१५ चैत्र २०८० बिहीबार
खेल

बर्लिन म्याराथनमा धर्म

नेपाली धावक धर्म महर्जनले बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्। विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्न धर्म बिहीबार जर्मनीको बर्लिन प्रस्थान गर्दै छन्।

धर्मले सेप्टेम्बर २६ तारिखमा हुने बर्लिन म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्नेछन्। ४५ वर्षमाथि उमेरसमूहको उनको प्रतिस्पर्धामा करिब १० हजार धावकले चुनौती प्रस्तुत गर्नेछन्। बुधबार वैकुण्ठ मानन्धर खेलकुद नेपाल र गजराज जोशी मेमोरियल ट्रस्टले संयुक्त कार्यक्रम आयोजना गर्दै भेट्रान धावक धर्मलाई बिदाइ गरेका थिए। 

उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापा, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर, पूर्वधावक एवं गीतकार बुद्धिवीर लामा र ट्रस्टका अध्यक्ष मनीषराज जोशीलगायतले बिदाइ गरेका थिए।

जापानमा सम्पन्न १८औं एसियाली मास्टर्स च्याम्पियनसिपमा कांस्य विजेता धर्मको यो नवौं अन्तर्राष्ट्रिय सहभागिता हो। उनले अमेरिका, थाइल्यान्ड, जापान, नेदरल्यान्ड र चीनमा विभिन्न दूरीको दौडमा सहभागिता जनाइसकेका छन्। 

धर्मले तीन राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको फुल म्याराथनतर्फ सहभागिता जनाइसकेका छन्। धर्मले बर्लिन म्याराथनमा २ घन्टा ४५ मिनेटमा दौड पूरा गर्ने लक्ष्य रहेको उल्लेख गरे। उनले आफ्नो सहभागितामा सहयोग गर्ने सबै पक्षप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन्।  

बर्लिनमा प्रतिस्पर्धाका लागि कीर्तिपुर नगरपालिकाले ५० हजार र कीर्तिपुर खेलकुद समाजले २१ हजार रूपैयाँसहित व्यक्तिगत रूपमा पनि सहयोग प्राप्त भएको धर्मले जानकारी दिए। बिदाइ कार्यक्रममा पूर्वअध्यक्ष थापाले २५ हजार तथा ट्रस्टका अध्यक्ष जोशीले ५ हजार आर्थिक सहयोग उपलब्ध गराए। 

वैकुण्ठ मानन्धर खेलकुद नेपालले पनि महर्जनलाई आर्थिक सहयोग प्रदान गरेको थियो। ट्रस्टका अध्यक्ष जोशीले महर्जनले उत्कृष्ट प्रदर्शन गरेको खण्डमा नगद पुरस्कारसहित पुरस्कृत गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: ३१ भाद्र २०७८ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App