coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इटालीको अपराजित यात्रामा पूर्णविराम

युरोपियन च्याम्पियन इटालीको ३७औं खेलसम्मको अपराजित यात्रालाई उसैको मैदानमा पूर्णविराम लगाउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

सान सिरोमा बुधबार राति भएको खेलमा स्पेनले घरेलु टोली इटालीलाई उसैका समर्थकले साथ दिएको खेलमा २–१ ले स्तब्ध बनाउँदै उपाधिनजिक पुगेको हो। १० खेलाडीमा समेटिएको इटालीलाई हराउने क्रममा स्पेनका लागि दुवै गोल फेरान टोरेसले गरे। 

इटालीका लागि लोरेन्जो पेलिग्रेनीले सान्त्वना गोल फर्काएका थिए। निकै रोमाञ्चक बनेको खेलमा भ्रमणकारी टोली स्पेनले १७औं मिनेटमा अग्रता लिएको थियो। पछि परेको इटाली खेलमा फर्किने प्रयास गरिरहेको अवस्थामा ४२औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो। 

लियोनाद्रो बोनुची दोहोरो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए। त्यसपछि दबाब खेपेको इटालीविरुद्ध स्पेनले इन्जुरी समयमा दोस्रो गोल फर्कायो। इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा टोरेसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए।  

दोस्रो हाफमा कम खेलाडी भए पनि खेलमा फर्किन प्रयास गरेको इटालीले केही राम्रो अवसर सिर्जना गरेको थियो। यद्यपि सदुपयोग गर्न नसक्दा खेलमा फर्किन निकै संघर्ष गर्नुपरेको थियो। सोही क्रममा ८३औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै भ्रमणकारी टोलीको अग्रता छोट्याउने प्रयास गरे। 

बाँकी समयमा थप प्रयास गरे पनि इटाली सफल हुन सकेन। यो हारसँगै इटालीको अपराजित यात्रामा पूर्णविराम लागेको छ। इटाली ३७ खेलसम्म अपराजित रहन सफल भएको थियो। सन् २०१८ सेप्टेम्बर १० मा नेसन्स लिगमै पोर्चुगलसँग १–० ले पराजित भएयता इटाली ३८औं खेलमा पराजित हुन पुगेको हो। जसमा २८ जित र ९ बराबरीको नतिजा थियो। यो अवधिमा इटालीले ९३ गोल गर्दा १२ गोल खाएको थियो ।

‘पहिलो हाफमा पछि परे पनि १–१ को बराबरीमा आउन सक्ने अवस्था थियो। तर दुर्भाग्यवश हामी १० खेलाडीमा सीमित हुन पुग्यौं,’ इटालीका प्रशिक्षक रोबर्टो मानसिनीले भने, ‘कीर्तिमानी ३७औं यात्रामा टोलीले राम्रो खेलेको थियो। घरेलु मैदानमा पराजित हुँदा केही निराश भएका छौं। क्लबको खेलभन्दा पनि देशको खेल थियो। घरेलु दर्शकसँग पराजित हुँदा केही खिन्न भएको छु ।’

उता कीर्तिमानी लयलाई भंग गरेको स्पेनले गत जुन जुलाईमा भएको युरो कपको सेमिफाइनलमा पेनाल्टी सुटआउटबाट भोगेको नमीठो हारको बदला पनि लिन सफल भएको छ। 

निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि इटालीले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै युरोको फाइनलमा स्थान बनाएको थियो। फाइनलमा पनि इटाली पेनाल्टीमा भाग्यमानी बन्दै उपाधि उचालेको थियो। उपाधिनजिक पुगेको स्पेनले बेल्जियम र फ्रान्सबीचको विजेतासँग अक्टोवर १० मा प्रतिस्पर्धा गर्नेछ।  

प्रकाशित: २२ आश्विन २०७८ ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App