coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

च्याम्पियन्स लिग: पिएसजी अपेक्षित प्रदर्शन गर्न असफल

लियोनल मेसी पहिलो पटक सुरुआती रोजाइमा परेको दिन बुधबार पेरिस सेन्ट जर्मन (पिएसजी) च्याम्पियन्स लिगको पहिलो खेलमा क्लब ब्रुगसँग १–१ को बराबरीमा रोकिँदा पछिल्लो सिजनको उपविजेता म्यानचेस्टर सिटी र लिभरपुलले फराकिलो जित निकाल्दै सुखद सुरुआत गरेका छन्।

यस्तै १३ पटक कीर्तिमानी युरोपियन च्याम्पियन रियाल मड्रिडले इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानलाई १–० ले पराजित गर्दा आयाक्सले स्पोर्टिङ सिपीमाथि उसैको मैदानमा ५–१ को फराकिलो जित निकालेको छ।

अर्जेन्टिनाका स्टार लियोनल मेसीसहित ब्राजिलियन स्ट्राइकर नेइमार र फ्रान्सेली टोलीका स्ट्राइकर किलियन एम्बाप्पेसहित च्याम्पियन्स लिगको सुरुआत गरेको पेरिस सेन्ट जर्मनले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेन। पहिलो पटक तीनै स्ट्राइकर समावेश भएको खेलबाट धेरैले राम्रो नतिजाका लागि अपेक्षा गरेका थिए। सुरुआती अग्रता निकाले पनि १२ मिनेटपछि घरेलु टोली क्लब ब्रुगले बराबरी गोल फर्काउँदै बलियो टोलीलाई रोक्न सफल भएको थियो। 

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पिएसजीका लागि एन्डर हेरारेले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। यसअघिको खेलमा पनि पिएसजीका लागि हेरारेले गोल गरेका थिए। एम्बाप्पेले दिएको क्रस बललाई उनले जाली चुमाएका थिए। २७औं मिनेटमा हान्स भनकेनले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए। त्यसपछि दबाबमा परेको पिएसजीले स्पष्ट जितका लागि प्रयास गरे पनि सफल हुन सकेन। ५१औं मिनेटमा किलियन एम्बाप्पे चोटग्रस्त हुँदै मैदानबाट बाहिरिएका थिए।

स्टार खेलाडीले भरिएको पिएसजीले अपेक्षाअनुसारको नतिजा निकाल्न नसक्दा प्रशिक्षक माउरिसियो पोचेटिन्होले सबै स्टार खेलाडीको तालमेल मिलाउन अझै समय लाग्ने भन्दै बराबरी खेलको खण्डन गरे। ‘हामीलाई स्टार खेलाडीको तालमेल मिलाउन अझै समय आवश्यक छ।

अझै उनीहरूबीच राम्रो तालमेल बनिसकेको छैन,’ प्रशिक्षक पोचेटिन्होले भने, ‘हामीले सुधार गर्नुपर्ने विषय धेरै छन्। सोचेअनुसारबाट रणनीति अगाडि बढ्न सकेको छैन। हामी राम्रो गर्दै अगाडि बढ्नुपर्नेछ। त्यसका लागि धैर्यता आवश्यक छ। मेसीको खेलबाट म खुसी छु र मेसी पनि खेलमा सन्तुष्ट छन्। टोलीमा स्थान बनाउन मिहिनेत गरिरहेका छन्।’

समूह ‘ए’ कै अर्को खेलमा साबिक उपविजेता पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिगमाथि गोलको वर्षा गर्‍यो। बुधबार राति ९ गोल भएको खेलमा इङ्लिस क्लब सिटीले लिपजिगलाई ६–३ ले पराजित गरेको हो। च्याम्पियनस लिगमा डेब्यु गरेका ज्याक ग्रिलिसले टोलीका लागि उत्कृष्ट खेल प्रदर्शन गरे।

 सिटी गत सिजन फाइनलमा चेल्सीसँग पराजित हुँदै उपविजेतामा खुम्चिएको थियो। सुरुआतबाट नै आक्रामक खेल खेलेको सिटीले नाथन एकेको हेड गोलमा अग्रता बनाएको थियो। नोर्डी मुकीले आत्मघाती गोल गर्दा सिटीको अग्रता दोब्बर भएको थियो। क्रिस्टिोफर नकुन्कुले पाहुना टोली लिपजिगका लागि गोल गर्दै अन्तर घटाएका थिए। पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा रियाद महारेजले गोल गर्दै सिटीलाई ३–१ ले अघि बढाएका थिए।

पछि परे पनि दोस्रो हाफमा आक्रामक देखिएको लिपजिगका लागि नकुन्कुले दोस्रो हाफको सुरुवातमै गोल गर्दै खेललाई ३–२ को अवस्थामा पुर्‍याएका थिए। ग्रिलिसले ५२औं मिनेटमा टोलीका लागि चौथो गोल गर्दा सिटी ४–२ ले अघि बढेको थियो। ७३औं मिनेटमा नकुन्कुले ह्याट्रिक पूरा गर्दै खेललाई ४–३ को रोमाञ्चक अवस्थामा पुर्‍याएका थिए।

 तर जोआओ क्यान्सलोले ७५औं र वैकल्पिक खेलाडी ग्याब्रियल जिससले ८५औं मिनेटमा गोल गर्दै सिटीलाई ६–३ को प्रभावशाली जित दिलाए। यसअघि ११ मिनेट बाँकी रहँदा लिपजिग १० खेलाडीमा सीमित बनेको थियो। एन्जेलिनो ७९औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

फराकिलो जितसँगै समूह ‘ए’ मा सिटीले ३ अंक जोडेको छ। लिपजिग अंकविहीन छ। पिएसजी र क्लब ब्रुगले बराबरी खेल्दै समूहतालिकामा समान १/१ अंक जोडेका छन्।

यस्तै समूह ‘बी’ को खेलमा लिभरपुलले एसी मिलानलाई ३–२ ले स्तब्ध बनायो। लिभरपुलले फिकायो तोमोरीको आत्मघाती गोलबाट अग्रता लिएको थियो। खेलको १४औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर बनाउने पेनाल्टीको मौका पाए पनि मोहम्मद सालाह चुकेका थिए। 

एन्टी रेबिक र ब्राहिम डियाजुले लगातार दुई गोल गर्दै मिलान क्लबलाई पहिलो हाफमा २–१ ले अघि बढाएका थिए। तर दोस्रो हाफमा लिभरपुल खेलमा फर्कियो। सालाहले ४९औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि जोर्डन हेन्डरसनले ६९औं मिनेटमा लिभरपुलका लागि विजयी गोल गरेका थिए।

समूह ‘बी’ को अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र एफसी पोर्टाेले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा समूह ‘डी’ को खेलमा रियाल मड्रिडले रोड्रिगोको निर्णायक गोलमा च्याम्पियन्स लिगमा सुखद सुरुआत गर्‍यो। 

प्रकाशित: १ आश्विन २०७८ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App