७ वैशाख २०८१ शुक्रबार
खेल

गुमनाम सम्मान

मैदान प्रवेश गर्दै पुनम जर्घामगर (माथि)। राष्ट्रिय गान बजिरहँदा पुनम (दायाँबाट तेस्रो)। तस्बिर : नागरिक

नेपाली महिला राष्ट्रिय टोली र बंगलादेशबीच बिहीबार दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण खेल दौरान फरक दृश्य देखियो। नेपाल र बंगलादेशका महिला खेलाडी राष्ट्रिय गानका लागि मैदानमा उभिँदा देखिएको त्यो दृश्यबारे न अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी जानकार थिए, न त मैदानमा खेल हेर्न उपस्थित सञ्चारकर्मी र दर्शक नै।

दुवै राष्ट्रका राष्ट्रिय गान बजिरहँदा बंगलादेशका ११ खेलाडी मैदानमा उपस्थित थिए। तर, नेपालबाट भने १२ खेलाडी मैदान प्रवेश गरे। राष्ट्रिय गान सकिएलगत्तै दुवै राष्ट्रका खेलाडीहरू सामूहिक तस्बिर खिचाइरहँदा नेपालकी एक खेलाडी मैदानबाहिर निस्किइन्। 

उनी मैदानबाट बाहिरिँदा नेपाली टोलीका केही खेलाडी र प्लेयर बक्समा रहेका प्रशिक्षक, व्यवस्थापक, चिकित्सक र खेलाडीहरूले उनको सम्मानमा ताली बजाएको देखिन्थ्यो। तथापि दर्शकदीर्घा भने त्यसबारे बेखबर रहे। ती १२औं खेलाडी थिइन्, रक्षक पुनम जर्घामगर। तर उनी किन मैदान प्रवेश गरिन् ? लगत्तै किन मैदानबाहिर आइन् कसैले पत्तो नै पाएनन्। 

प्रतिस्पर्धात्मक खेलमा नेपाल २–१ ले विजयी भयो। खेलपछिको पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले गम्भीर स्वास्थ्य समस्याका कारण पुनम खेल जीवनबाटै बिदाइ लिने सँघारमा पुगेकाले उनको सम्मानस्वरूप मैदान प्रवेश गराउने निर्णय गरेको बताएपछि मात्र मैदान प्रवेश गर्ने खेलाडी पुनम भएको खुलासा भएको थियो। फिलिप्सले पुनमको सम्मानका लागि मैदान प्रवेश गराएको बताइरहँदा उनको बहिर्गमन भने निकै खल्लो बन्यो। अझ भनौं, एउटा सफल खेलाडीको गुमनाम सम्मान।

गम्भीर समस्याका कारण खेलजीवन नै दोधारमा परेसँगै लामो समय नेपाली राष्ट्रिय टोलीमा योगदान पुर्‍याएका कारण पनि अन्तिम पटक घरेलु समर्थकमाझ मैदान प्रवेश गर्दै स–सम्मान बिदा लिने पुनमको अधिकार नै हो। तर, राष्ट्रिय टोलीले कसैलाई उनको सम्मानित बिदाइको बारेमा जानकारी नदिँदा पुनमको बहिर्गमन नै खल्लो बन्न पुग्यो। राष्ट्रिय टोलीले जानकारी नदिँदा स–सम्मान बिदाइ लिने पुनमको इच्छा अधूरै रह्यो नै दर्शकका लागि पनि पुनमको गुमनाम सम्मान निकै खल्लो बन्न पुग्यो।

‘पुनमको स्वास्थ्य अवस्था र उनलाई सम्मान दिन लागेको बारे कसैलाई जानकारी नगराउनु हाम्रो गल्ती हो,’ फिलिप्सले भने, ‘तर एउटा खेलाडी, जसले देशका लागि लामो समयदेखि योगदान दिएको छ। उसलाई अन्तिम पटक मैदान उत्रने अवसर दिनुपर्छ भनेर हामीले पुनमलाई मैदान उतारेका हौं।’ फिफाको नियमअनुसार सबै खेलाडीको ‘फिफा प्रि–कम्पिटिसन मेडिकल एसेसमेन्ट (पिसिएमसी) अनिवार्य छ। पिसिएमसी दौरान नै पुनमको मुटुमा प्वाल परेको देखिएको थियो। जसले उनको खेलजीवन नै कठिन अवस्थामा  पुर्‍याइदिएको छ।

जुलाईमा सम्पन्न युरोपियन च्याम्पियनसिप २०२० दौरान डेनमार्कका मिडफिल्डर क्रिस्टियन इरिक्सन मैदानमा अर्धचेत भएर लडेका थिए। मैदानमै प्राथमिक उपचारपछि अस्पताल पुर्‍याइएका इरिक्सनलाई हृदयाघात भएको पुष्टि भएको थियो। 

हाल उनी घरमै आराम गरिरहेका छन्। उनी पुनः मैदान फर्कनेमा दुबिधा छ। इरिक्सनको घटनापछि नै फिफाले पिसिएमसी नियम अनिवार्य गरेको थियो। शुक्रबार गरिएको दोस्रो परीक्षणपछि पुनमको मुटुको शल्यक्रिया गर्नुपर्ने भएको एन्फा महिला विभागका प्रमुख तथा नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बताए।

‘हाम्रो तयारी राम्रो थियो, टोलीको मनोबलसमेत उच्च थियो। तर पुनमको पिसिएमसीको रिपोर्टपछि टोली निराश बन्यो,’ खड्काले भने, ‘टोलीमा यसबारे भएको सल्लाहमा नै पुनमलाई १२आंै खेलाडीको रूपमा सम्मानका लागि मैदान प्रवेश गराउने निर्णय लिएका हौं। उनी सम्मानकी हकदार हुन्। हामी उनको मनोबल नघटोस् भन्ने चाहन्थ्यौं र बिहीबारको निर्णय यसै कारण लिइएको हो।’ 

एन्फा महासचिव इन्द्रमान तुलाधरले पुनमको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाए पनि उनलाई १२औं खेलाडीको रूपमा मैदान प्रवेश गराउने निर्णयबारे भने जानकारी नभएको बताए। ‘पुनमको स्वास्थ्य समस्याका बारेमा हामी जानकार छौं र उनको स्वास्थ्य उपचारको खर्च पनि व्यहोर्छौं,’ इन्द्रमानले भने, ‘तर उनलाई १२औं खेलाडीका रूपमा मैदान प्रवेश गराउने निर्णयबारे संघलाई जानकारी थिएन।’

प्रकाशित: २६ भाद्र २०७८ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App