७ वैशाख २०८१ शुक्रबार
खेल

एभरेस्ट प्रिमियर लिगः चितवन टाइगर्सलाई चौथो संस्करण

ट्रफीका साथ च्याम्पियन चितवन टाइगर्स। तस्बिर सौजन्य : इपिएल

एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा चितवन टाइगर्स र पोखरा राइनोज तीन पटक आमनेसामने भए।

लिगचरण र पहिलो क्वालिफायरमा चितवनका बलरसामु निरिह बनेको पोखराले फाइनलमा त्यो प्रदर्शन बिर्सने अनुमान गरिएको थियो। तर, फाइनलमा पुनः एक पटक पोखरामाथि चितवनका बलर हाबी भए। अन्ततः पोखरामाथि चार विकेटको जितका साथ शनिबार चितवन पहिलोपटक इपिएल विजेताको ताज पहिरिन सफल भयो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न फाइनलमा भीम सार्कीको अर्धशतकप्रेरित चितवनले एक सय १२ रनको झीनो लक्ष्य १५.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

पोखरामाथि लगातार तेस्रो जितका साथ उपाधि भित्राउने लक्ष्य लिएको चितवनको सुरुआत भने गतिलो हुन सकेन। पहिलो ओभरको दोस्रो बलमा १ रन जोड्दा ओपनर हसिम अन्सारीलाई गुमाएको चितवनले ११ रन जोड्दा करिम जनतलाई दोस्रो विकेटका रूपमा गुमायो। खातामा थप ९ रन जोड्दा अर्का ओपनर मोहम्मद साहजादलाई गुमाएपछि चितवन २०/३ को कठिन अवस्थामा पुग्यो। तर, चौथो विकेटका लागि भीम र दिलिप नाथले ५४ रनको महत्वपूर्ण साझेदारी गर्दै चितवनको इनिङ अगाडि बढाए।  

भीमले ४५ बलमा सात चौका दुई छक्का मद्दतमा ६३ रनको योगदान गरे। दिलिपले १७ बलमा दुई चौकासहित १८ रन जोडे। राजेश पुलामीले १४ रन जोड्दा कप्तान सोमपाल कामीले पहिलो बलमै चौका प्रहार गर्दै जित सुनिश्चित गराए। पोखराका किशोर महतोले चार विकेट निकाल्दा नन्दन यादवको नाममा दुई विकेट रह्यो। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा १७.५ ओभरमा १ सय ११ रनमा अलआउट भएको थियो। पहिलो विकेटका लागि रिचार्ड लेभी र विपिन रावलले ३७ रनको साझेदारी गर्दै पोखरालाई गतिलो सुरुआत दिलाएका थिए।  

लेभीले १५ बलमा ५ चौका मद्दतमा २६ रन बनाए। आक्रामक ब्याटिङ गरिरहेको पोखरा पहिलो विकेट पतनपछि सुस्तायो। ६ रन जोड्ने क्रममा पोखराले तीन विकेट गुमाउन पुग्यो। ४३ रन जोड्दा सहान अराचिगेलाई गुमाएको पोखराले ५९ रनमा अर्का ओपनर विपिन रावल पनि पवेलियन फर्किए। चौथो विकेटका लागि कप्तान विनोद भण्डारी र एसेला गुनारत्नले ३५ रनको साझेदारीका साथ पोखराको इनिङ उकास्ने प्रयास गरे। 

१४औं ओभरको पहिलो बलमा गुनारत्ने पनि पवेलियन फर्किए। आफ्नै देशका सिकुगे प्रसन्नाद्वारा आउट भएका गुनारत्नेले सर्वाधिक ३४ रन बनाए। उनको इनिङमा तीन चौका र एक छक्का रह्यो। पोखराले थप १७ रन जोड्दा बाँकी पाँच विकेट नै गुमाएपछि सस्तैमा समेटियो। कप्तान विनोदले दुई चौकासहित २२ रन जोडे। चितवनका कमलसिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चदै चार विकेट लिए। प्रसन्ना र करिम जनतले समान दुई तथा सागर ढकालले एक विकेट निकाले।

विजेता चितवनले ५० लाख रूपैयाँ हात पार्दा उपविजेता पोखराले भने १५ लाख रूपैयाँ चित्त बुझायो। चितवनका स्पिनर सागर ढकाल प्लेयर अफ दी सिरिज चुनिए। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सागरले १४ विकेट लिए र बजाज पल्सर एनएस २ सय सिसी मोटर साइकल प्राप्त गरे। यस सिजनको अन्य अवार्डमा पनि चितवनका खेलाडीको नै वर्चस्व रह्यो। चितवनका ब्याट्सम्यान भीम सार्कीले इमर्जिङ प्लेयर र कमलसिंह ऐरीले डेर टु ड्रिम अवार्ड पाए। त्यसबापत दुवैले समान ५१ हजार रूपैयाँ प्राप्त गरे।

प्रकाशित: २४ आश्विन २०७८ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App