७ वैशाख २०८१ शुक्रबार
खेल

दुई खोलाको दोभानमा फिफाको ‘ड्रिम प्रोजेक्ट’

प्रदेश सरकार प्रतिबद्धता दोहोर्‍याउँदै

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ फिफाको प्रोजेक्ट बारे मुख्यमन्त्रीलाई जानकारी गराउँदै। तस्बिर: नागरिक

दुई खोलाको दोभानमा निर्माणाधिन फुटबलको सर्वोच्च निकाय फिफाको ड्रिम प्रोजेक्ट एन्फा टेक्निकल सेन्टरलाई गण्डकी प्रदेश सरकारले तटबन्ध लगाइदिने प्रतिबद्धता फेरी दोहोर्‍याएको छ। अघिल्लो सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तटबन्ध लगाउन प्रतिबद्धता जाहेर गरेर फर्किएका थिए। बर्तमान प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि तटबन्ध लगाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरेर फर्किएका छन्।

मुख्यमन्त्री पोखरेलसहित अनुगमनमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, प्रमुख सचिव डा. दामोदर रेग्मी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रामप्रसाद आचार्य, प्रदेश खेलकुद पषिदका पदाधिकारी, राजनीतिक दलका स्थानीय प्रतिनिधि स्थलगत अध्ययन गर्न कास्कीको माछापुच्छ्रे गाउँपालिका भेडाबारी पुगेका थिए।

सरकार प्रमुखले पटकपटक आश्वासन दिदैं फर्किएका छन्। आवश्वासन आशामा परिणत हुनै सकेको छैन्। प्रतिबद्धता गरेअनुसार आर्थिक सहयोग नहुँदा एन्फा टेक्निकल सेन्टर निर्माणको अपेक्षाकृत प्रगति भने हुन सकेको छैन्। फुटबलको सर्वोच्च निकाय फिफाको ड्रिम प्रोजेक्टले नेपाली फुटबलमा नयाँ आयाम थप्ने मात्रै नभई खेल पर्यटनलाई बलियो बनाउने विश्वास धेरैले लिएका छन्।

प्रस्तावित प्रोजेक्ट भएको ठाउँ इदी र मर्दी खोलाको दोभानमा छ। हिउँदमा सानो हुने तर बर्खामा उर्लेर आउने मर्दी खोलाले कटान गर्ने भएकाले तटबन्धनको काम भने पहिले नै गर्नुपर्ने हुन्छ। यसमा फिफाले लगानी गर्दैन। फिफाको लगानी गर्ने भएपछि फिफाले लगानी सुरक्षित खोज्नेछ। त्यसको लागि पनि तटबन्ध अनिवार्य रहेको छ। 

‘सेन्टरको प्रारम्भिक पूर्वाधारका लागि गण्डकी प्रदेश सरकारले पनि लगानी गर्ने प्रतिबद्ध छ,’ स्थलगत अवलोकनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले भने, ‘प्रदेश समृद्धिको मुल आधार पर्यटन भएको र पर्यटन भित्र खेलकुद जोडिएको छ, जोडन सकिन्छ।’ पोखराबाट नजिकै र हिमालको काखमा प्रस्ताव गरिएको टेक्निकल सेन्टर निर्माण भएमा पोखरा, गण्डकी मात्र होइन नेपालकै लागि गौरव गर्न लायक हुने विश्वास उनले व्यक्त गरे। उनले भने, ‘यो सेन्टरले पोखरा र माछापुच्छ्रेलाई विश्वसामु चिनाउने छ।’ मर्दी र इदी खोलाको बीचमा रहेको खुला ठाउँमा सेन्टर प्रस्ताव गरिएको प्रदेशको क्षमता अनुसार तटबन्धका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए।

एन्फका प्रमुख कार्यकारी अधिकृत गोकुल थापाले ३ सय ४२ रोपनी जग्गा २० वर्षका लागि भोगचलन गर्नेगरी सम्झौता भइसकेको बताए। डिपिआर तयार भइसकेर वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर मन्त्रालयमा बुझाइसकेको भन्दै अब छिटै शिलान्यास गरिने जानकारी उनले गराए। उनका अनुसार अभ्यासका लागि ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेस्ट रुम, पौडी पोखरी, पुस्तकालय रहने गरी संरचना बनाउने प्रस्ताव पारित भएको छ।

‘ड्रिम प्रोजेक्ट’ को रुपमा निर्माण गर्ने भनिएको ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ। ८० जना बालबालिकालाई अभ्यासका लागि पनि राख्ने योजना छ। अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरेर सेन्टरलाई चारचरणमा सक्ने तयारी छ। फिफाले एन्फाका लागि पठाएको २० लाख डलरबाट उक्त सेन्टर बनाउने योजना एन्फाको छ। पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ प्रयोग गरिने प्रमुख कार्यकारी अधिकृत थापाले बताए।

तटबन्धका लागि गाउँपालिका र निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५०/५० लाख रुपैयाँ गरी १ करोड रुपैयाँमा काम भइसकेको पालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी गराए। उनका अनुसार तटबन्धका लागि साढे ४ करोड रुपैयाँ आवश्यक पर्छ। एन्फा कास्की अध्यक्ष मिलन गुरुङले यो परियोजनालाई कमजोर बनाउन चारैतिरबाट आक्रमण भइरहे पनि आफूहरु निरन्तर लागिरहेकाले यो अवस्थामा आइपुगेको भनाइ राखे।

प्रकाशित: ६ कार्तिक २०७८ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App