७ कार्तिक २०७८ आइतबार
खेल

लिभरपुलका लागि मानेको सयौं गोल

साडियो मानेले प्रिमियर लिग क्लब लिभरपुलका लागि १ सयौं गोल पूरा गरेको दिन शनिबार टोलीले क्रिस्टल प्यालेसमाथि ३–० को जित हात पार्दा अर्को खेलमा मिकेल अर्टेटाको टोली आर्सनलले बर्नलीमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ।  

प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले भ्रमणकारी टोली क्रिस्टल प्यालेसलाई ३–० ले स्तब्ध बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिँदा आर्सनलले बर्नलीको मैदानमा संघर्षपूर्ण जितबाट तीन अंक जोड्न सफल भएको हो।

यस्तै साबिक विजेता म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिँदा १० खेलाडीमा खुम्चिएको ब्रेन्टफोर्डले उल्भरह्याम्पटनविरुद्ध उसैको मैदानमा २–० को रोमाञ्चक जित निकाल्यो। आइतबार भएको खेलमा लेस्टर सिटी ब्राइटनसँग पराजित भयो। म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई उसैको मैदानमा २–१ ले स्तब्ध बनायो।  

प्रिमियर लिग क्लब लिभरपुलका लागि ४३औं मिनेटमा १ सयौं गोल पूरा गर्दा मानेले टोलीलाई अग्रतासमेत दिलाएका थिए। सुरुआत निकै प्रतिस्पर्धात्मक बनेको खेलमा क्रिस्टल प्यालेसले केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेको थियो। ७८औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै टोलीको अग्रता २–० मा पुर्‍याएका थिए। खेल सकिन एक मिनेट बाँकी छँदा नेबी केइटाको गोलबाट लिभरपुलले जित निश्चित गर्‍यो।  

नयाँ सिजनमा पाँच खेलबाट चौथो जित र एक बराबरी खेलेको लिभरपुलले १२ गोल गरेको छ भने एक गोल खान पुगेको छ। घरेलु मैदानमा जित निकालेपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले क्रिस्टल प्यालेसविरुद्ध जित निकाल्न कठिन भएको प्रतिक्रिया दिए।  

‘खेल सुरु हुनुपूर्व नै मैले जितका लागि संघर्ष गर्नुपर्छ भन्दै खेलाडीलाई संयमित हुन भनेको थिएँ। जितका लागि निकै संघर्ष गर्नुपर्‍यो,’ प्रशिक्षक क्लोपले भने, ‘मानेका लागि १ सयौं गोल पूरा पनि भएको छ। उनको खेल निकै तारिफयोग्य रह्यो। टोलीका लागि निकै मिहिनेत गरिरहेका छन्।’

प्रिमियर लिगको नयाँ सिजनअन्तर्गत सुरुआती पाँच खेलमा अपराजित लिभरपुलले १३ अंक जोड्दै शीर्षता कायम राख्दा पराजित क्रिस्टल प्यालेस ५ खेलबाट ५ अंक नै जोडेर १४औं स्थानमा छ। प्रिमियर लिगकै अर्को खेलमा आर्सनललाई जित दिलाउन मार्टिन ओडिगार्डले ३०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। बर्नलीको मैदानमा जित निकाल्न निकै संघर्ष गरेको मिकेल अर्टेटा बताए।  

‘अंक खोस्न निकै संघर्ष गर्नुपर्‍यो,’ उनले भने, ‘अझै हामीसँग लयमा भएका खेलाडी आएका छैनन्। यद्यपि उनीहरूले राम्रो प्रदर्शन गर्दै अंक दिलाउन सफल भए।’

साबिक विजेता म्यानचेस्टर सिटी घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सोचेजस्तो प्रदर्शन गर्न नसक्दा २ अंक गुमाउनुपरेको प्रतिक्रिया दिए।  

‘हामीले सोचेजस्तो प्रदर्शन गर्न सकेनौं। पाएका अवसर सबैलाई गुमाउन पुग्यौं,’ प्रशिक्षक ग्वार्डिओलाले भने, ‘रक्षापंक्ति र फर्नान्डिन्होबीच राम्रो तालमेल गर्न सकेनौं। रक्षापंक्तिका चार खेलाडी र फर्नान्डिन्हो बल अगाडि बढाउन चुके।’

अर्को खेलमा एस्टन भिल्लाले एभर्टनमाथि ३–० को जित निकाल्दा वार्टफोर्डले नर्विच सिटीलाई उसैको मैदानमा ३–१ ले स्तब्ध बनयो। 

प्रकाशित: ४ आश्विन २०७८ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App