४ वैशाख २०८१ मंगलबार
खेल

खेलकर्मीलाई पदक

संविधान दिवसका अवसरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता तेक्वान्दोकी आयशा शाक्यसहित खेलाडी, प्रशिक्षक, खेल प्रायोजक र आयोजक विभिन्न पदकबाट विभूषित हुने भएका छन्।

संविधान जारी भएको सातौं वर्षका अवसरमा नेपाल सरकारले आइतबार विभिन्न क्षेत्रका ९ सय ३ जना व्यक्ति र संस्थालाई सम्मान गर्दा नेपाली खेलकर्मी पनि विभिन्न पदकबाट विभूषित हुने भएका हुन्। 

राष्ट्रपतिको कार्यालयले सोमबार सार्वजनिक गरेको सूचीमा नेपाली तेक्वान्दोका मात्र पाँच जना खेलाडी तथा प्रशिक्षक विभूषित हुने भएका छन्। जसमा १३औं सागका दोहोरो स्वर्ण विजेता आयशासहित स्वर्ण विजेता संगीता बस्याल, राष्ट्रिय टोलीकै प्रशिक्षक नोर्बु लामा, कोरियन प्रशिक्षक क्वान योङ दाल छन्। नेपाल पुलिस क्लबकै तेक्वान्दो प्रशिक्षक लक्ष्मणबहादुर ऐरले पनि विभूषण प्राप्त गर्नेछन्।  

सरकारले आयशालाई जनसेवाश्री, संगीतालाई सुकीर्ति पदक, प्रशिक्षकत्रय लामालाई सुकीर्ति पदक, क्वानलाई जनसेवाश्री र ऐरलाई नेपाल प्रताप आभूषण प्रदान गर्ने निर्णय गरेको हो। सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र फुटबल टोलीका कप्तान किरण चेम्जोङलाई भने प्रबल जनसेवाश्रीबाट विभूषित गर्ने भएको छ। गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले विभूषित गर्नेको सूची राष्ट्रपति कार्यालयमा पठाएपछि संविधान दिवसको अवसरमा सोमबार सूची सार्वजनिक गरिएको हो। आगामी वैशाख १ गते विशेष समारोहबीच उनीहरू विभूषित हुनेछन्।  

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, पारा खेलाडीद्वय हिमाल अर्याल र केशव थापा पनि जनसेवाश्रीबाट विभूषित हुने भएका छन्। १३औं सागकै स्वर्ण विजेतात्रय करातेका अनु अधिकारी र लक्ष्मण तामाङ, उसुकी जुनी राईले सुकीर्ति पदक पाउने भएका छन्। १३औं सागकी स्वर्ण विजेता ट्रायथोलनकी सोनी गुरुङ र फुटबलकी विमल तामाङलाई पनि सुकीर्ति पदक प्रदान गरिएको छ।

त्यसै गरी ब्याडमिन्टनका अम्पायर दीपक थापालाई सुकीर्ति पदकबाट सम्मानित गरिने भएको छ। खेल प्रायोजकको तर्फबाट खेलसामग्री कम्पनी केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेलाई भने सुकीर्ति पदक प्रदान गरिने भएको छ। महिला भलिबलको विकास र विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै शेरबहादुर खड्का स्मृति प्रतिष्ठान पनि जनसेवाश्री पदकबाट विभूषित हुने भएको छ। 

प्रकाशित: ४ आश्विन २०७८ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App