७ वैशाख २०८१ शुक्रबार
खेल

मुख्यमन्त्री कप फुटबलको उपाधि जाजरकोटलाई

जिल्ला खेलकुद विकास समिति डोल्पा र दुनै भ्याली क्लबको संयुक्त आयोजनामा भएको मुख्यमन्त्री कप छनौटको उपाधि खलंगा फुटबल क्लब जाजरकोटले हात पारेको छ। जिल्ला खेलकुद विकास समितिको खेलमैदानमा सम्पन्न फाईनल खेलमा तिप्ला यूथ क्लब तिप्लाई १–० गोलले हराएर केएफसी जाजरकोटले प्रथम स्थान हासिल गर्न सफल भएको हो। प्रथम स्थान हात पारेको जाजरकोटले शिल्ड, मेडल, प्रमाण पत्रसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। दुनै भ्याली क्लबको आठौँ वार्षिक उत्सवको अवसरमा जिल्ला खेलकुद विकास समिति डोल्पाले मुख्यमन्त्री कप छनौट फुटबल र भलिबल प्रतियोगिता असोज १० गतेदेखि संचालन गरेको थियो।  

यस्तै तिप्ला यूथ क्लब द्धितिय र मुड्केचुला फुटबल टिमले तृतीय स्थानमा चित्त बुझाउनु परेको छ। तिप्ला यूथ क्लबका गोलकिप्पर सुदीप शाही उत्कृष्ट गोल किपर घोषित भएका छन्। फुटबल तर्फकै दुनै भ्याली क्लबका अपार गुरुङ उत्कृष्ट खेलाडी भएका छन्। यसैगरी सेभेन स्टार यूथ क्लब बि थालाका मनप्रसाद रोकायाले अनुशासित खेलाडीमा पुरस्कार पाएका छन्। यसैबिच जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा फुल्चीङ यूथ एसोशेसन प्रथम, मुड्केचुला द्धितिय, त्रिपुरासुन्दरी नगरपालिका २ रुम टिमले तृतीय स्थान हात पारेका छन्। यस्तै भलिबलतर्फ अनुशासित खेलाडीमा गोकर्ण शाही, उत्कृष्ट लिफ्टरमा सागर बुढा, उत्कृष्ट खेलाडीमा देवप्रसाद बुढा, उत्कृष्ट स्पाइकरमा भिम बहादुर चलाउने पुरस्कृत भएका छन्।

जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा साइक्वारी यूवा क्लब माझफाल प्रथम, जगदुल्ला गाउँपालिका द्धितिय, सरस्वती मावि दुनैले तृतीय स्थान हात पारेका छन्। महिला भलिबल प्रतियोगितामा सुनसरी रोकाया उत्कृष्ट खेलाडी भएकी छन्। यस्तै उत्कृष्ट लिफ्टरमा जुनु रोकाया, अनुशासित खेलाडीमा रमिला रोकायाले पुरस्कार पाएकी छन्। फुटबल र भलिबल प्रतियोगितामा विभिन्न स्थान ल्याउने टिम खेलाडीहरुलाई नगद पुरस्कार प्रमाण पत्र, शिल्ड मेडल वितरण गरिएको थियो।

प्रकाशित: २१ आश्विन २०७८ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App