४ वैशाख २०८१ मंगलबार
खेल

एएफसी महिला एसियन कप: छनोट चरण पार गर्ने विश्वास

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले उज्बेकिस्तानमा असोज पहिलो साताबाट सुरु हुने एएफसी महिला एसियन कप छनोट चरण पार गर्नेमा विश्वस्त रहेको बताएका छन्। फिलिप्सले अनुभवी र युवा खेलाडीको सन्तुलित टोली भएकाले सुखद नतिजा  ल्याउने बताए।

‘हामीले बन्द प्रशिक्षणका लागि छोटो समय पाए पनि राम्रो तयारी गरेका छाैँ। बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेल टोलीको कमीकमजोरी थाहा पाउने अवसर बन्यो,’ फिलिप्सले भने, ‘हामीले दुई खेलमा दुई रणनीति प्रयोग गर्‍याैँ। पहिलो खेलमा लिएको दुई डिफेन्सिभ मिडफिल्डर खेलाउने रणनीति फलदायी देखियो। सम्भवत उज्बेकिस्तानमा पनि हामी त्यही रणनीतिअनुसार मैदान उत्रन्छाैँ।’

फिलिप्सले टोलीमा आएका नयाँ खेलाडीको प्रदर्शन आशालग्दो प्रदर्शन गरेकाले पनि टोलीले छनोट चरणमा सुखद नतिजा ल्याउने बताए।

टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारीको अनुपस्थितिमा फिलिप्सले सरु लिम्बुसँगै राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका प्रीति राई र सविता रानालाई पहिलो रोजाइमा मैदान प्रवेश गराएका थिए। प्रीति र सविताले डेब्यु खेलमै गोलका साथ आफ्नो क्षमता प्रमाणित गरेका थिए। 

दोस्रो खेलमा फिलिप्सले सवितालाई आराम दिँदै अनुभवी स्ट्राइकर अनिता बस्नेतलाई पहिलाई पहिलो रोजाइमा अवसर दिएका थिए। कप्तान रेनुका नगरकोटीलाई डिफेन्सिभ मिडफिल्डरका रूपमा खेलाएको दोस्रो खेलमा नेपालले न पर्याप्त गोलको अवसर र्सिजना गर्न न त गोल गर्न नै।

‘पहिलो खेलमा हामीले राम्रो खेले पनि दोस्रो खेलमा सोचेअनुरूपको प्रदर्शन हुन सकेन,’ उनले भने, ‘तर मैले नयाँ खेलाडीको क्षमता हेर्ने अवसर पाएँ। पुराना खेलाडीहरूसँग नयाँ खेलाडीको तालमेल हेर्न पाएँ।’  

नेपालले असोज २ मा समूह ‘एफ’ को पहिलो खेलमा फिलिपिन्सको सामना गर्नेछ भने असोज ५ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष टोली आगामी वर्ष भारतमा आयोजना हुने एएफसी महिला एसियन कपका लागि छनोट हुनेछ।

नेपालकी कप्तान रेनुका नगरकोटीले पनि बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेल आफ्नो टोलीको कमीकमजोरी थाहा पाउन र त्यसमा सुधार गर्नका लागि निकै फलदायी भएकाले उज्बेकिस्तानमा सुखद नतिजा ल्याउनेमा आशावादी रहेको बताइन्।

‘टोलीमा आएका नयाँ खेलाडी क्षमतावान् छन्। पहिलो खेल भएकाले उनीहरूले स्वाभाविक लय भेट्टाउन सकेनन्,’ रेनुकाले भनिन्, ‘उज्बेकिस्तानमा हामीले केही दिन अभ्यास गर्नेछाैँ। आशा छ, त्यति बेलासम्म टोलीमा धेरै सुधार आउनेछ र नयाँ खेलाडीको समेत आत्मविश्वास बढ्नेछ।’ रेनुकाले फिलिपिन्स र हङकङ नेपालको तुलनामा विश्व वरीयतामा माथिको टोली भए पनि उनीहरूसँग निरीह भएन नखेल्ने बताइन्।

उनले भनिन्, ‘हाम्रो प्रतिद्वन्द्वी फिलिपिन्स र हङकङ वरीयतामा हामीभन्दा माथि छन् तर त्यसो भन्दैमा हामीले आत्तिन जरुरी छैन। स्वाभाविक प्रदर्शनका साथ उत्कृष्ट नतिजा ल्याउनेमा हामी पूर्ण रूपमा विश्वस्त छाैँ।’

एएफसी महिला एसियन कप छनोट खेल्न नेपाली टोली सोमबार राति उज्बेकिस्तान प्रस्थान ग¥यो। नेपाली राष्ट्रिय महिला टोलीलाई सोमबार आयोजित एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र एन्फा महासचिव इन्द्रमान तुलाधरले बिदाइ गरे।

प्रकाशित: २९ भाद्र २०७८ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App