coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रूपेशको एकल अग्रता

 फिडे मास्टर रूपेश जैसवालले राजेशहरि जोशी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा शुक्रबार एकल अग्रता बनाएका छन्।

कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा भएको खेलमा सातौं चरणका खेल सकिँदा सजिलो सिभी डट कमका रूपेशले साढे ६ अंकसहित एकल अग्रता बनाएका हुन्। नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता जोशीको स्मृतिमा फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा चौथो दिन छैटौं र सातौं चरणका खेल सम्पन्न भएका छन्। रूपेशले छैटौं चरणको खेलमा तीन पटकका नेपाल पूर्वच्याम्पियन बद्रीलाल नेपालीलाई स्तब्ध बनाएका थिए। सातौं चरणमा भने उनले भक्तपुरका युवा खेलाडी निकेन कुसाथालाई हराए।

ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा रौतहटका युवा खेलाडी सुमन लामा र सर्लाहीका कमल श्रेष्ठ समान ६ अंकका साथ संयुक्त रूपमा दोस्रो स्थानमा छन्। सुमनले छैटौं चरणमा एसियन एमेच्योर च्याम्पियन हेटौंडाका कृष्ण थापालाई पराजित गरेका थिए। सातौंमा सुमनले बद्रीलाललाई निरास पारे। 

कमलले आयोजक क्लबका सजिन महर्जन र फिडे मास्टर मनीष हमालमाथि विजय प्राप्त गरेका थिए। त्यस्तै चितवनका युवा खेलाडी अर्जुन घिमिरे, भक्तपुरका भेट्रान गणेशमान दुवाल, थापाथली चेस क्लबका फिडे मास्टर क्षितिज घिमिरे, डाइनामिक चेस एकेडेमी दमकका भूपेन्द्र निरौला, दोलखाका आशिष फुँयाल र मखन चेस क्लबका फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठले समान साढे पाँच अंक बटुलेका छन्।

पाँच दिने प्रतियोगितामा स्विस लिगअनुसार ९ चरणसम्म हुनेछन्। उक्त प्रतियोगिताका विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। आयोजकले उत्कृष्ट ३३ खेलाडी पनि नगद पुरस्कार प्रदान गर्ने जनाएको छ। शनिबार आठौं र नवौं चरणका खेलहरू हुनेछन्। शनिबार नै पुरस्कार वितरण तथा समापन कार्यक्रम हुने आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिए। 

प्रकाशित: २६ भाद्र २०७८ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App