८ वैशाख २०८१ शनिबार
खेल

अफगानिस्तान महिला क्रिकेट: प्रतिबन्धले बाटो नै बन्द हुन्छ

केही साता अघिसम्म ताबु सांगारले अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) मा डेभलपमेन्ट म्यानेजरको जिम्मेवारी सम्हालेकी थिइन्। तर, अहिले उनको पहिचान फेरिएको छ।

उनी हाल क्यानडामा रहेको अफगानी शरणार्थी शिविरकी एक सदस्य हुन्। विद्रोही समूह तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै ताबु परिवारसहित देश छोड्न बाध्य भइन्। ‘अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अथवा अन्य कुनै राष्ट्रले अफगानिस्तानको क्रिकेटमा प्रतिबन्ध लगाउने हो भने सो कदमले महिलालाई क्रिकेटमा आउने बाटो नै बन्द गरिदिन्छ,’ ताबुले भनिन्। 

ताबु अहिले पनि देश छोड्नुपरेको घटनाबाट विक्षिप्त छिन्, तर अझै पनि उनी क्रिकेटप्रतिको मोहबाट भने टाढा जान सकेकी छैनन्। तालिवानले अफगानिस्तानको सत्ता सम्हालेपछि सर्वत्र त्यहाँ महिला खेलाडीको भविष्य के हुने भन्ने अन्योलता कायम नै छ, विशेष गरी क्रिकेटको।

पुरुष टोलीले छोटो समयको अन्तरालमै अन्तर्राष्ट्रिय क्रिकेटमा मारेको छलाङका कारण पनि अफगानिस्तानमा क्रिकेटलाई राष्ट्रिय खेलको रूपमा लिइन्छ। आइसिसीको नियमअनुसार टेस्ट मान्यता प्राप्त राष्ट्रमा महिला क्रिकेट टोली पनि अनिवार्य गरिएको छ। त्यसैले अफगानिस्तानको टेस्ट हैसियत कायम राख्न पनि महिला क्रिकेट अत्यावश्यक छ। 

तालिवान शासकले लगातार खेलकुदमा महिला सहभागिता आफ्नो धर्मविपरीत भएकाले उनीहरूमाथि प्रतिबन्ध लगाउने संकेत गर्दै आएका छन् । उनीहरूले महिला खेलाडीमाथि प्रतिबन्ध लगाउने संकेतले आइसिसीमा पनि अफगानिस्तानको टेस्ट मान्यता खोस्नुपर्ने आवाज उठ्न थालेको छ। त्यस्तै अफगानिस्तानमाथि महिला खेलाडीलाई विभेद गरेको भन्दै सबैखाले अन्तर्राष्ट्रिय खेलकुद गतिविधिबाटै निलम्बन गर्नसमेत आवाज उठिरहेको छ। 

अफगानिस्तानले सन् २०२० नोभेम्बरमा पहिलो पटक २५ जना महिला खेलाडीसँग वार्षिक सम्झौता गरेको थियो, जसमा अधिकांश क्रिकेट खेलाडी  छन् । ती महिला खेलाडीहरू तालिवान सत्तामा फर्किएसँगै अहिले गुमनाम छन्। केही दिनअघि मात्र अफगानिस्तानका उमेरसमूहका महिला खेलाडीहरू पाकिस्तान पलायन भएका थिए।  

उनीहरू अगस्ट २६ मै कतारका लागि उड्ने तालिका थियो। तर विमानस्थलमा भएको विस्फोटका कारण उनीहरू अलपत्र परेका थिए। भाग्यवश ताबुले भने काबुल छोड्ने अवसर पाइन् र सुरक्षित रूपमा क्यानडा अवतरण गरिन्। आइसिसीले अफगानिस्तानमा जारी गतिविधिबारे जानकार रहे पनि कुनै पनि आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन। 

आइसिसीको अर्को महिना बस्ने बोर्ड बैठकले अफगानिस्तान क्रिकेटका बारेमा केही निर्णय लिने अनुमान गरिएको छ। तालिवानले पनि खेलकुदमा महिला सहभागिता बारेमा औपचारिक धारणा भने सार्वजनिक गरिसकेको छैन।

केही दिनअघि मात्र अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) का प्रमुख अजिउल्लाह फाज्लीले छिट्टै खेलकुदमा महिला सहभागिताका बारेमा सरकारको औपचारिक धारणा सार्वजनिक हुने र महिला क्रिकेटमा कुनै रोक नलगाइने बताएका थिए। 

तालिवानले सत्ता कब्जामा लिएसँगै महिलालाई खेलकुद सहभागिता गराउनु आफूहरूको धर्मविरोधी भन्दै त्यसमा रोक लगाउने बताएको थियो । यसअघि सन् १९९० को दशकमा पहिलो पटक शासनमा आउँदा पनि तालिवानले महिलालाई खेलकुद सहभागितामा प्रतिबन्ध लगाएका थिए। तालिवानका उच्च अधिकारीहरूले महिला खेलाडीमाथि प्रतिबन्ध लगाउने बताएसँगै क्रिकेट अस्ट्रेलिया (सिए) ले अफगानिस्तानविरुद्धको टेस्ट शृंखला नै रद्द गर्ने चेतावनी दिएको थियो।  

साथै अफगानिस्तानको अन्तर्राष्ट्रिय खेलकुद सहभागितासमेत दुबिधामा परेको थियो। यद्यपि दुई पारा ओलम्पियन खेलाडीले हालै टोकियोमा सम्पन्न पारा ओलम्पिक २०२० मा सहभागिता जनाएका थिए। तालिवानका शीर्ष अधिकारीले हालै मात्र एक अस्ट्रेलियन सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताका क्रममा महिलाको खेलकुद सहभागिता आवश्यक नै नरहेको बताएका थिए। 

तर, मंगलबार अफगानिस्तानका नवनियुक्त खेलकुद निर्देशक बासिर अहमदले महिलालाई खेलकुदमा सहभागी हुन दिने वा नदिनेबारे निर्णय नभइसकेको र आफूहरू छलफलकै क्रममा रहेको र यसबारे छिट्टै आधिकारिक धारणा सार्वजनिक गरिने पनि बताएका थिए । 

प्रकाशित: ९ आश्विन २०७८ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App