७ वैशाख २०८१ शुक्रबार
खेल

अस्ट्रेलियाद्वारा टेस्ट रद्द गर्ने चेतावनी

तालिवानले अफगानिस्तानका महिला खेलाडीलाई खेलकुदमा प्रतिबन्धित गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै अस्ट्रेलियाले अफगानिस्तानसँगको ऐतिहासिक पहिलो टेस्ट म्याच रद्द गर्न सक्ने चेतावनी दिएको छ।  

अस्ट्रेलियाको क्रिकेटको सर्वोच्च निकाय क्रिकेट अस्ट्रेलिया (सिए) ले महिला खेलाडीको विषय गम्भीर भएको भन्दै नोभेम्बरमा तय भएको टेस्ट म्याच रद्द हुने संकेत गरेको हो।  तालिवानका सहायक प्रमुख अबदुल्लाह वासिकले महिलाले क्रिकेट खेल्ने छैनन् भन्ने अभिव्यक्ति सार्वजनिक गरेको भन्दै सिएले सच्याउन पनि आग्रह गरेको छ।  अफगानिस्तानमा त्यहाँको सरकारलाई अपदस्त गर्दै तालिवानले सत्ता कब्जा लिएपछि महिला क्रिकेटरको भविष्य निकै अन्योल भएको छ।  

‘मेरो विचारमा अब महिलाले क्रिकेट खेल्ने छैनन्, किनभने महिलाले क्रिकेट खेल्न आवश्यक नै छैन,’ वासिकले अस्ट्रेलियाको एक सञ्चारमाध्यममा बुधबार दिएको अभिव्यक्तिमा भनेका छन्, ‘क्रिकेटमा महिलाको अनुहार र पूरा शरीर छेकिँदैन।  नछेकिएको अवस्थामा क्रिकेट खेल्न सहज हुँदैन, जुन इस्लामले वर्जित गरेको छ। ’

‘अहिलेको युग फोटो र भिडियोको हो। र अहिले सबैले हेर्ने गरेका छन्।  स्लाम र स्लामिक इमिरेट्सले महिलालाई क्रिकेट र खेलकुदजन्य गतिविधिमा संलग्न हुन दिँदैन, किनभने उनीहरूको रूप, रङ र शारीरिक बनावट सबैले थाहा पाउँछन्,’ वासिकले थपे।  

यद्यपि तालिवानले अस्ट्रेलियासँग तय भएको पुरुष टोलीको पहिलो टेस्ट म्याचलाई भने हस्तक्षेप नगर्ने बताएको छ।  यसअघि नै निर्धारित भएकाले उनीहरूको कुनै हस्तक्षेप नहुने बताएको छ।  अस्ट्रेलिया र अफगानिस्तानको पहिलो टेस्ट म्याच नोभेम्बर २७ देखि आयोजना गर्ने तालिका छ।  

यस्तै क्रिकेट अस्ट्रेलियाले महिला क्रिकेटले पाएको सफलता विश्वमा चर्चा भइरहेको अवस्थामा वर्जित गर्न खोज्नु राम्रो काम नभएको बताएको छ।  

‘हाम्रो उदेश्य खेलकुद सबैका लागि समान हुनुपर्छ।  समान तरिकाले सबैलाई अवसर दिनुपर्छ।  साथै महिला–पुरुषको क्रिकेटलाई समान तरिकाबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता हो,’ क्रिकेट अस्ट्रेलियाले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘यदि सञ्चारमाध्ययमा आएका यस्ता खबर सत्य हुन् भने अफगानिस्तानसँग तय भएको खेल बाध्यकारी हुँदै रद्द गर्नुपर्ने हुन्छ, जुन क्रिकेट इतिहासमा हामीले भोग्नुपरेको तीतो अनुभव हुनेछ। ’

तालिवान सत्तामा आइसकेपछि अफगानिस्तानमा चल्दै गरेको केही मनोरञ्जनात्मक कार्यक्रमदेखि केही खेलकुद गतिविधिमा पनि रोकावट भएको छ।  जुन अन्तर्राष्ट्रिय रूपमा कडा तरिकाले निन्दा हुँदै आएको छ।  

प्रकाशित: २५ भाद्र २०७८ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App