७ वैशाख २०८१ शुक्रबार
खेल

फ्रान्सले जितविहीन यात्रा टुंग्यायो

एन्टोनियो ग्रिजम्यानको दुई गोल सहयोगमा फ्रान्सले कतार विश्वकप छनोट २०२२ अन्तर्गतको खेलमा मंगलबार फिनल्यान्डमाथि २–० को जित निकाल्दा पछिल्ला पाँच खेलमा भएको जितविहीन यात्रालाई टुंग्याएको छ। विश्वकप विजेता फ्रान्सले छनोट खेलमा फिनल्यान्डमाथि जित निकाल्दा स्पेनिस क्लब एट्लेटिको मड्रिडका ३० वर्षीय स्ट्राइकर ग्रिजम्यानले ४१ गोल गर्दै कीर्तिमान बनाएको मिचेल प्लाटिनीसँगको गोलसंख्या बराबरी गरेका छन्। 

उनी थिएरी हेनरीभन्दा १० तथा ओलिभर जिरौडभन्दा पाँच गोलले पछि छन्। ‘मेरो प्रदर्शनबाट आज म सन्तुष्ट छु। आजको खेलबाट मैले मिचेल प्लाटिनीको गोलसंख्यासँग बराबरी गर्न पाउँदा खुसी छु,’ फ्रान्सलाई दुई गोल गर्दै सुखद नतिजा दिलाएका ग्रिजम्यानले भने, ‘पाँच खेल बराबरी खेलेपछि छैटौं खेलमा सुखद नतिजा निकालेका छौं। सुखद नतिजा निकाल्दा हामी निकै खुसी छौं।’

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रान्सले फिनल्यान्डविरुद्ध २५औं मिनेटमा अग्रता लिएको थियो। ग्रिजम्यानले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। गोल गरेसँगै उच्च मनोबलका साथ खेल प्रदर्शन गरेको फ्रान्सले पहिलो हाफमा अन्य गोलका लागि अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेको थियो। यस्तै फिनल्यान्डले पनि गोल फर्काउन निकै मिहिनेत गरेको थियो। पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्दै खेल देखाएको फ्रान्सले ५३औं मिनेटमा दोस्रो गोल गर्‍यो।

ग्रिजम्यानले नै टोलीका लागि दोस्रो गोल गर्न सफल भएका थिए। बाँकी समयमा फिनल्यान्ड खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र फ्रान्सले पछिल्लो छैटौं खेलमा सुखद नतिजा निकाल्न सक्यो। जित निकालेको फ्रान्सले ६ खेलबाट तालिकामा १२ अंक बनाएको छ। फ्रान्स समूह ‘डी’ को शीर्ष स्थानमा छ। एक खेल कम खेलेर समूहतालिकाको दोस्रो स्थानमा रहेको युक्रेनभन्दा फ्रान्स ७ अंकले अगाडि छ। उता पराजित फिनल्यान्डको भने ४ खेलबाट ५ अंक छ। 

फिनल्यान्ड तालिकाको तेस्रो स्थानमा छ। ‘हामीले हाम्रो स्वाभाविक खेल अझै देखाउन सकेका छैनौं। तर हामीले पछिल्लो खेलमा भन्दा सुधारिएको खेल अवश्य खेलेका हौं,’ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले भने, ‘तालिकामा पाएको अग्रताले हामीलाई केही राहत मिलेको छ। यस अवस्थामा हामीले अघिल्लो चरण प्रवेश गर्न सहज भएको छ। आउँदो नोभेम्बरमा हामीले त्यो लक्ष्यलाई पूरा गर्नुपर्छ।’ विश्वकप छनोटअन्तर्गत मंगलबार नै भएका खेलमा बोस्निया–हर्जगोभिना र कजाखस्तानले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्। यस्तै डेनमार्कले इजरायललाई ५–०  तथा नर्वेले जिब्राल्टरलाई ५–१ ले पराजित गरे। 

प्रकाशित: २४ भाद्र २०७८ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App