८ वैशाख २०८१ शनिबार
खेल

पहिलो खेलमा बराबरी

भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा विपक्षीले गरेको प्रहार बचाउँदै नेपाली गोलकिपर तथा कप्तान किरणकुमार लिम्बु (हरियो)। तस्बिर: दीपेश श्रेष्ठ/नागरिक

कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले राष्ट्रिय टोलीबाट सर्वाधिक खेलको कीर्तिमान बराबरी गरेको दिन नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को नतिजा निकालेको छ।

बिहीबार त्रिपुेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अग्रता जोगाउन नसक्दा भारतसँग बराबरी गरेको हो। ३६औं मिनेटमा स्ट्राइकर अन्जन विष्टको गोलमा नेपालले अग्रता लिएको थियो।भारतका रक्षक चिनग्लेनसाना सिंह कोन्सामले दिएको ब्याकपास गोलकिपर गुरूप्रीत सिंहले नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई अन्जनले जाली चुमाएका थिए।६०औं मिनेटमा अनिरुद्ध थापाको गोलमा भारत खेलमा फर्किएको थियो।भारतका कप्तान सुनील क्षेत्रीले प्रहार गरेको बल नेपालका गोलकिपर किरणले पन्च गरे पनि राम्रोसँग क्लियर नहुँदा सोही बललाई थापाले पोस्टको दिशा दिएका थिए।

सन् २००८ मा मकाओमा भएको एएफसी च्यालेन्ज कप छनोटमा कम्बोडियाविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका किरणले पूर्वकप्तान विराज महर्जनको नाममा रहेको सर्वाधिक ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका हुन्।विराजले गत चैतमा काठमाडौंमा सम्पन्न थ्री नेसन्स कपअन्तर्गत बंगलादेशविरुद्धको फाइनल खेलसँगै राष्ट्रिय टोलीबाट संन्यास लिइसकेका छन्।

भारतविरुद्धको खेलसँगै नीतिन थापाले नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरे।नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलसँगै करिब ५ महिनापछि दर्शक मैदान फर्किएका थिए। चैतमा सम्पन्न थ्री नेसन्स कपमा दर्शक प्रवेश गराए पनि वैशाखमा भएको नेपाल सुपर लिग (एनएसएल) मा भने दर्शकलाई प्रवेशको अनुमति दिइएको थिएन।नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जितका लागि खेले पनि सोचेअनुरूपको नतिजा ल्याउन नसकेको भन्दै नेपाली समर्थकसँग माफी मागेका छन्।

‘मलाई माफ गर्नुहोस्, हामीले राम्रो खेले पनि सुखद नतिजा ल्याउन सकेनौं,’ अल्मुताइरीले भने, ‘आशा छ आइतबार हुने दोस्रो मैत्रीपूर्ण खेलमा हामीले सुखद नतिजा ल्याउनेछौं।’ 

अल्मुताइरीले टोलीमा धेरै सुधारको आवश्यकता रहे पनि कुनकुन पक्षमा सुधार आवश्यक रहेको भन्ने खुलाउन चाहेनन्।‘टोलीले केही गल्ती गरेको छ, तर त्यो गल्तीको सुधार तपाईंहरूले साफ च्याम्पियनसिपमा देख्न सक्नुहुन्छ,’ अल्मुताइरीले भने।यता भारतका प्रशिक्षक इगोर स्टिमाकले टोलीले सोचेअनुरूपको प्रदर्शन गर्न नसकेको बताए।

‘नेपालविरुद्ध हामी पहिलो हाफमा पूर्ण रूपमा दबाबमा खेल्यौं।गोलकिपर र रक्षकबीचको तालमेल अभावमा गोल खाएपछि टोलीमाथि दबाब थपियो,’ स्टिमाकले भने, ‘नेपालले भिजेको मैदानको फाइदा उठाउनुका साथै काउन्टर रणनीति लिएको थियो जसमा ऊ सफल रह्यो। नेपालका खेलाडीले काउन्टर मुभमा खतरनाक क्रससमेत गरेका थिए।हामीले दोस्रो हाफमा भने धेरै उत्कृष्ट खेल्यौं। केही गोलका अवसर समेत सिर्जना गर्‍यौं तर पाएका अवसरको सदुपयोग गर्न नसक्दा सुखद नतिजाबाट वञ्चित भयौं।’ दुई मैत्रीपूर्ण खेलअन्तर्गत दोस्रो खेल आइतबार हुनेछ।

नेपाल र भारतबीचको यो २०औं खेल हो, जसमा भारतले १३ खेल जितेको छ। नेपालले २ खेल जित्दा ५ खेल बराबरीमा सकिएका छन्।दुवै टोली माल्दिभ्समा अक्टोबर पहिलो साताबाट सुरु हुने साफ च्याम्पियनसिपका साथै एसिया कप छनोटको तयारीमा छन्। साफ च्याम्पियनसिपको ११औं संस्करण २०२१ असोज १५ देखि ३० सम्म आयोजना हुँदै छ।  

प्रकाशित: १८ भाद्र २०७८ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App