१५ चैत्र २०८० बिहीबार
खेल

'अफगानिस्तानमा महिला क्रिकेट रोकिँदैन'

तालिवान सत्तामा फर्किएपछि अफगानिस्तानको खेलकुद जगत कुन ढंगबाट अघि बढ्छ भन्ने अन्योल कायम नै छ।

तालिवान शासकहरू महिलाप्रति कठोर बन्ने संकेत गरेसँगै त्यहाँ महिला क्रिकेट नै विस्थापित हुने अनुमान गरिँदा अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी)का प्रमुख अजिउल्लाह फाजलीले भने अफगानिस्तानमा महिला क्रिकेट टोलीको खेलयात्रा नरोकिने दाबी गरेका छन्। 

फाजलीले छिट्टै महिला क्रिकेट टोलीबारे सरकारको आधिकारिक धारणा सार्वजनिक हुने पनि उल्लेख गरेका छन्। साथै उनले महिला क्रिकेट टोलीका २५ सदस्यलाई तत्काल देश नछोड्नसमेत आग्रह गरे। ‘अफगानिस्तानको महिला क्रिकेट कुन मोडलमा अघि बढ्छ भन्नेबारे हामी अबको एक/दुई दिनमा नै सरकरको स्पष्ट धारणा सार्वजनिक गर्छौं,’फाजलीले भने, ‘प्रक्रिया अघि बढिसकेको छ। त्यसैले केही दिनभित्रै सुखद खबर आउनेछ।’  

बुधबार तालिवानका सहायक प्रमुख अब्दुल्लाह वासिकले महिलाको खेलकुदमा सहभागिता आफ्नो धर्मले वर्जित गरेकाले उनीहरूलाई खेलकुदमा रोक लगाउने बताएका थिए। वासिकको धारणा सार्वजनिक भएसँगै तालिवानले अफगानिस्तानका महिला खेलाडीलाई खेलकुदमा प्रतिबन्धित गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अस्ट्रेलियाले अफगानिस्तानसँगको ऐतिहासिक पहिलो टेस्ट रद्द गर्ने चेतावनीसमेत दिएको थियो। अस्ट्रेलिया क्रिकेटको सर्वोच्च निकाय क्रिकेट अस्ट्रेलिया (सिए) ले महिला खेलाडीको विषय गम्भीर भएको भन्दै नोभेम्बरमा तय टेस्ट म्याच रद्द हुने संकेत गरेको हो। यद्यपि तालिवानले अस्ट्रेलियासँग तय भएको पुरुष टोलीको पहिलो टेस्ट म्याचलाई भने हस्तक्षेप नगर्ने बताइसकेको छ।  

अस्ट्रेलिया र अफगानिस्तानको पहिलो टेस्ट नोभेम्बर २७ देखि आयोजना गर्ने तालिका छ। यस्तै क्रिकेट अस्ट्रेलियाले महिला क्रिकेटले पाएको सफलता विश्वमा चर्चा भइरहेको अवस्थामा वर्जित गर्न खोज्नु राम्रो काम नभएको बताएको थियो। अफगानिस्तान क्रिकेट बोर्डले भने आफुमा तालिवान शासकले लागु गरेको धर्म र संस्कृति बदल्ने अधिकार नभएकाले उनीहरूको गल्तीको सजाय क्रिकेट टोलीलाई नदिन अस्ट्रेलियालाई आग्रह गरेको थियो। ‘हामीलाई एक्लो नपार्नुस् र हामीलाई सजाय दिन बन्द गर्नुस्,’एसिबीले जारी गरेका विज्ञप्तिमा भनिएको छ।

यता क्रिकेट अस्ट्रेलियाले भने आफूहरू निरन्तर एसिबीसँग संवादमा रहेको र आफ्नो धारणामा कुनै परिवर्तन नहुने अडान राखेको छ। ‘हाम्रो उद्देश्य खेलकुद सबैका लागि समान हुनुपर्छ भन्ने हो। समान तरिकाले सबैलाई अवसर दिनुपर्छ। साथै महिला–पुरुषको क्रिकेटलाई समान तरिकाबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता हो,’ क्रिकेट अस्ट्रेलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यदि सञ्चारमाध्ययमा आएका खबर सत्य हुन् भने अफगानिस्तानसँग तय खेल बाध्यकारी हुँदै रद्द गर्नुपर्ने हुन्छ, जुन क्रिकेट इतिहासमा हामीले भोग्नुपरेको तीतो अनुभव हुनेछ।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमअनुसार टेस्ट मान्यता प्राप्त राष्ट्रमा महिला राष्ट्रिय क्रिकेट टोली अनिवार्य गरिएको छ। हालै मात्र अफगानिस्तान महिला क्रिकेट टोलीका सदस्यहरू काबुलमै लुकेर बसेको र उनीहरूको खोजीमा तालिवान फौज खटिएको खबर सार्वजनिक भएको थियो। तर फाजलीले भने ती सबै खबर निराधार भएको दाबी गरे। 

‘राष्ट्रिय महिला क्रिकेट टोलीकी प्रशिक्षक डायना बाराक्जाई र उनको टोलीका सबै सदस्य सुरक्षित छन् र आफ्नै घरमा बसिरहेका छन्,’उनले भने, ‘धेरै राष्ट्रले उनीहरूलाई देश छोड्न आग्रह गरिरहेका छन्। तर उनीहरूले अफगानिस्तान छोडिसकेका छैनन्।’

प्रकाशित: २७ भाद्र २०७८ ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App