१५ चैत्र २०८० बिहीबार
खेल

मेसीको कीर्तिमान

लियोनल मेसीले ह्याट्रिक पूरा गर्दै महान् फुटबलर पेलेको नाममा रहेको दक्षिण अमेरिकी फुटबलको कीर्तिमानलाई बिहीबार पछाडि पारेका छन्।

विश्वकप छनोट २०२२ अन्तर्गत बोलिभियामाथि ३–० को जित निकाल्ने क्रममा ह्याट्रिक गरेका मेसीले दक्षिण अमेरिकाका लागि अन्तर्राष्ट्रिय फुटबलमा पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमान पछाडि पारेका हुन्। मेसीले बोलिभियाविरुद्ध खेलको ७७औं, ७८औं र ७९औं अन्तर्राष्ट्रिय गोल गर्दै अर्जेन्टिनालाई आगामी वर्षमा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि खुड्किलो सहज बनाएका छन्।

३४ वर्षीय फ्रान्सेली टोली पेरिस सेन्ट जर्मन (पिएसजी) का फरवार्डले मेसीका लागि अर्जेन्टिनाका लागि १ सय ५३ खेल खेल्दा दक्षिण अमेरिकामा पेलेले बनाएको कीर्तिमान भंग गरेका छन्। मेसीले १४औं मिनेटमा ७७औं गोल पूरा गर्दै पेलेको कीर्तिमान बराबरी गरेका थिए। बोलभियामाथि हाबी हुँदै खेलको ६४औं मिनेटमा अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दा मेसीले पेलेको कीर्तिमानलाई पछाडि पारेका थिए। दुई गोलको अग्रता लिइसकेको अर्जेन्टिनाका लागि मेसीले नै ८६औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरेकका हुन्।

‘म यो समय कुरिरहेको थिएँ,’ भावुक भएका मेसीले भने, ‘म अब खेलमा रमाउन थालेको छु। पर्खाइको समय अन्त्य हुँदा निकै खुसी लागेको छ।’

जितसँगै अर्जेन्टिनाले ८ खेलमा १८ अंक जोडेको छ। अर्जेन्टिना छनोटतालिकाको दोस्रो स्थानमा छ। बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा छ।

विश्वकप छनोटअन्तर्गतकै अर्को खेलमा ब्राजिलले पेरूमथि २–० को जित निकाल्यो। ब्राजिलले पहिलो हाफमा निकालेको २–० को अग्रता नै जितका लागि पर्याप्त भएको थियो। ब्राजिललाई इभर्टन रिबेरोले १५औं मिनेटमा गोलको खाता खोलेका थिए। ४०औं मिनेटमा नेइमारले टोलीका लागि दोस्रो गोल गर्दै ब्राजिललाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा पेरूले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र ब्राजिलले पहिलो हाफको नतिजाबाट जित सुनिश्चित गर्‍यो।  

जितसँगै ब्राजिलले ८ खेलमा २४ अंक जोडेको छ। ब्राजिल तालिकाको शीर्ष स्थानमा छ। पेरू ९ खेलमा आठ अंक जोडेर सातौं स्थानमा छ।

यस्तै अर्को खेलमा कोलम्बियाले चिलीलाई ३–१ ले हराउँदा उरुग्वेले इक्वेडरलाई १–० र पाराग्वेले भेनेजुएलालाई २–१ स्तब्ध बनाए।  

प्रकाशित: २६ भाद्र २०७८ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App