७ वैशाख २०८१ शुक्रबार
खेल

जिल्ला खेलकुद विकास समितिका पदाधिकारी हटाइनेः मन्त्री गुरुङ

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गत जेठमा नियुक्त गरिएको जिल्ला खेलकुद विकास समितिका पदाधिकारी एवं सदस्यहरुलाई हटाइने बताएका छन्। उनले गण्डकी प्रदेशका ११ जिल्ला मध्ये १० जिल्लाको कार्यसमितिलाई हटाउने कार्यविधि नै तयार भएको उल्लेख गरे।

‘हटाउने कार्यविधि तयार भईसकेको छ,’ उनले भने, ‘लमजुङ बाहेक प्रदेशका अन्य जिल्लाको खेलकुद समिति हट्छ।’ राजनीतिक नियुक्त भएका खेलकुद विकास समितिलाई दशैंअघि हटाउन सम्भव नभएको जनाउँदै मन्त्री गुरुङले तिहारअघि नै हटाउने स्पष्ट पारे। पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ११ वटै जिल्लामा खेलकुद समितिमा पदाधिकारी एवं सदस्य नियुक्त गरेका थिए।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकारले तयारीको लागि बजेट विनियोजन गरेको भन्दै युवा तथा खेलकुद मन्त्री गुरुङले आवश्यक तयारी सुरु गर्ने खेलकुद संघलाई आग्रह गरेका छन्। कास्की जिल्ला बक्सिङ संघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा मन्त्री गुरुङले बजेट छुट्टाएको जनाउँदै आवश्यक तयारी गर्न आग्रह गरे।

‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि ५० लाख रुपैयाँ छुट्टाइएको छ,’ मन्त्री गुरुङले भने, ‘बक्सिङले पनि तयारी गर्नुपर्छ। तीन लाख रुपैयाँ तयारीको लागि छुट्टाइएको छ।’ उनका अनुसार तीन लाख रुपैयाँले बक्सिङलाई आवश्यक पर्ने खेल सामाग्री खरीद गरेर उपलब्ध गराइने छ। ‘तयारी गर्नुस, आवश्यक सामान के के हुन त्यो लेखेर दिनोस,’ मन्त्री गुरुङले भने ‘आवश्यक सामान किनेर दिन्छौ।’ संघले आवश्यक सामग्रीसँगै प्रशिक्षक उपलब्ध गराउन माग गरेका थिए। प्रशिक्षकको विषयमा पनि प्रदेश सरकारले व्यवस्था गर्ने प्रतिबद्धता मन्त्री गुरुङले गरे। राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल समावेश छन्।

मन्त्री गुरुङले प्रदेशका सबै जिल्लामा फुटबल बाहेक अन्य खेलको अवस्था दयनीय भएको उल्लेख गर्दै अन्य खेलको बिकास गर्नुपर्नेमा जोड दिए। पोखरा रंगशालाभित्र केही खेलको पूर्वाधार विकास गर्न प्रदेश सरकारले चाहेर पनि लगानी गर्न नसकेको स्पष्ट पारे। ‘केन्द्रले पोखरा रंगशालाको सम्पूर्ण संरक्षण र लगानीको लागि हस्तान्तरण गर्यो भने प्रदेशले आवश्यक पूर्वाधारमा लगानी गर्छ।’ उनले भने, ‘प्रदेशको मातहतमा नआए लगानी गर्न सकिने अवस्था छैन।’

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रदेशमा केवल ७/८ वटा खेलको मात्रै प्रशिक्षक रहेको भन्दै पदक जित्ने खेललाई प्राथमिकतामा राखेर प्रशिक्षक व्यवस्था गर्ने बताए। उनले प्रशिक्षकको लागि ३ महिने, स्वयसेवक प्रशिक्षकको लागि १० दिने, विद्यालय शिक्षक, तथा रेफ्रीलाई ५ दिने कोर्ष गराउने योजना रहेको सुनाए।

संघका अध्यक्ष सुमन श्रेष्ठले प्रशिक्षकसँगै प्रशिक्षणको लागि ग्लोभ्स, हेडगार्ड, किक व्याग, पन्चिङ ब्याग लगायतका सामान आवश्यकता रहेको बताए। प्रशिक्षकको लागि आवश्यक खाका तयार रहेको भन्दै सदस्य सचिव गुरुङले त्यसको लागि सार्वजनिक सूचना निकालेर आह्वान गरिने जानकारी दिए। कुनै पनि खेलको स्थायी प्रशिक्षक नराख्ने जनाउँदै प्रशिक्षकको प्रदर्शनको आधारमा म्याद थप गर्दै लैजाने समेत स्पष्ट पारे।

संघका अध्यक्ष सुमन श्रेष्ठले प्रशिक्षकसँगै प्रशिक्षणको लागि ग्लोभ्स, हेडगार्ड, किक व्याग, पन्चिङ ब्याग लगायतका सामान आवश्यकता रहेको बताए। अध्यक्ष श्रेष्ठले बक्सिङ गण्डकी प्रदेशको एघारै जिल्लामा प्रशिक्षक नभएको गुनासो गरे। उनी लगायत बक्सिङका अन्य पदाधिकारीले बक्सिङ अन्तर्राष्ट्रिय पदकको सम्भावना भएको खेल भएपनि प्रशिक्षक नहुदाँ राष्ट्रिय प्रतियोगिता सोचेजस्तो सफलता हासिल गर्न नसकिएको गुनासो गरेका थिए।

प्रकाशित: २४ आश्विन २०७८ ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App