८ वैशाख २०८१ शनिबार
खेल

मालिकादेवी कप सुनौलो बिहानीलाई

गोलकिपर स्वर्णिय श्रेष्ठको प्रेरणादायी प्रदर्शनमा प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिताको उपाधि सुनौलो बिहानी अभियान चौताराले जितेको छ।

चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा वडा नं. ६ पीपलडाँडालाई पराजित गर्दै सुनौलो बिहानीले उपाधि हात पारेको हो। सडेन डेथमा सुनौलो बिहानीले पीललडाँडालाई ७–६ गोलले स्तब्ध बनायो। उपाधिसँगै बिजेता सुनौलोलो बिहानीले नगद ६० हजार रुपैयाँ पुरस्कार पायो। उपबिजेता पीपलडाँडाले ४० हजार रुपैयाँ हात पार्‍यो।

मेलचौरको दरवारडाँडा मैदानमा भएको फाइलन खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो। रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरको सदुपयोग गर्न सकेनन्। ट्राइबेकरमा समेत बराबरी गोल भएपछि खेल सडेन डेथमा धकेलिएको थियो। जहाँ सुनौलो बिहानी भाग्यमानी ठहरियो। पटक–पटक पेनाल्टी रोकेर विपक्षी टोलीलाई निराश बनाएका सुनौलो बिहानीका गोल रक्षक स्वर्णिम खेलको म्यान अफ दी म्याच घोषित भए। 

उनले नगद र ट्रफी पुरस्कार पाए। लिल फङ घले समाज प्रतियोगितामा तेस्रो भयो। सोमबारै फाइनलअघि भएको खेलमा लिल फङले काभ्रे जुनियर ब्याइजलाई १–० गोलले पराजित गर्‍यो। प्रतिष्ठासँग जोडिएको यस खेलमा उमेश तामाङले गरेको एक मात्रै गोल लिल फङको जितको लागि पर्याप्त बन्यो। उसले नगद २० हजार रुपैयाँ पुरस्कार पायो।

उपबिजेता टोली पीपलडाँडाका सञ्जय विष्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए। लिल फङका सुशान्त दंगालले उत्कृष्ट गोलकिपर, सुनौलोका भीमबहादुर गुरुङले उत्कृष्ट डिफेन्डर, पीपलडाँडाका बिशालजंग सायमाझीले उत्कृष्ट मिडफिल्डर र सुनौलो बिहानीका उत्तम घलेले उत्कृष्ट प्रशिक्षकको उपाधि हात पारे। विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २ हजार पाँच सय रुपैयाँ नगद पुरस्कार र ट्रफी पाए।

बिजेता खेलाडी तथा टोलीलाई चौतारा–साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ र वडा नं. ७ का अध्यक्ष उमाप्रसाद दुलाल लगायतले संयूक्त रुपमा ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार बितरण गरे। मेलचौर युवा जागरण समाजको आयोजनामा सातासम्म चलेको प्रतियोगितामा २० टोलीले प्रतिस्पर्धा गरेका थिए। पुरस्कार वितरण कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न आर्थिक लगायत अन्य सहयोग गर्ने विभिन्न व्यक्ति, संस्था तथा दातालाई सम्मान गरिएको थियो।  

प्रकाशित: २५ आश्विन २०७८ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App