन्द्रबहादुर नेपालीलाई पनि बागमति प्रदेशले सम्मान गरेको थियो। खेलाडी उत्पादन र डोजाङ व्यवस्थापनका साथै खेल व्यावसायिकतामा प्रदेश भरिकै उत्कृष्ट योगदान पु¥याएको भन्दै बागमति प्रदेश तेक्वान्दो संघले उनलाई सम्मान गरेको हो।

केही महिना अगाडि मात्र नेपाल तेक्वान्दो संघको साधारण सभाको अवसरमा पनि उनी एनटिए बेस्ट इन्स्ट्रक्टर अवार्डबाट सम्मानित भएका थिए। यता, १८ वर्षीया पलेशाले वाइल्ड कार्डमार्फत पारालम्पिकमा सहभागिता सुनिश्चित गरेकी थिइन्। उनी टोकियो पारालम्पिकमा सहभागी एक्ली नेपाली खेलाडी पनि हुन्।

सन् २०१६ मा दक्षिण कोरियाको मुजुमा सम्पन्न पारा तेक्वान्दो कोर्स उत्तीर्ण गरेपछि लामा राष्ट्रिय पारा तेक्वान्दोको प्रशिक्षणमा संलग्न रहँदै आएका छन्। कविराज अन्तर्राष्ट्रिय पारा तेक्वान्दो कोचको लेबल–२ कोर्स पूरा गर्ने एक्ला प्रशिक्षक हुन्। वर्ल्ड तेक्वान्दो फेडरेसनले गत मंसिरमा आयोजना गरेको लेबल–२ कोर्स उनले उत्तीर्ण गरेका थिए। उनकै प्रशिक्षणमा पलेशाले टोकियो पारालिम्पिकमा ऐतिहासिक सफलता हात पारेकी थिइन्। टोकियो पारालिम्पिक बाहेक पनि उनको प्रशिक्षणमा विभिन्न मुलुकमा पुगेर पारा खेलाडीले प्रतिस्पर्धा गर्दै आइरहेका छन्।

प्रकाशित: २८ कार्तिक २०७८ ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App