६ वैशाख २०८१ बिहीबार
खेल

बक्सिङ टोलीको बिदाइ

नेपालका चार बक्सरले सर्बियामा हुने २१औं आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।  

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेताद्वय भूपेन्द्र थापा र सनिल साहीसहितका चार बक्सरले सर्बियाको बेलग्रेडमा हुने विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका हुन्। 

आगामी अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म उक्त च्याम्पियनसिप हुँदै छ। जसमा ४८ केजी तौलसमूहमा रविन थापा, ५७ केजी तौलसमूहमा पुरन राई, ६३.५ केजी तौल समूहमा भूपेन्द्र र ६७ केजी तौलसमूहमा सनिलले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन्। 

शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एकेन्द्र कुँवर र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नेपाली टोलीलाई बिदाइ गरेका थिए।  

टोलीमा मुख्य प्रशिक्षक प्रकाश थापामगर, प्रशिक्षक किशोर लिम्बु तथा अफिसियलमा संघ सदस्य मानबहादुर भण्डारी र प्रनिर अधिकारी छन्। सो अवसरमा मन्त्री गहतराजले विश्वमा कसैसामु नझुकेको नेपाल र वीर गोर्खालीका सन्तति हामीले खेलकुदको मैदानमा पनि त्यो साहस र हिम्मत बोकेर चुनौती प्रस्तुत गर्न सके जित अवश्य हुने बताए। खेलाडीले खेलक्षेत्रबाट आफ्नो जीवनस्तर सुधार गर्न सक्ने आधार देखे मात्र खेलक्षेत्रको विकास सम्भव रहेको मन्त्री गहतराजको भनाइ थियो।

छनोट प्रतियोगितामा उत्कृष्ट भएका बक्सरमध्येबाट छनोट समितिको प्रतिवेदनअनुसार चार बक्सरलाई विश्व आइबा बक्सिङ च्याम्पियनसिपका लागि छनोट गरिएको बक्सिङ संघले जनाएको छ। नेपाली टोली शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसकेको छ। 

अन्तर्राष्ट्रिय बक्सिङ संघको ७५औं वर्ष मनाउने क्रममा आइबाको निमन्त्रणामा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले पनि उक्त च्याम्पियनसिपमा सहभागिता जनाउँदै छन्। विश्वका एक सय पाँच राष्ट्रका ६ सय ५० बक्सरले १३ वटा तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्।

प्रत्येक तौलसमूहमा स्वर्ण पदकले एक लाख डलर, रजत विजेताले ५० हजार डलर र कांस्य पदक जित्ने दुई बक्सरले समान २५ हजार डलर पाउनेछन्। 

नेपाली टोलीका खेलाडी एवं प्रशिक्षकहरूलाई नेपाल लोकतान्त्रिक खेलकुद संघबाट एक जोर ट्य्राक सुट, नेपाल बक्सिङ संघ उपाध्यक्ष भोजराज सिटौलाबाट पनि एक जोर ट्य्राकसुट, आठौं साग स्वर्ण पदकविजेता रामचन्द्र थापामगरबाट टिसर्ट, होसन्ना चिन्नी भट्टा उद्योगबाट खेलाडीहरूको रिङ ड्रेस २/२ सेट प्रायोजन गरिएको थियो।

प्रकाशित: ६ कार्तिक २०७८ ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App