७ वैशाख २०८१ शुक्रबार
खेल

ललितपुरलाई हराउँदै चितवन क्वालिफायरमा

ललितपुरविरूद्ध ब्याटिङ गर्दै चितवन टाइगर्सका मोहम्मद साहजाद। तस्बिर सौजन्यः इपिएल

बलिङले राम्रो साथ पाएको खेलमा ललितपुर प्याट्रियट्समाथि पाँच विकेटको जित निकाल्दै चितवन टाइगर्स जारी एभरेस्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करणको क्वालिफायरमा पुगेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेटमा मैदानमा आइतबार ललितपुरमाथि जित निकालेको चितवन चार खेलमा शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो। 

१ सय ९ रनको झीनो लक्ष्य चितवन टाइगर्सले निर्धारित २० ओभर सकिन १६ बल बाँकी छँदा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो। दुवै इनिङमा बलरले खुलेर ब्याटिङ गर्न दिएनन्। तथापि, चितवनले भने समालिएर ब्याटिङ गर्दै लिगमा एक खेल बाँकी छँदै क्वालिफायरमा स्थान बनाउन सफल भयो।  

यता, डिफेन्डिङ च्याम्पियन ललितपुर लिगमा आफ्नो पाँचौं खेलमा पराजित भएसँगै पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सले प्लेअफमा स्थान बनाउने अवसर पाए। दोस्रो स्थानको पोखरा राइनोजले एक खेल तथा तेस्रो र पाँचौं स्थानका भैरहवा र काठमाडौं किङ्स–११ ले समान दुई खेल खेल्न बाँकी छ। लिगतालिकामा पोखराको पाँच र भैरहवाको चार अंक छ। दुई अंक बटुलेको काठमाडौंको पनि प्लेअफ सम्भावना बाँकी छ। काठमाडौंले बाँकी दुवै खेलमा पराजय बेहोरे तीन अंक बटुलेको ललितपुर प्लेअफमा पुग्नेछ।

चार खेलसम्म विजयी चितवनले लिगको अन्तिम खेलमा जित निकाल्दै उच्च आत्मविश्वासका साथ क्वालिफायरमा प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ। झीनो लक्ष्य पछ्याएको चितवनलाई जित दिलाउन मोहम्मद साहजादले सर्वाधिक ३५ रनको योगदान दिए। उनले २८ बलमा चार चौका र दुई छक्का हिर्काए। पाँचौं ओभरको तेस्रो बलमा नै दुई विकेट गुमाएको चितवनको खातामा २३ रन मात्र थियो। ओपनर खडक बोहोरा शून्यमा र करिम जन्नत १ रनमै पवेलियन फर्किए पनि अर्का ओपनर साहजादले इनिङ समाले।  

भीम सार्कीले २७ रन र मलेसियन ब्याट्सम्यान विरेनदीप सिंहले १३ रन बनाउँदा चितवन झीनो लक्ष्यनजिक पुग्यो। त्यसपछि दिलीप नाथ १६ रन र राजेश पुलामी ६ रनमा अविजित रहँदै चितवनलाई जित दिलाए। ललितपुरका बलरले कसिलो बलिङ गरे पनि चितवनलाई झीनो लक्ष्य भेट्टाउनबाट रोक्न सकेनन्। ललितपुरका अजमउल्लाह ओमरजाई र रिजन ढकालले २/२ विकेट लिँदा योगेन्द्रसिंह कार्कीको नाममा एक विकेट रह्यो। जारी सिजन अलराउन्ड प्रदर्शन गरेका ओमरजाईले बलिङमा सात विकेट र ब्याटिङमा १ सय ९ रन बटुलेका छन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निकै खराब सुरुआत गर्दा लगातार विकेट गुमाउनुपर्‍यो। ललितपुरका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। तर, जयकिसन कोल्सावालाले ४२ रनको इनिङ खेल्दै ललितपुरलाई सय रनको आँकडानजिक पुर्‍याए। ३३ बल खेलेका जयकिसनले दुई चौका र तीन छक्का हिर्काए। दोस्रो ओभरमा नै कप्तान कुशल भुर्तेललाई १ रनमा गुमाएको ललितपुरको विकेट लगातार पतन हुन पुग्यो। ७.५ ओभरमा ललितपुरको खातामा ४८ रन हुँदा ६ ब्याट्सम्यान पवेलियन फर्किसकेका थिए।

उसका आठ ब्याट्सम्यानले दोहोरो अंकमा नै रन बटुल्न सकेनन्। चितवनका कमलसिंह ऐरीले तीन विकट लिँदा करिम जन्नत र सागर ढकालले २/२ विकेट निकाले। साहब आलमको नाममा एक विकेट रह्यो। त्यसअघि पहिलो खेलमा विराटनगर वारियर्सले यस सिजनको पहिलो जित निकाल्दै प्रतियोगिताबाट बाहिरियो। काठमाडौं किङ्स–११ माथि सात रनको जित निकालेको विराटनगर शनिबार नै प्लेअफ सम्भावनाबाट बाहिरिएको थियो। तथापि, लिगको अन्तिम तथा पाँचौं खेलमा जित निकाल्दै करण केसीको विराटनगरले  सुखद अन्त्य गर्‍यो।  

ओसिलो मैदानका कारण ढिला खेल सुरु हुँदा आठ ओभरमा छोट्याएको थियो। जहाँ, १ सय ५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ८ ओभरमा तीन विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो। काठमाडौंका ओपनर रहमानउल्लाह गुर्बाजले सर्वाधिक २८ रन बनाए। 

उनले १५ बलमा एक छक्का र तीन चौका हिर्काए। सुवास खकुरेलले १० बलमा तीन छक्कासहित २६ रन जोडे। राजु रिजालले २४ रन र रायन बर्लले १५ रन जोडे पनि काठमाडौंलाई जित दिलाउन सकेनन्। विराटनगरका रायन पठानले २ र प्रतीश जिसीले एक विकेट लिए।  

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पाँच विकेटको क्षतिमा १ सय ४ रनको विशाल योगफल बनायो। विराटनगरका अनिल साहले १६ बलमा ४५ रनको आक्रामक इनिङ खेले। उनको इनिङमा पाँच छक्का र दुई चौका रह्यो। ओपनर रायन पठानले ११ बलमा तीन छक्का र दुई चौकासहित ३० रन जोड्दा कप्तान करणले १५ रनको योगदान दिँदै विशाल योगफल बनाउन मद्दत गरे। काठमाडौंका कप्तान सन्दीप लामिछाने, गुल्सन झा र रायन बर्लले १/१ विकेट लिए पनि महँगा साबित भए।  

 

प्रकाशित: १८ आश्विन २०७८ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App