३ कार्तिक २०७८ बुधबार
खेल

तोरण्ल गोल्डकपको उपाधि दरबाङलाई

तोरण्ल गोल्डकप विजेता थकाली सेवा समिति दरबाङ म्याग्दी क्षेत्रका खेलाडीहरु । तस्बिर : नागरिक

थकाली सेवा समिति केन्द्रले आयोजना गरेको ११ औं तोरण्ल गोल्डकप(अन्तर क्षेत्रीय तारा प्रतियोगिता)को उपाधि म्याग्दीको दरवाङस्थित थकाली सेवा समितिले जितेको छ।  

१५ डोरको खेलमा दरबाङ क्षेत्रले १४१ अंकसहित च्याम्पियन बन्यो। नगद एकलाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो। थकाली सेवा समिति बेनी म्याग्दीको व्यवस्थापनमा म्याग्दीमा आयोजित प्रतियोगितामा पोखरालाई एक अंकले पछि पार्दै थकाली सेवा समिति काठमाडौं दोस्रो स्थानमा रह्यो। थकाली सेवा समिति पोखरा र काठमाडौंले समान १२० स्कोरमा टाई खेलेपछि दोस्रो र तेस्रो स्थान छुट्टाउन निर्णायार्थ एक डोर प्रहार गरिएको थियो। एक डोरमा काठमाडौंले ७ स्कोर गर्दा पोखराले भने ६ स्कोर गर्दै तेस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो।  

त्यसैगरी थकाली सेवा समिति बुर्तिबाङ बाग्लुङ चौथो र थकाली सेवा समिति थाक थासाङ क्षेत्र भने पाँचौमा रह्यो। दोस्रो हुने काठमाडौंले नगद ५० हजार रुपैयाँ राशी प्राप्त गर्यो। पोखराले २५ हजार रुपैयाँ, चौथो हुनेले १० र पाँचौ भएको थासाङलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको थियो। अनुशासित टोली घोषित थकाली सेवा समिति टिकापुर धनगढीलाई नगद ७ हजार प्रदान गरिएको थियो।  

प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार भने दरबाङका महेश तुलाचन घोषित भए। उनले २६ स्कोर गरेका थिए। त्यसैगरी उत्कृष्ट धुर्नधरको पुरस्कार भने थकाली सेवा समिति पर्वतका अनुज शेरचन घोषित भए। उनीहरु दुवैलाई नगद ७–७ हजार रुपैयाँ प्रदान गरिएको थियो। प्रत्येक तीन वर्षमा थकाली सेवा समिति केन्द्रीय समितिले तोरण्ल गोल्डकप (अन्तर क्षेत्रीय तारा प्रतियोगिता) आयोजना गर्दै आएको छ।  

गत फागुनमै आयोजना हुनुपर्ने गोल्डकप ढिला गरी म्याग्दीमा आयोजना गरियो। कोरोना कहरमा भीडभाड नगर्न प्रशासनले कडाई गरेपछि ढिलाई भएको थियाे। विभिन्न जिल्लाका थकाली समुदायका १८ वटा क्षेत्रले प्रतिस्पर्धा गरेका थिए। थकाली समुदायमा १९ क्षेत्र छन्।

गोल्डकपमा अनिवार्य रुपमा थकालीका सबै क्षेत्रले सहभागिता जनाउनुपर्ने थकाली युवा परिवारको केन्द्रीय अध्यक्ष योगेन्द्र शेरचनले बताए। गण्डकी प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य समेत रहेका शेचनले थकालीको परम्परागत जातिय खेललाई जोगाई राख्नुपर्ने औंल्याउँदै प्रत्येक तीनतीन वर्षमा तोरण्ल गोल्डकप आयोजना गरिदैं आएको सुनाए। 

शिकार खेल्ने परम्परालाई खेलको रुपमा थकाली समुदायले प्रचलनमा ल्याएको इतिहास छ। गोल्डकप १०५ फिटको दूरी तारा प्रहार गरिन्छ। विजेतालाई पूर्व राज्यमन्त्री भीमप्रसाद गौचनले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए। प्रतियोगिताकै समयमा गत भदौ १३ गते म्याग्दीमा आएको पहिरोबाट घारबार विहीन भएका थकाली युवा परिवारको केन्द्रीय सदस्य मनोज गौचनलाई २ लाख ६ हजार ३३२ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो।  

प्रकाशित: २३ आश्विन २०७८ १५:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App