१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रंगशालामा भौतिक उपस्थितिः खेलाडी र दर्शक दुवै प्रसन्न

तस्बिरहरु: दीपेश श्रेष्ठ

नेपाली खेलकुदमा दर्शकको सधैँ दरिलो उपस्थिति रहँदै आएको छ, विशेष गरी फुटबल र क्रिकेटमा। चाहे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले खेल्ने खेल होस् अथवा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाली राष्ट्रिय टोलीको फुटबलमा दर्शकको उपस्थिति सधैँ लोभलाग्दो रहँदै आएको छ। यसो त एसोसिएट राष्ट्रमध्ये नेपालमा हुने खेलमा नेपाली दर्शककको उपस्थितिले विदेशी टोलीसमेत दंग पर्दथे।  

कोभिड १९ महामरीपछि नेपाली दर्शकले विरलै मात्र मैदानमा उपस्थित भएर खेल हेर्न अवसर पाए। लगातारको लकडाउन र निशेधाज्ञाले सामान्य जनजीवन अगाडि बढाउन कठिन भएको समयमा खेलकुद गतिविधि पनि प्रायः ठप्प थियो। गत वर्ष नेपालले विश्वकप छनोट २०२२ अन्तर्गतका खेलहरू दरशरथ रंगशालामा खेल्ने तय थियो तर कोभिड १९ संक्रमणको त्रास कायम रहेको भन्दै एएफसीले तटस्थ स्थानका रूपमा कतारमा खेल आयोजना गरेसँगै नेपाली समर्थकको लामो समयपछि घरेलु मैदानमा खेल हेर्ने इच्छा अधुरै रह्यो।

विं स २०७२ को महाभूकम्पपछि दशरथ रंगशालाको निर्माण कार्यले समयमा पूर्णता नपाउँदा नेपाली समर्थकले घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टोलीको खेल हेर्नका लागि १३औं साफ च्याम्पियनसिपसम्म कुर्नुपरेको थियो। त्यसपछि आयोजना भएका सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दर्शकको न्यून उपस्थिति थियो। त्यसो त नेपालले २०७७ चैत्रमा दशरथ रंगशाालामा खेल्ने विश्वकप २०२२ अन्तर्गतका खेलहरू अन्यत्र सरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनोट खेलको तयारीस्वरूप नेपाल, बंगलादेश र किर्गिस्तानको यु–२३ टोलीबीच थ्री नेसन्स कपको आयोजना गर्‍यो। सो प्रतियोगिताबाट नेपाली समर्थक करिब १ वर्षको अन्तरालपछि रंगशालामा फर्किएका थिए। 

त्यस्तै नेपालले नै आयोजना गरेको नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय ट्वान्टी–२० शृंखला क्रिकेट प्रतियोगितामा पनि त्रिवि क्रिकेट मैदानमा दर्शक प्रवेशको अनुमति दिएको थियो। तर कोभिड १९ संक्रमणको दर बढेको भन्दै सरकारले सो शृंखलाअन्तर्गत समूहचरणको अन्तिम केही खेलसहित फाइनल खेलमा दर्शक प्रवेशमा रोक लाएको थियो। यद्यपि मैदानभित्र प्रवेश अनुमति नपाए पनि उनीहरूले मैदानबाहिर उल्लेख्य रूपमा उपस्थित हुँदै नेपाली टोलीको हौसला बढाएका थिए।

वैशाखमा नेपालमा पहिलो पटक आयोजना भएको नेपाल सुपर लिग (एनएसएल) ले पनि कोभडि १९ संक्रमणको त्रासका बीच बिनादर्शक प्रतियोगिता सम्पन्न गर्‍यो। प्रतियोगिता आयोजना भएको केही दिनमै निशेषाज्ञा जारी भएपछि प्रतियोगिता आयोजना हुनेमै शंका उठिरहेको बेला प्रतियोगिता सम्पन्न भएको थियो। मैदानमा प्रत्यक्ष रूपमा दर्शक प्रवेशको अनुमति नपाए पनि पहिलो पटक नेपालमा आयोजना भएको फेन्चाइज फुटबल लिगलाई घरमै बसेर राम्रो साथ दिएका थिए।

पहिलो पटक आयोजना भएको प्रतियागिताबाट खेलाडीले सोचेभन्दा राम्रो आम्दानी गरे। लामो समयदेखि अवरुद्ध क्लब फुटबल गतिविधि चलायमान हुँदा खुसी देखिएका खेलाडी दर्शकबिना खेल्नुपर्दा खल्लो भएको बताउँथे। एक वर्ष खेलकुद गतिविधि ठप्प। घरेलु मैदानमा आयोजना भएका दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा आंशिक प्रवेशको अनुमति र पुनः मैदान प्रवशमा रोक। नेपाली दर्शक पुनः कहिले मैदानमा प्रत्यक्ष उपस्थित भएर खेल हेर्न पाइन्छ भन्ने पर्खाइमा थिए। अन्ततः ५ महिनाको पर्खाइपछि नेपाल र भारतबीच बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलसँगै नेपाली दर्शकको मैदान फर्कने इच्छा पूरा भएको छ।  

नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल तय भए पनि काठमाडौं उपत्यकाका जारी निशेधाज्ञाका कारण दर्शकले मैदान प्रवेशको अनुमति पाउने सम्भावना न्यून थियो। सिसिएमसीले बुधबार मात्र एन्फालाई दर्शक क्षमताको एक तिहाइ राखेर खेल आयोजना गर्न अनुमति दिएको थियो। साथै सिसिएमसीले स्वास्थ्य मापदण्डसमेत पालना गर्न आग्रह गरेको थियो।

त्यसैले एन्फाले टिकट काटेर खेल हेर्न आउने दर्शकका लागि अनिवार्य रूपमा कोरोनाविरुद्धको दुवै डोज खोप लाएको कार्ड वा पिसिआर रिपोर्टका साथ मैदान आउने दर्शकलाई अनुरोध गरेको थियो। ‘सुरुमा खोप लाएको कार्ड वा पिसिआर रिपोर्टका साथ मैदान लिएर खेल हेर्न जानुपर्ने खबर पढ्दा एन्फाले किन झन्झटिलो नियम ल्याएको हो भन्ने लागेको थियो,’ टिकट काट्दै गरेका सुमन इटनीले भने, ‘तर नेपालको खेल हेर्न आतुर दर्शकका लागि त्यो प्रक्रिया झन्झटिलो लागेको देखिएन।

सबै खेल हेर्न उत्साही थिए।आशा छ, अबका दिनमा हामीले मैदानमा उपस्थित भएर सधैँ नेपालको खेल हेर्न पाउँछाैँ।’ स्वास्थ्य मन्त्रालयले कोभिड १९ महामारीको जोखिमपूर्ण रूपमा अन्त्य नभइसकेकाले अझै स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न र अनावश्यक भीडभाड नगर्न बारम्बार आग्रह गर्दै आएको छ। जनस्वास्थ निर्देशनालयका निर्देशक डा.शेरबहादुर पुन कोभिड १९ संक्रमण कायम रहेकाले धेरै भीडभाड हुने कार्य गर्न नहुने सुझाउँछन्।

‘संक्रमण दर अझ पनि दैनिक हजारको हराहारीमा छ। त्यसैले कोभिड १९ संक्रमणको जोखिम पूर्ण रूपमा हटिसकेको छैन,’ पुनले भने, ‘हामीले भीडभाड हुने कार्यक्रमहरू आयोजना नगर्न आग्रह गर्दै आएका छौं। नेपाल र भारतबीचको खेलमा दर्शक क्षमताको एक तिहाइ दर्शकलाई मैदान प्रवेशमा अनुमति दिइयो। 

भीडभाड हुने स्थलमा जोखिमको संक्रमण सधैँ उच्च हुने गर्दछ। तर खेलदौरान केकस्तो स्वास्थ्य मापदण्ड पालना गरिएको छ, त्यसमा पनि भर पर्छ। मैदानमा उपस्थित दर्शकले टोलीको सफलतामा धैर्य गुमाउँदा मास्क खोल्ने गल्ती गर्न सक्छन्। यो पक्षका साथै दर्शक राख्दा सामाजिक दूरी कायम गरिएको छ वा छैन भन्ने पक्षले पनि धेरै अर्थ राख्छ।’

प्रकाशित: १९ भाद्र २०७८ ०२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App