१६ चैत्र २०८० शुक्रबार
खेल

आइपिएलको उपाधि चेन्नईलाई

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ। शुक्रबार फाइनलमा चेन्नईले कोलकता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक च्याम्पियन बनेको हो।  

जितको लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । कोलकता ओपनर सुभमन गिलले ४३ बलमा ६ चौका सहित सर्वाधिक ५१ रन बनाए । अर्का ओपनर वेंकटेश ऐरले ३२ बलमा ५ चौका र ३ छक्का सहित ५० रनमा आउट भए ।

चेन्नईका शार्दूल ठाकुरले सर्वाधिक ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हेजलवुडले २-२ विकेट लिए । डवेन ब्राभो र दीपक चाहरले १-१ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । चेन्नईका ओपनर फाफ डु प्लेसिसले ५९ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको योगदान दिए । मोईन अली २० बलमा २ चौका र ३ छक्का सहित ३७ रनमा अविजित रहे ।

यसअघि चेन्नईले २०१० मा मुम्बई इन्डियन्सलाई पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको थियो। यसपछि २०११ र २०१८ मा चेन्नईले उपाधि जितेको थियो।चेन्नई २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उपविजेता बनेको थियो।

च्याम्पियन चेन्नईले २० करोड र उपविजेता कोलकताले १२ करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पाउने छन्।

प्रकाशित: ३० आश्विन २०७८ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App