७ वैशाख २०८१ शुक्रबार
खेल

मिहिनेतले राष्ट्रिय टोलीमा स्थान

नेपाली महिला फुटबलका लागि प्रीति राई नयाँ नाम होइन। विभिन्न उमेरसमूहमा नेपाली टोलीको कप्तानीसमेत सम्हाल्दै आफ्नो क्षमता प्रमाणित गरिसकेकी प्रीतिले एपिएफबाट आफूलाई क्लबस्तरमा समेत प्रमाणित गरिसकेकी छिन्।

सिनियर टोलीमा स्थान बनाउने प्रीतिको सपना यस पटक भने पूरा भएको छ। मंगलबार मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कप २०२२ छनोटका लागि घोषणा गरेको २३ सदस्यीय टोलीमा मिडफिल्डर प्रीतिसहित स्ट्राइकर रश्मि घिसिङ, सविता राना, रजनी थोकर, रक्षक सृजना सिंह र निशा थोकरले पहिलो पटक सिनियर नेपाली महिला राष्ट्रिय टोलीमा स्थान पक्का गरेका हुन्। राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएसँगै प्रीतिले आफ्नो लामो समयदेखिको मिहिनेतको फल मिलेको प्रतिक्रिया दिइन्।  

प्रीति राई

‘म पहिला पनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परे पनि अन्तिम टोलीमा भने कहिल्यै परेको थिइनँ। यस पटक म टोलीमा स्थान बनाउन सफल भएँ,’ प्रीतिले भनिन्, ‘एकदम खुसी लागेको छ। लामो समयदेखि राष्ट्रिय टोलीमा स्थान बनाउन गरेको मिहिनेतको फल अहिले आएर मिलेको छ। अभ्यास निकै राम्रो भइरहेको छ। सुरुको केही दिनमा अभ्यस्त हुन केही असहज भए पनि अहिले भने टोलीसँग घुलमिल भइसकेकी छु। दिदीहरूले धेरै सहयोग गर्नुभएको छ। मलाई पहिलो पटक टोलीमा स्थान बनाएको छु जस्तो अनुभूति नै भएको छैन।’

प्रीतिले क्लब फुटबल र राष्ट्रिय फुटबल टोलीबाट खेल्नुमा धेरै अन्तर भएको समेत बताइन्। ‘क्लबबाट खेल्दा ढुक्क भएर मज्जाले खेलिन्थ्यो। दबाब निकै कम हुन्थ्यो, तर राष्ट्रिय टोलीमा आएपछि भने केही दबाब हुँदो रहेछ,’ प्रीतिले भनिन्, ‘मैले धेरै कुरा सिक्ने अवसर पाएको छु। राष्ट्रिय टोलीमा आफ्नो उपस्थिति प्रमाणित गर्न निकै माथिल्लो स्तरको फुटबल खेल्न आवश्यक छ।’ उनले आफूलाई नेपाली फुटबलको भविष्य भन्नु नै आफ्ना लागि प्रेरणा भएको र त्यसलाई कहिल्यै पनि दबाबका रूपमा नलिएको समेत बताइन्। ‘दबाब लियो भने प्रदर्शनमा नै असर पर्छ,’ उनले थपिन्, ‘मिहिनेतले नै आज यो स्तरसम्म आएको छु। 

म अझ योभन्दा माथिल्लो स्तरमा जान प्रयास गरिरहेको छु। सिनियर खेलाडीसँग खेल्न पाउँदा मैले आफूलाई भाग्यमानी ठान्दै उनीहरूको प्रतिस्र्धीका रूपमा समेत लिएको छु। मैले टोलीमा पहिलो पटक समावेश भएको जुनियर खेलाडी हुँ भन्नु भन्दा पनि म उनीहरूको टोलीको सहयात्री हुँ भनेर लिएको छु। म जिम्मेवारी पाए आफ्नो शतप्रतिशत खेल दिनेमा प्रतिबद्ध छु। टोलीमा अवसर पाउनेमा म आशावादी पनि छु। प्रीतिले घुँडाको शल्यक्रियाका कारण टोलीबाहिर रहेकी स्ट्राइकर सावित्रा भण्डारीको कमी हुने पनि बताइन्। उनले आफूले टोलीमा सावित्राको स्थान लिने भन्दा पनि आफ्ना लागि आफंैे स्थान बनाउन केन्द्रित रहेको समेत बताइन्।

सन्तुलित टोली, सुखद नतिजाको आशा  

यता नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टोलीमा अनुभवीका साथै युवा खेलाडीको बाहुल्य रहेकाले एएफसी महिला एसियन कप २०२२ को छनोट चरणमा सुखद नतिजा ल्याउनेमा आशावादी रहेको बताए। ‘तयारी राम्रो भइरहेको छ। खेलाडीहरू निकै उत्साही छन्,’ फिलिप्सले भने, ‘हाम्रो लक्ष्य एसिया कपमा छनोट हुनु नै हो र त्यसका लागि टोलीले राम्रो तयारी गरिरहेको छ। खेलाडीहरूले दिनप्रतिदिन आफ्नो प्रदर्शन सुधार गरिरहेका छन्।  

फिलिप्सले टोलीमा पहिलो पटक स्थान बनाएका खेलाडीले टोलीमा विशेष ऊर्जा ल्याएको समेत बताए। साथै उनले प्रस्ट रूपमा कप्तान रेनुका नगरकोटीलगायत अन्य सिनियर खेलाडीलाई आफ्नो क्षमता प्रमाणित गर्ने अन्तिम अवसर रहेकाले सोहीअनुरूपको प्रदर्शन गर्न समेत निर्देशन दिएको बताए।

उनले उज्वेकिस्तान भ्रमणअघि बंगलादेशविरुद्ध यसै महिनाका लागि तय भएको दुई मैत्रीपूर्ण खेलबाट टोलीको प्रदर्शन सुधारमा टेवा पुर्‍याउने समेत बताए। नेपालले भदौ २४ र २७ गते बंगलादेशविरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछ। ‘बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तय भइसकेको छ। भारतले पनि नेपालसँग मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको छ।

 सम्भवतः शुक्रबारसम्म भारतविरुद्धको मैत्रीपूर्ण खेलका बारेमा निर्णय हुनेछ,’ उनले भने, ‘सीमित खेलाडी (३५) बाट अन्तिम टोली(२३) छान्न निकै कठिन भयो। हामीले अहिलेसम्म फिटनेसमा मात्र ध्यान दिएका थियौं। अन्तिम टोली छनोट भइसकेको छ। अब हामी रणनीतिक खेलमा समेत केन्द्रित हुन्छाैँ।

एएफसी महिला एसियन कप २०२२ छनोटको खेलतालिका सार्वजनिक हुँदा छनोटचरण नेपालमै हुने बताए पनि कोरोना संक्रमणको त्रासका कारण प्रतियोगिता तटस्थ स्थानका रूपमा उज्वेकिस्तानको आयोजनामा हुन लागेको हो। समूह ‘बी’ मा रहेको नेपालले असोज २ मा समूहचरणको पहिलो खेलमा फिलिपिन्सको सामना गर्नेछ भने दोस्रो खेलमा असोज ५ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ। प्रत्येक समूहको शीर्ष टोली अर्को वर्ष भारतमा आयोजना हुने एसिया कप २०२२ का लागि छनोट हुनेछ। त्यस्तै कप्तान रेनुका नगरकोटीले पनि युवा तथा अनुभवी खेलाडीको सन्तुलन रहेकाले छनोट चरणमा नेपालले सुखद नतिजा ल्याउनेमा विश्वस्त रहेको बताइन्।

‘टोलीमा भित्रिएका नयाँ खेलाडी निकै क्षमतावान छन्,’ रेनुकाले भनिन्, ‘छनोट प्रतियोगिता हाम्रा लागि आफ्नो क्षमता प्रमाणित गर्ने सुनौलो अवसरसमेत हो। स्ट्राइकर सावित्रा भण्डारीको स्थान तत्काल टोलीमा कसले लिन्छ त्यो पछि तय होला तर उनको अनुपस्थितिले टोली निराश भइहाल्नुपर्ने अवस्था भने छैन।’

प्रकाशित: ११ भाद्र २०७८ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App