१५ चैत्र २०८० बिहीबार
खेल

उपराष्ट्रपतिले खेले व्यावसायिक फुटबल

दक्षिण अमेरिकी राष्ट्र सुरिनामका ६० वर्षे उपराष्ट्रपति रोनी ब्रुन्सविकले व्यावसायिक फुटबल कन्काकाफ लिग खेलेका छन्।

आफ्नो राजीतिक जिम्मेवारीबाट मंगलबार विश्राम लिँदै उनले इन्टर मोइन्गोटापोईको तर्फबाट व्यावसायिक फुटबल खेलेका हुन्। सुरिनामको राष्ट्रपति बन्ने सम्भावनासमेत बोकेका रोनीले इन्टरको कप्तानी गर्दै ५४ मिनेटसम्म मैदानमा बिताएका थिए। 

रोनी इन्टर मोइन्गोटापोईको मालिक पनि हुन्। तर, उनको कप्तानीमा रहेको इन्टरले कन्काकाफ लिगमा होन्डुरसको क्लब सिडी ओलिम्पियासँग ६–० को फराकिलो हार बेहोर्‍यो। सुरिनामको राजधानी पारामारिबोमा भएको उक्त खेलमा उपराष्ट्रपति एवम् टोलीका कप्तान रोनीले ६१ नम्बरको जर्सी लगाएका थिए।  

उक्त जर्सीको संकेत सन् १९६१ पनि हो, जुन दिन रोनीको जन्म भएको थियो। सिडी ओलिम्पियाविरुद्धको खेलमा उनले फरवार्डको भूमिका निर्वाह गरे। मोइन्गोटापोईको अग्रपंक्तिमा उनलाई आफ्नै छोरा डामियन ब्रुन्सविकले साथ दिएका थिए। ‘देशका उपराष्ट्रपति तथा क्लबका अध्यक्ष रोनी ब्रुन्सविक अन्तर्राष्ट्रिय फुटबल क्लब प्रतियोगिता खेल्ने सबैभन्दा पाका (६० वर्ष १९८ दिन) खेलाडी बनेका छन्,’ खेलका कमेन्टेटरले ट्विट गरेका थिए। 

उनी सुरिनामका पूर्वसेना र पूर्वविद्रोही नेतासमेत हुन्। उनले सन् १९८० को दशकमा सुरिनामका तानाशाह डेसी बाउटर्सविरुद्धको गृहयुद्धमा पनि भाग लिए। एक समय डेसीका अंगरक्षकसमेत हुन्।  अहिले उनी देशका धनी व्यवसायी तथा राजनीतिज्ञ हुन्। 

सन् १९९९ मा लागू औषध तस्करीमा दोषी ठहर गर्दै सुरिनामको पूर्वउपनिवेश राष्ट्र नेदरल्यान्डको एक अदालतले उनलाई आठ वर्षको जेल सजाय सुनाएको थियो। फ्रान्सको अदालतले पनि सोही मुद्दामा रोनीलाई दोषी ठहर गर्दै सन् २००० मा उनलाई १० वर्षको सजाय तोकेको थियो। तर, उनी देशभित्र नै बसे र राष्ट्रले पनि उनलाई कुनै पनि देशमा सुम्पिएन। त्यसपछि उनी सन् २००५ मा संसदमा निर्वाचित भए।  

पूर्वन्यायमन्त्री चन्द्रिकापर्सद सन्तोखीको नेतृत्वमा रहेको प्रमुख प्रतिपक्ष दलसँगको गठबन्धनबाट उनले संसदीय व्यवस्थामा पहिलो सफलता प्राप्त गरे। सन् २०२० मा सन्तोखी पाँच वर्षका लागि सुरिनामको राष्ट्रपति निर्वाचित हुँदा उनी पनि उपराष्ट्रपति भए। फुटबलमा मंगलबार ठूलो सफलता हात पारे पनि सिडी ओलिम्पियासँगको दोस्रो लेगका लागि रोनी होन्डुरस भने जाने छैनन्। किनकि उनी पनि कानुनी समस्या खेप्ने पक्षमा छैनन्। 

प्रकाशित: ७ आश्विन २०७८ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App