७ वैशाख २०८१ शुक्रबार
खेल

निर्णायक सेटमा मणिमुकुन्द चुक्यो

प्रदेश–२ विरूद्ध स्पाइक गर्ने प्रयासमा हेल्प नेपालका सन्जुविक्रम शाह। तस्बिर: दीपेश श्रेष्ठ/नागरिक

दुई सेट गुमाए पनि पुनरागमन गरेको मणिमुकुन्द भलिबल क्लब निर्णायक सेटमा चुकेपछि गण्डकी प्रदेशसँग स्तब्ध हुँदा टोलीको छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा नकआउट चरणको सम्भावना समाप्त भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको समूह ‘बी’ को खेलमा भारतीय खेलाडी सम्मिलित गण्डकीसँग ३–२ को सेटमा स्तब्ध भएपछि मणिमुकुन्दको अन्तिम आठको सम्भावना सकिएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकी पहिलो दुई सेट आफ्नो बनाउँदै जितनजिक पुगेको थियो।

मणिमुकुन्दले निकै चुनौती दिए पनि गण्डकीले पहिलो सेट २६–२४ र दोस्रो सेट ३६–३४ ले आफ्नो बनायो। तर, त्यसपछि भने खेलले रोमाञ्चक मोड लियो। मणिमुकुन्दले गण्डकीका भारतीय खेलाडीको स्पाइक लगातार ब्लक गर्दा तेस्रो र चौथो सेटमा सफलता पायो।  

मणिमुकुन्दले तेस्रो २५–१८ र चौथो २७–२५ ले आफ्नो बनाउँदै सेटमा २–२ को बराबरी गर्‍यो। निर्णायक तथा पाँचौं सेटमा पनि मणिमुकुन्दले राम्रो सुरुआत गर्दा ६–३ ले अग्रता बनायो। तर, त्यसपछि मणिमुकुन्दका खेलाडीबीच तालमेल बिग्रँदा गण्डकी खेलमा फर्किन सफल भयो। 

गण्डकीले लगातार ६ अंक जोड्दा मणिमुकुन्द १०–६ ले पछि पर्‍यो। उक्त निर्णायक सेट गण्डकीले १५–१३ ले आफ्नो बनाउँदै अन्तिम आठमा स्थान बनायो। यस समूहबाट समान दुई खेलमा नेपाल पुलिस क्लबले ६, गण्डकीले पाँच र मणिमुकुन्दले एक अंक बटुल्दा दावाँली मिलन क्लब अंकविहीन छ।

समूहविजेताका लागि पुलिस र गण्डकीले बुधबार खेल्नेछन्। दावाँली र मणिमुकुन्दले पनि बुधबार नै सान्त्वना जितका लागि एकअर्काबीच चुनौती प्रस्तुत गर्नेछन्। मंगलबार नै समूह ‘ए’ को हेल्प नेपालले प्रदेश–२ माथि ३–० को सोझो सेटमा जित निकाल्दै दुई खेलबाट शतप्रतिशत सफलतासहित अन्तिम आठमा स्थान बनाएको छ।

डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले प्रदेश–२ लाई २५–२१, २५–१७, २५–१६ ले हरायो। हेल्प नेपालले समूहविजेताका लागि दुई खेल नै जितेको बागलुङको गलकोट स्पोर्ट्स क्लबसँग बुधबार खेल्नेछ।  

मंगलबार नै त्रिभुवन आर्मी क्लबले नयाँ बजार युवा क्लबलाई २५–२२, २५–१७ र २५–१५ को सेटमा हराउँदै समूह ‘सी’ को विजेताको रूपमा अन्तिम आठमा स्थान बनायो। हारका वावजुद तीन टोली सम्मिलित यस समूहमा नयाँ बजारले पनि अन्तिम आठमा स्थान बनाउन सफल भयो।

 एपिएफले बुढानीलकण्ठ भलिबल क्लबलाई २७–२५, २५–२७, २५–११ र २५–१८ ले हराउँदै समूह ‘डी’ को विजेताका रूपमा नकआउट चरणमा स्थान बनायो। तीन टोली रहेको यस समूहमा ढोरपाटन उपविजेताका रूपमा नकआउट चरणमा पुग्यो।  

महिलातर्फ साबिकको विजेता एपिएफले ढोरपाटन स्पोटर््स क्लबमाथि ३–० को जित निकाल्यो। एपिएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–७ र तेस्रो २५–६ ले जित्यो। होङवाङ्जी न्यु डायमन्डले एभरेस्ट भलिबल ट्रेनिङ सेन्टरलाई २५–६, २५–५, २५–१३ ले हराउन सफल भयो। 

आगामी असोज १६ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्पm १४ र महिलामा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट सात र महिलाका पाँच टोलीले चैतमा आयोजना हुने क्लब लिगमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन्।

प्रकाशित: १३ आश्विन २०७८ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App