सहन अराछिगे र विपिन रावलको ८८ रनको साझेदारीमा पोखरा राइनोजले भैरहवा ग्लाडियटर्समाथि बिहीबार ७ विकेटको जित निकाल्दै राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा स्थान बनाएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा भैरहवाविरुद्ध रोमाञ्चक जित निकाल्दै पोखरा पहिलो पटक इपिएलको चौथौ संस्करणमा उपाधिनजिक पुगेको हो।
पोखराले अब पहिलो क्वालिफायर्समा प्रतिस्पर्धा गरेको टोली चितवन टाइगर्ससँग खेल्नेछ। दुबै टोली इपिएलको फाइनलमा पहिलो पटक पुगेका हुन् भने भैरहवा पहिलो पटक फाइनल नै प्रवेश नगरी प्रतियोगिताबाट बाहिरिएको छ।
भैरहवाविरुद्ध रोमाञ्चक जित निकाल्ने क्रममा पोखराका सहन अराछिगेले ४४ बलमा ७ चौकाको मद्दतमा सर्वाधिक ५३ रन जोडे। उनलाई साथ दिएका विपिन रावलले पनि ३४ बलमा ३ चौका र १ छक्कासहित ४० रनमा अविजित रहँदै टोलीको जितको खाका कोरेका थिए।
चौथो विकेटका लागि विपिन र सहनले ८८ रनको अविजित साझेदारी गरेपछि टोलीको जित निश्चित भएको थियो। यसअघि प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका विदेशी खेलाडी रिचर्ड लेभीलाई ओपनर रित गौतमले राम्रो साथ दिन सकेनन्।
रन बटुल्ने क्रममा रितसँग राम्रो तालमेल नमिल्दा लेभी १४ रनमा भैरहवाका भुवन कार्कीबाट रनआउट हुँदै पवेलियन फर्किएका थिए। बल खर्चिए पनि रन बनाउन असफल रहेका रित १९ बल खेल्दा ६ रन जोड्ने क्रममा भुवन कार्कीको बलमा एलबिडब्लुको धरापमा परेका थिए। त्यसपछि अराछिगेले सम्हालिएको इनिङ खेल्दै ५३ रन जोड्दा विपिन रावलले उनलाई साथ दिए।
पोखराको तीन विकेट निकाल्ने क्रममा भुवन कार्कीले मात्र २ विकेट हात पारेका थिए भने एक विकेट रनआउटमा भएको थियो। १० बलअगावै लक्ष्य भेटाएको पोखराले पहिलो क्वालिफायरमा पराजित भएको चितवन टाइगर्सविरुद्ध उपाधिका लागि खेल्नेछ। लिगको खेलमा पनि पराजय भोगेको पोखरालाई फाइनलमा चितवनविरुद्ध सुखद नतिजा निकाल्दै उपाधि उचाल्ने सुनौलो मौका पनि बनेको छ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन जोडेको थियो।
भैरहवाका लागि कप्तान शरद भेषावकरले अविजित रहँदै सर्वाधिक ३२ रनको पारी खेल्दा आरिफ शेख २७, रोहितकुमार पौडेल १८, प्रदीप ऐरी ११, उपुल थरंगा १०, धम्मिका प्रसाद ४, सर्भिन मुनिएन्डी ३ र कुशल मल्लले १ रन बनाए।
पोखराका किशोर महतो र सहन अराछिगेले समान २/२ विकेट निकाल्दा नन्दन यादव र असेला गुनारत्नेले एक/एक विकेट आफ्नो नाममा लेखाए। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउनेछ।
प्रकाशित: २२ आश्विन २०७८ ०१:२४ शुक्रबार