१६ चैत्र २०८० शुक्रबार
खेल

पोखरामा कात्तिक ५ र ६ गते ‘वुमन्स पावरलिफ्टिङ च्याम्पियनसीप’ हुने

पोखरामा कात्तिक ५ र ६ गते हुने ‘वुमन्स पावरलिफ्टिङ च्याम्पियनसीप’बारे जानकारी गराउँदै आयोजक। तस्बिर: सन्देश/नागरिक

पोखरामा कात्तिकको पहिलो हप्ता ‘वुमन्स पावरलिफ्टिङ च्याम्पियनसीप’ हुने भएको छ। गोर्खा क्लासिक नेपालको आयोजनामा पोखरामा कात्तिक ५ र ६ गते सो च्याम्पियनसीप हुने भएको हो। दुई वर्षअघि वुमन्स ‘बिकिनी एण्ड फिजिक च्याम्पियनसीप’ गरेको गोर्खा क्लासिक नेपालले यस वर्ष ‘वुमन्स पावरलिफ्टिङ च्याम्पियनसीप’को नाममा प्रतियोगिता गर्न लागेको आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

प्रतियोगितामा ६० केजी माथि र ६० केजी तल गरेर २ विधामा प्रतिष्पर्धा हुने आयोजक गोर्खा क्लासिक नेपालका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए। उनका अनुसार सो तौल समूहमा पर्ने नेपाल भरका जुनसुकै महिलाले प्रतियोगितामा भाग लिन पाउने छन्।

प्रतियोगितामा भाग लिन हालसम्म २० जना महिलाले फारम भरिसकेको अध्यक्ष गुरुङले बताए। प्रतियोगितामा कुल ५० जनाले सहभागिता जनाउने अपेक्षा गरिएको उनले बताए। नेपालका प्रख्यात खेलाडीदेखि नवप्रवेश खेलाडीसम्मले प्रतियोगितामा भाग लिने उनले दाबी गरे।

पर्यटकीय नगरी पोखरालाई खेल पर्यटनमार्फत अन्तर्राष्ट्रिय रुपमा चिनाउन सघाउ पुर्‍याउने उद्देश्यले प्रतियोगिता गर्न लागेको अध्यक्ष गुरुङले बताए। ‘यो खेलकुदको राजधानीपनि हो, यसको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै खेलकुदको विकास गर्ने हाम्रो उद्देश्य हो’, उनले भने। उनले प्रतियोगिता हरेक २/२ वर्षमा गर्दै जाने पनि बताए।

प्रतियोगिताको प्रत्येक विधाका विजेताले २५/२५ हजार, उपविजेताले १५/१५ हजार र तृतीय हुनेले १०/१० हजार पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै दुबै विधाका विजेताहरुबीच हुने फाइनल प्रतिष्पर्धामा उत्कृष्ट हुने एक जनालाई टाईटल विजेताको उपाधिसहित नगद ८० हजार र गोर्खा क्लासिक बेल्ट प्रदान गरिने अध्यक्ष गुरुङले बताए। उनका अनुसार टाइटल विजेतालाई दिइने बेल्ट बेलायतबाट मगाइएको हो। सो बेल्टको मूल्य मात्रै करीब ५० हजार पर्ने उनको दाबी छ।

प्रकाशित: १ कार्तिक २०७८ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App