७ वैशाख २०८१ शुक्रबार
खेल

अफगान महिला फुटबल खेलाडीले देश छोडे

पाकिस्तानमा स्वागतपछि सामूहिक तस्बिरमा अफगानी महिला फुटबल खेलाडी । तस्बिरः एएफपी

विद्रोही समूह तालिवानले सत्तारोहण गरेको एक महिनापछि अफगानिस्तानका उमेरसमूहका महिला फुटबल खेलाडीहरूले देश छोडेका छन्।

ती महिला खेलाडीहरूलाई बुधबार पाकिस्तानले स्वागत गरिसकेको छ। उमेरसमूहका महिला खेलाडी, उनीहरूका परिवार र प्रशिक्षकले गत महिना नै अफगानिस्तान छोड्ने तयारी गरे पनि काबुल विमानस्थलमा अगस्ट २६ मा भएको बम विस्फोटको घटनापछि उनीहरू अलपत्र परेका थिए।

‘अफगानिस्तानमा युवा खेलाडीहरूबाट उनीहरूलाई तत्कालन उद्धार गरिदिनु भन्ने पत्र मैले प्राप्त गरें। त्यसपछि मैले उनीहरूको आग्रह पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई लेखें,’ फुटबल फर पिस नामक एनजिओका ग्बोबल डेभलपमेन्ट सद्भावनादूत सरदार नाभिद हैदरले भने।

मंगलबार मात्र ७५ जनाले उत्तरी नाका पार गरेका थिए। त्यहाँबाट उनीहरू लाहोर प्रस्थान गरेका थिए, जहाँ उनीहरूलाई भव्य स्वागत गरिएको थियो। यु–१४,यु–१६ र यु–१८ मा अफगानिस्तान महिला टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडी पाकिस्तान प्रवेश गरेका हुन्। उनीहरू सबै बुर्कामा थिए। 

पाकिस्तान प्रवेश गरेपछि मात्र उनीहरूले मुख देखाएका थिए। तालिवानले सत्ता कब्जामा लिएसँगै महिलालाई खेलकुद सहभागिता गराउनु आफुहरूको धर्मविरोधी भन्दै त्यसमा रोक लगाउने बताएका थिए। यसअघि १९९० को दशकमा पहिलो पटक शासनमा आउँदा पनि तालिवानले महिलालाई खेलकुद सहभागितामा प्रतिबन्ध लगाएका थिए।

तालिवानका उच्च अधिकारीहरूले महिला खेलाडीमाथि प्रतिबन्ध लगाउने बताएसँगै क्रिकेट अस्ट्रेलिया (सिए) ले अफगानिस्तान विरुद्धको टेस्ट शृंखला नै रद्द गर्ने चेतावनी दिएको थियो। साथै अफगानिस्तानको अन्तर्राष्ट्रिय खेलकुद सहभागितासमेत दुबिधामा परेको थियो। यद्यपि दुई पारा ओलम्पियन खेलाडीले हालै टोकियोमा सम्पन्न पारा ओलम्पिक २०२० मा सहभागिता जनाएका थिए।

तालिवानका शीर्ष अधिकारीले हालै मात्र एक अस्ट्रेलियन सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताका क्रममा महिलाको खेलकुद सहभागिता आवश्यक नै नरहेको बताएका थिए। तर मंगलबार अफगानिस्तानका नवनियुक्त खेलकुद निर्देशक बासिर अहमदले महिलालाई खेलकुद सहभागिता गर्न दिने वा नदिनेबारे निर्णय नभइसकेको र आफूहरू छलफलकै क्रममा रहेको बताए। 

उनले यसबारे छिट्टै आधिकारिक धारणा सार्वजनिक गरिने पनि बताए। बुधबार बिहान ट्विट गर्दै पाकिस्तानमा प्रदेश सञ्चारमन्त्री फवाद चोैधरीले अफगानिस्तानका महिला खेलाडीहरूको स्वागत गरेका थिए।

‘हामीले अफगानिस्तानमा महिला खेलाडीलाई स्वागत गरेका छौं। उनीहरू अफगानिस्तानको थोर्खाम नाका हुँदै पाकिस्तान प्रवेश गरेका थिए। उनीहरूको साथमा आवश्यक सम्पूर्ण कागजपत्र थिए,’ चौधरीले ट्विट गरेका थिए। तालिवानले सत्तारोहाण गरेपछि हजारौंअफगान नागरिकले देश छोडिसकेका छन्।

प्रकाशित: ३१ भाद्र २०७८ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App