८ वैशाख २०८१ शनिबार
खेल

बाबर र सहकर्मीलाई गर्व

पाकिस्तानका कप्तान बाबर आजमले विश्वकपमा पहिलो पटक भारतमाथि ऐतिहासिक जित निकाल्दा आफू र आफ्ना सहकर्मीले गर्व महसुस गरेको बताएका छन्।

दुबईमा आइतबार भएको ट्वान्टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा कट्टर प्रतिद्वन्द्वी भारतलाई १० विकेटले परास्त गरेपछि पाकिस्तानले चौतर्फी तारिफ बटुलेको छ। विश्वकपको १३औं भेटमा पाकिस्तानले पहिलो पटक जित निकालेको थियो।

यसमध्ये सात एकदिवसीय विश्वकप र ६ ट्वान्टी–२० विश्वकपका खेल समावेश छन्। ‘म र समग्र टोलीका लागि नै यो गर्वको क्षण हो,’ बाबरले जितपछिको विशेष अन्तर्वार्ताका क्रममा भने। पाकिस्तानका साहिन साह अफ्रिदीले सुरुआतमै दुई विकेट निकाल्दै भारतलाई दबाबमा पारेका थिए। उनको पहिलो सात बलमा नै भारतले ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई गुमायो।

तीव्र गतिका बलर अफ्रिदीले ३/३१ को प्रदर्शन गर्दा भारतका शीर्ष तीन ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाए। जहाँ राम्रो ब्याटिङ गरिरहेका भारतका कप्तान विराट कोहली ५७ रनमा उनकै सिकार भए। विराटकै अर्धशतकीय प्रेरणामा भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५१ रनको मध्यम योगफल बनायो।

त्यो लक्ष्य बाबर र अर्का ओपनर मोहम्मद रिजवानले अविजित इनिङ खेल्दै १७.५ ओभरमा पूरा गरे। बाबर ६८ र रिजवान ७९ रनमा अविजित रहे। ‘त्यो जित कति महत्वपूर्ण थियो भन्ने हामीले महसुस गरेका थियौं। सबैले हामीबाट त्यो जितको आशा राखेका पनि थिए। यो ऐतिहासिक जित हामी सबैको करियरमा सुखद क्षणका रूपमा सदैव रहनेछ,’ बाबरले भने।

बाबरले भारतसँगको खेलअगाडि रेकर्ड ब्रेक गर्नकै लागि हो भन्ने आफ्नो प्रतिक्रिया पनि स्मरण गरे। ‘मैले खेलअगाडि नै रेकर्ड ब्रेक गर्नकै लागि हो भनेको थिएँ, जुन हामीले तोड्नु थियो। हामीले सफलता पनि पायौं। त्यसैले म र सबै खेलाडी निकै हर्षित भएका छौं। देशभरि नै यसको विजयोत्सव मनाइएको छ,’ बाबरले भने।

बाबरले यस किसिमको विशेष प्रतियोगिता सदैव रोमाञ्चक हुने गरेको समेत उल्लेख गरेका छन्। ‘पाकिस्तान भारतविरुद्ध खेल्दा त्यो सबैका लागि बहुप्रतीक्षित नै हुने हामी सबैलाई थाहा छ। त्यसैले पनि यो निकै दबाबपूर्ण खेल पनि हो,’ बाबरले भने, ‘विश्व नै यो खेलको नतिजाको पर्खाइमा थियो। त्यसैले पनि यो विशेष खेल हो।’ 

बाबरले स्टेडियममा रहेका समर्थकको आवाजले पनि फिल्डिङ व्यवस्थापनमा निकै चुनौती थपिएको समेत स्वीकार गरेका छन्। ‘स्टेडियम भरिभराउ जस्तै थियो,’ कोरोना महामारीका कारण ७० प्रतिशत दर्शकलाई अनुमति दिइएको खेलबारे बाबरले भने, ‘त्यहाँ धेरै आवाज आइरहेको थियो।

त्यसले गर्दा पनि फिल्डिङ व्यवस्थापनमा निकै चुनौती रह्यो।’ उनले सबै खेलाडीबाट राम्रो इफोर्ट भएको पनि प्रतिक्रिया दिए। पाकिस्तानले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक १० विकेटको फराकिलो अन्तरले जित दर्ता गरेको हो। बाबरले विश्वकपमा भारतसँगको दुई हार (सन् २०१२ को यु–१९ विश्वकप र सन् २०१९ को एकदिवसीय विश्वकप) पनि आफ्नै नेतृत्वमा बेहोरेको उल्लेख गरे।

गत महिना न्युजिल्यान्डले असुरक्षाको कारण देखाउँदै अन्तिम समयमा पाकिस्तान भ्रमण रद्द गरेको थियो। पाकिस्तानले विश्वकपको दोस्रो खेल मंगलबार सारजहाँमा न्युजिल्यान्डविरुद्ध नै खेल्दै छ, त्यसका लागि आफूहरूले राम्रो तयारी गरेको बाबरको भनाइ छ। 

न्युजिल्यान्डकै निर्णय पछ्याउँदै इङ्ल्यान्ड पनि महिला र पुरुष दुवै टोली पाकिस्तान पठाउने निर्णयबाट अन्तिम समयमा पछि हटेको थियो। ‘हामीले पाकिस्तानमा नै राम्रो तयारी गरेका छौं,’ बाबरले भने, ‘हामी आफ्नो स्वाभाविक खेल देखाउनेछौं।’ 

प्रकाशित: ९ कार्तिक २०७८ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App