५ वैशाख २०८१ बुधबार
खेल

बेल्जियमलाई रोक्दै फ्रान्स फाइनलमा

फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमविरुद्ध ३–२ को पुनरागमन जित निकाल्दै फ्रान्स युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।  

टुरिनमा भएको खेलमा बिहीबार बेल्जियमविरुद्ध दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फ्रान्सले स्पेनसँगको भेट पक्का गरेको हो।पछि परेको फ्रान्सलाई अन्तिम दुईमा पुर्‍याउनका लागि थियो हर्नान्डेजले निर्धारित समयको अन्तिम मिनेटमा गोल गरेका थिए। 

यसअघि सुरुआती अग्रता भने बेल्जियमले लिएको थियो। ३७औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए। गोल गरेसँगै दबाबमा राखेको बेल्जियमले पाँच मिनेटपछि नै गोल थप्दै अग्रता दोब्बर पारेको थियो।रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए।  

तर दोस्रो हाफमा फ्रान्स सुधारिएको खेल प्रदर्शन गर्न सफल भयो। निकै संयमित हुँदै खेल देखाएको फ्रान्सका लागि ६२औं मिनेटमा करिम बोन्जिमाले गोल गर्दै बेल्जियमको अग्रता २–१ मा झारेका थिए। ६९औं मिनेटमा किलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरी अवस्थामा ल्याए। युरी टिलेमान्सले एन्टोनी ग्रिजम्यानाई पेनाल्टी क्षेत्रमा खराब फाउल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी प्रदान गरेका थिए। 

पेनाल्टी प्रहारमा आएका एम्बाप्पेले बल सदुपयोग गर्दै खेलमा फर्किने संकेत दिएका थिए। बराबरीपछि रोमाञ्चक बनेको खेलको ८७औं मिनेटमा रोमेलु लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे पनि रेफ्रीले अफसाइडको संकेत दिँदा बेल्जियम निराश भएको थियो। 

९०औं मिनेटमा थियो हर्नान्डेजले काउन्टर अट्याकमा अग्रता उल्टाए। हर्नान्डेजले बेन्जेमाको पासलाई सदुपयोग गर्दै फ्रान्सलाई उपाधिनजिक पुर्‍याउन सफल भए। बेल्जियम भने लिएको अग्रता जोगाउन नसक्दा फाइनल पुग्नबाट वञ्चित बन्यो।  

पुनरागमन जित निकालेको फ्रान्सले अब उपाधिका लागि इटालीको ३८औं खेलमा अपराजित यात्रा टुङ्ग्याएको स्पेनसँग भिड्नेछ। स्पेनले इटालीलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यस्तै सेमिफाइनलमा पराजित भएका टोलीद्वय इटाली र बेल्जियम तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो स्थानका लागि आइतबार प्रतिस्पर्धा हुनेछ भने फाइनल भिडन्त सोमबार हुनेछ। 

प्रकाशित: २३ आश्विन २०७८ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App