coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

खेलाडीको जिज्ञाशाः क्रिकेट मैदानमा कहिले खेल्न पाइन्छ?

खेलाडीको एउटैमात्र गुनासो छः ‘क्रिकेट मैदानमा हामी कहिले खेल्न पाउँछौ ।’ यसको ठोस जवाफ कास्की जिल्ला त्रिकेट संघसँग छैन । मैदान र पीच पनि मर्मतको पर्खाइमा छन् । राष्ट्रिय खेलकुद परिषदले २५ लाख रुपैयाँ पठाईदियो । तारजाली लगाई मैदान संरक्षण गरियो । संरक्षण गरिएको मैदान अहिले काँसले छेकिएको छ । सर्प लुक्ने झाडि बनेको छ । खेलाडी बाहिरैबाट मैदान हेरेर फर्किदै चित्त बुझाउँछन् ।

कोरोनाले थलिएको खेलकुद विस्तारै चलमलाउन थालेको छ । खेलाडीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् । खोपसँगै खेलाडी खेल्न आतुर छन् । तर क्रिकेट मैदानको हविगत देखेर अँध्यारो अनुहार गरेर फर्किने गरेका छन् । क्रिकेटका गतिविधि शून्य छन् । संघसँग ठोस योजना छैन । योजना बनाउने संघभित्रैका पदाधिकारी चार दिशा फर्किएका छन् । सदस्यहरु पनि पदाधिकारीलाई क्रिकेट विकासको योजनाको सुझाव दिन ल्याकत राख्दैनन् ।  

कोरोनाले थलिएपछि क्रिकेट विकासको लागि संघले कुनै पनि कार्यक्रम ल्याउन सकेको छैन् । संघकै सुस्तताले कास्कीको क्रिकेट कमजोर बन्दै गएको गुनासो खेलाडीको छ । प्रतियोगितात्मक कार्यक्रम नहुँदा खेलाडीले एक्सपोज हुने अवसर समेत पाएका छैनन् । ‘मैदानको दुर्दशा छ । कहिले मर्मतसम्भार भएर खेल्न पाउने हो,’ पोखरा क्रिकेट क्लबका सचिव गोविन्द प्रधानले भने, ‘एउटै गुनासो हो खेलाडीले मैदानमा कहिले खेल्न पाउँछन् ।’ संघको कार्यक्रम छैन । प्रदेश क्रिकेट संघले पनि कार्यक्रम ल्याउन सकेको छैन । क्लवस्तरीय प्रतियोगिता नहुँदा नयाँ खेलाडी क्रिकेटमा आउनै नसकेको उनको भनाई थियो ।  

मैदान मर्मत सम्भार भएको छैन। प्रतियोगिताहरु हुनै नसक्दा खेलाडी एक्सोजबाट बन्चित छन् । खेलाडीले नेटमा मात्र अभ्यास गरेर कुनै अर्थ नहुने भन्दै उनले जबसम्म खेलाडीले आफुलाई एक्सपोज गर्ने अवसर पाउँदैनन् तबसम्म क्रिकेटको विकास नहुने दावी गरे । खेलाडीलाई एक्सपोजको लागि जिल्ला संघ र प्रदेश संघले कार्यक्रम ल्याउन जरुरी रहेको उनको ठम्याई छ ।  

नेपाल क्रिकेट संघ(क्यान)का क्युरेटर प्रदीप राउतका अनुसार मैदानको दक्षिण क्षेत्रमा पानी जम्ने समस्याले घाँस काटेपनि छिट्टै पलाउँदा मैदानमा कामै नगरेको जस्तो देखिएको छ । ‘मैदानभित्र पानीको निकास छैन । पानी सबै क्रिकेट मैदानको दक्षिण तर्फ जम्छ,’ उनले गुनासो गरे, ‘तीन पटक घाँस काटेपनि उस्ताको उस्तै छ ।’ घाँस काट्दा पनि मैदान सफा हुन नसक्दा पिरलो थपिएको छ । क्युरेटर राउतले पीच रोलर लगायतका अन्य मेशिन भने ठीकठाक रहेको बताए । असोज मध्य सकिँदा पनि पोखरामा नियमितजसो पानी परेको छ ।  

मैदान मर्मत सम्भार गर्न घाँस काट्नुपर्छ । घाँस काट्ने मेशिन समेत बिग्रिएको छ । ‘आउट फिल्डको घाँस काटे हुन्छ । पीच बनाउन नियमित काम गर्ने कामदार चाहिन्छ’ उनले भने, ‘दशैंको मुखमा कामदार पाउन कठिनाई छ । त्यसैले दशैं अघि पीच मर्मत सम्भार गर्न गाह्रो छ ।’ कास्की जिल्ला क्रिकेट संघले पनि आर्थिक अभावैले मैदान संरक्षण हुन नसकेको प्रति असहमति जनाएको छ । यद्यपी उनले कार्यसमितिकै निस्कृयताले काम गर्न कठिनाई भएको गुनासोलाई भने स्वीकार्छन् ।  

‘पैसाको समस्याले होईन् । भएको दुईवटा घाँस काट्ने मेशिन थन्किएको छन् । बिग्रिएको मेशिन मर्मत सम्भारको लागि वर्कसपमा राखिएको छ । पार्टस नआउँदा बन्न सकेको छैन्,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने, ‘पार्टस आएर बनेपछि मात्रै मैदानको घाँस काटिन्छ ।’ संघसँग अहिले क्रिकेट प्रशिक्षक समेत छैन् । प्रशिक्षक नहुँदा प्रशिक्षण समेत गराउन कठिनाई रहेको उनको भनाई थियो । ‘संघसँग प्रशिक्षक छैन । प्रशिक्षक नहुँदा प्रशिक्षण भएको छैन् । नेट छ, यसैमा खेलाडीहरुले प्राक्टिस गर्दै आएका छन्,’ उनको भनाई थियो ।  

प्रकाशित: १७ आश्विन २०७८ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App