८ वैशाख २०८१ शनिबार
खेल

नेपालको सानदार जित

स्पिनर सन्दीप लाछिमानेको उत्कृष्ट बलिङ प्रेरणामा नेपालले एकदिवसीय क्रिकेटमा सर्वाधिक ठूलो अन्तरको जित निकाल्ने क्रममा शुक्रबार पपुवा न्युगिनीलाई १ सय ५१ रनले स्तब्ध बनाएको छ।

ओमान भ्रमणमा रहेको नेपालले अल अमेरत क्रिकेट ग्राउन्डमा सन्दीपको ६ विकेट प्रेरणामा दोस्रो एकदिवसीयमा पपुवा न्युगिनीमाथि १ सय ५१ रनको फराकिलो जित निकालेको हो। २ सय ३४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.१ ओभरमा ८२ रनमै समेटिँदा नेपालले दुई खेलको शृंखला क्लिन स्विप पनि गर्‍यो।

सन्दीपको घातक बलिङ सामू पपुवा न्युगिनीका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्नै सकेनन्। ५.१ ओभर बलिङ गरेका सन्दीपले ६ विकेट निकाल्दा ११ रन मात्र खर्चिए। नेपालले आफ्नो एकदिवसीय करियरमा युएईविरुद्ध २०१९ मा १ सय ४५ रनको जित निकालेको थियो।

ओपनर टोनी उराको १९ रन नै पपुवा न्युगिनीका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। तेस्रो ओभरको तेस्रो बलदेखि नै पपुवा न्युगिनीले लगातार विकेट गुमायो। तीव्र गतिका बलर सोमपाल कामीले ओपनर लेगा सियाकालाई ४ रनमा बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाए। त्यसपछि उसले एकपछि अर्को विकेट गुमायो। अर्का तीव्र गातिका बलर विक्रम सोबले कप्तान असाद भालालाई १ रनमै पवेलियन फर्काए।

उनी चौथो ओभरको पाँचौं बलमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट भए। त्यसपछि पपुवा न्युगिनीका लागि उरा र चाल्र्स अमिनीले २९ रनको साझेदारी गरे। त्यो नै उसका लागि सर्वाधिक ठूलो साझेदारी रह्यो।

तर, उरालाई रोहित पौडेलले रनआउट गर्दै यो साझेदारी तोडेका थिए। त्यसपछि सन्दीपले पपुवा न्युगिनीको ब्याटिङ ध्वस्त पार्ने क्रममा चौथो, पाँचौं, छैटौं र सातौं नम्बरका ब्याट्सम्यानलाई आउट गरे। उनले १२औं ओभरको दोस्रो बलमा अमिनीलाई १६ रनमा एलबिडब्लु आउट गरे। 

सन्दीपले विकेटकिपर किप्लिङलाई ४ रनमा बोल्ड गर्दा पपुवा न्युगिनी १३.४ ओभरमा ५२–५ को दयनीय अवस्थामा पुग्यो। सन्दीपले १६औं ओभरमा सेसे बाउलाई ११ रन, १८औं ओभरमा गौडी टोकालाई १० रन र सोही ओभरको अन्तिम बलमा चाड सोपरलाई शुन्यमा बोल्ड गरे। त्यससँगै उनले दोस्रो पटक एकदिवसीय करियरमा पाँच विकेट लिए। त्यस्तै सोमपाल, विक्रम र सुशान भारीले १/१ विकेट निकाले।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि २ सय ३३ रन बनाएको थियो। नेपालका लागि युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले सर्वाधिक ८६ रन बनाए। एक पटक जीवनदान पाएका उनले १ सय २३ बलमा २ चौका र ३ छक्का हिर्काए। तल्लो क्रमका ब्याट्सम्यान करण केसीले आक्रामक ब्याटिङ गर्दै २६ बलमा २ चौका र ४ छक्कासहित ४२ रन बनाउँदै नेपालको इनिङ उकासे। यो जोडीले सातौं विकेटका लागि ६६ रनको साझेदारी गरे।

निकै खराब सुरुआत गरेको नेपालले ३.५ ओभरमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई समान ३ रनमा गुमाउँदा खराब सुरुआत गरेको थियो। तर, त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि रोहितसँग ८९ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासे। ज्ञानेन्द्र ७० बलमा ३ चौका र २ छक्कासहित ४५ रन बनाए।नेपालले ४९औं ओभरको तेस्रो र चौथो बलमा लगातार रोहित र करणलाई गुमाएको थियो। करण तेस्रो बलमा ठूलो सट खेल्ने चक्करमा कप्तान असाद भालाबाट क्याच आउट हुँदा अर्धशतकबाट चुके।

रोहित भने स्कुप सट खेल्ने क्रममा आउट हुँदा आफ्नो करिअरकै पहिलो शतक बनाउन असफल भए। नेपालले अन्तिम एक रन  जोड्दा रोहित र करणसहित चार विकेट गुमाएको थियो। पपुवा न्युगिनीको बलिङमा सोपरले तीन विकेट लिँदा काबुआ मोरिया र नर्भन भानुआ २ विकेट निकाले।अमिनिको नाममा एक विकेट रह्यो।

प्रकाशित: २६ भाद्र २०७८ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App