११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

लिथुआनियामाथि इटालीको रबाफ

मार्च २०१९ देखि राष्ट्रिय टोलीमा अटाउँदै आएका मोइसे केनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेको दिन इटालीले कतार विश्वकप छनोटअन्तर्गतको खेलमा बुधबार लिथुआनियामाथि ५–० को फराकिलो जित निकालेको छ।  

विश्वकप छनोटअन्तर्गत बुधबारकै खेलमा इङ्ल्यान्ड पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिँदा जर्मनीले आइसल्यान्डमाथि ४–० को सहज जित निकालेको छ। लिथुआनियामाथि सहज जित निकालेको इटालीले यसअघि भएका दुई खेलमा बराबरी खेलेको थियो। समूह ‘सी’ मा ६ खेलबाट १४ अंक जोडेको इटाली शीर्ष स्थानमा छ। सँगै समूह ‘सी’ मा रहेको स्विट्जरल्यान्ड ४ खेलबाट ८ अंक बनाउँदै समूहतालिकाको दोस्रो स्थानमा छ।  

युरोपियन च्याम्पियन इटालीले बुधबार निकालेको जितसँगै सर्वाधिक ३६ खेलमा अपराजित यात्रालाई कायम राखेर कीर्तिमान बनाएको छ। यसअघि भएको खेलमा इटाली स्विट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको थियो। लिथुआनियामाथि निकै हाबी भएको खेलमा रोबर्टाे मानचिनी नेतृत्वको टोलीलाई सुखद नतिजा दिलाउनका लािग मोइस केनले दुई गोल गर्दा गिभानी डी लोरेन्जो, जियाकोमो रासपाडोरीले एक/एक गोल गरे।  

इटालीले गत साता नै सर्वाधिक अपराजित टिम ब्राजिलसँगको कीर्तिमान बराबरी गरेको थियो। ब्राजिल सन् १९९३ देखि १९९६ सम्म ३६ खेलमा अपराजित रहेको थियो। यस्तै फराकिलो जित निकाल्ने क्रममा इटालीको राष्ट्रिय टोलीले इतिहासमा पहिलो पटक ३० मिनेटभित्र चार गोल पनि गरेको छ। सन् २०१८ मा नेसन्स लिगमा पोर्चुगलसँग पराजित भएपछि इटाली ३६औं खेलसम्म अपराजित छ।

विश्वकप छनोटअन्तर्गत अर्को खेलमा पोल्यान्डले खेलको अन्तिम समयमा गोल फर्काउँदै इङ्ल्यान्डसँग अंक खोस्न सफल भयो। इङ्लिस टोलीका ह्यारी केनले ७२औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अघि बढाएका थिए। इन्जुरी समयमा रोबर्टाे लेवान्डोवस्कीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डेमियन स्जिमास्कीले बराबरी गोल फर्काएका थिए। 

ग्यारेथ साउथगेटको टोलीले खेलअवधिभर पोल्यान्डलाई दबाबमा राखेको थियो। तर खेलको अन्तिम समय सम्हालिन नसक्दा इङ्ल्यान्ड निराशाजनक बराबरी बोहोर्न पुग्यो। समूह ‘आई’ को शीर्ष टोली इङ्ल्यान्डले दोस्रो स्थानको अल्बानियासँग ४ अंकको अग्रता बनाएको छ।  

अर्को खेलमा जर्मनीले आइसल्यान्डलाई ४–० ले पराजित गर्दा एन्टोनिओ रुडिगर, टिमो वेर्नर, लेरोई साने र सर्जेई जिनाब्रीले गोल गरे। जिनाब्रीले चौथो मिनेटमा गोल गरी जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए। रुडिगरले २४औँ मिनेटमा अग्रता दोब्बर पारे। सानेले ५६औँ तथा वेर्नेरले ८८औँ मिनेटमा गोल गरेका हुन्।

जर्मनी समूहको शीर्ष स्थानमा छ। तर दोस्रो स्थानको आर्मेनियासँग चार अंकको अग्रता लिएको छ। आर्मेनियाले भने लिच्टेनिस्टिनसँग बराबरी खेल्दै अंक बाँड्यो।विश्व नम्बर एक बेल्जियमले अपराजित यात्रालाई कायम राख्ने क्रममा बेलारुसलाई १–० ले हरायो।

प्रकाशित: २५ भाद्र २०७८ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App