८ वैशाख २०८१ शनिबार
खेल

युभेन्ट्स, चेल्सी र म्यानचेस्टर युनाइटेडलाई सफलता

डिजान कुलुसेभस्कीको निर्णायक गोलको मद्दतमा इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको खेलमा बुधबार जेनिट सेन्ट पिटर्सबर्गविरुद्ध रोमाञ्चक जित निकाल्दा च्याम्पियन्स लिगकै अर्को खेलमा प्रिमियर लिग क्लब चेल्सीले स्विडिस क्लब माल्मोमाथि ४–० को फराकिलो विजय हात पारेको छ।

तीन खेलबाट स्पष्ट जित निकालेको युभेन्ट्सले समूहतालिकामा ९ अंक जोडेर अन्तिम १६ मा प्रवेश गर्ने मार्गलाई बलियो बनाएको छ। सुखद नतिजाका लागि काउन्टर खेल्दै गर्दा युभेन्ट्सले खेल सकिन चार मिनेट बाँकी रहँदा गोल गर्दै समूहको तेस्रो खेलमा पनि सुखद नतिजालाई निरन्तरता दिएको हो। माटी डे सिगिलोको क्रस बलमा कुलुसेभस्कीले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाएका हुन्।

मासिमिलियानो एलेग्रीको टोलीले आगामी महिना जेटी सेन्टको आतिथ्यतामा भ्रमण गर्दा जित निकाल्दै लगभग अन्तिम १६ मा स्थान बनाउनेछ। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका लागि निकै प्रयास गरेका थिए। तर अग्रपंक्तिबाट कुनै गोल निस्कन नसक्दा खेल निकै रोमाञ्चक बनेको थियो।

च्याम्पियन्स लिगकै अर्को खेलमा चेल्सीले माल्मोमाथि ४–० को फराकिलो जित निकाले पनि रोमेलु लुकाकुले भोगेको चोट निकै महँगो बन्यो। मुख्य खेलाडी लुकाकु र टिमो वेर्नेरले चोट बोक्दै मैदानबाट बाहिरिएपछि प्रिमियर लिगमा शीर्षता कायम गरिरहेको चेल्सीलाई दुई मुख्य फरवार्डको चोट महँगो भएको हो। 

फराकिलो जित निकाल्ने क्रममा चेल्सीका लागि जोर्गिन्होले पेनाल्टीबाट दुई गोल गर्दा एन्ड्रियास क्रिस्टेन्सेन र काई हाभाटर््जले एक/एक गोल गरे। तर चोट बोक्दै मैदानबाट बाहिरिएपछि प्रशिक्षक थोमस टुचेलले लुकाकु र टिमोको चोट टोलीका लागि ठूलो नोक्सानी भएको बताए।

‘लुकाकुको कुर्कुच्चामा समस्या देखिएको छ। यस्तै टिमोको मासु च्यातिएको छ भने ह्यामस्ट्रिङको समस्या देखिएको छ। मेरो विचारमा उनीहरू केही समय टोलीबाहिर रहनेछन्,’ प्रशिक्षक टुचेलले भने, ‘हाम्रा अगाडि अझै धेरै खेल छन्।

सुखद नतिजा निकाल्नुको विकल्प हामीसँग छैन। कुनै बहानाबाट हामीलाई छुट छैन। समस्याको समाधान गरेर अगाडि बढ्नुको विकल्प छैन।’

निकै रोमाञ्चक भएको खेलमा चेल्सीले क्रिस्टेन्सेनको गोलबाट नवौं मिनेटमा सूरुआती अग्रता निकालेको थियो। जोर्गिन्होले २१औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गर्दा काई हभार्ट्जले ४८औं मिनेटमा चेल्सीका लागि तेस्रो गोल गरे। 

हडसन ओडोईले उपलब्ध गराएको पासमा हभार्ट्जले उत्कृष्ट गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाएका थिए। जोर्गिन्होले ५७औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दा चेल्सीले ४–० को स्पष्ट जित निकाल्न सफल भयो।

जितसँगै चेल्सी ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो। युभेन्ट्स ९ अंकसहित शीर्ष स्थानमा छ। माल्मो अंकविहीन हुँदै तालिकाको पुछारमा छ।

च्याम्पियन्स लिगअन्तर्गत बुधबारकै अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा म्यानचेस्टर युनाइटेडले एट्लान्टाविरुद्ध पुनरागमनमा रोमाञ्चक जित निकालेको छ। समूह ‘एफ’ को खेलअन्तर्गत पहिलो हाफमा २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै एटलान्टामाथि युनाइटेडले ३–२ को रोमाञ्चक जित निकालेको हो। 

युनाइटेडको जितमा रोनाल्डोले विजयी गोल गर्दा मार्कुस रसफोर्ड र ह्यारी मागुइरीले गोल गर्दै पछि परेको अवस्थामा खेल बराबरीमा ल्याएका थिए। यसअघि भ्रमणकारी टोली एटलान्टाले १५औं मिनेटमा मारियो पासालिसको गोलमा अग्रता लिएको थियो। मेरिह डिमिरलले २८औं मिनेटमा इटालियन क्लबको अग्रता दोब्बर बनाएका थिए। 

पहिलो हाफमा लय गुमाएको युनाइटेड दोस्रो हाफमा खेलमा फर्कियो। ५३औं मिनेटमा मार्कुस रसफोर्डले युनाइटेडका लागि पहिलो गोल गर्दै अग्रता छोट्याउँदा इडिन्सन काभानीको पासमा ७५औं मिनेटमा ह्यारी मागुइरीले युनाइटेडका लागि बराबरी गोल फर्काएका थिए। 

त्यसपछि रोमाञ्चक बनेको खेल सकिन ९ मिनेटअघि रोनाल्डोले विजयी गोल गर्दै टोलीलाई स्पष्ट जित दिलाए। समूह ‘एफ’ को खेलमा युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ। उसले ३ खेलबाट ६ अंक जोडेको छ। एटलान्टा ४ अंकसहित दोस्रो स्थानमा छ।

अर्को खेलमा भिल्लारियालले योङ ब्वाइजविरुद्ध उसैको मैदानमा ४–१ को फराकिलो जित निकाल्दा सेभिया र लिल्ले गोलरहित बराबरी खेल्दै अंक बाँडे। यस्तै बायर्न म्युनिखले बेनफिकालाई पनि उसैको घरेलु मैदानमा ४–० ले स्तब्ध बनायो। 

प्रकाशित: ५ कार्तिक २०७८ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App