६ वैशाख २०८१ बिहीबार
खेल

सञ्चितको किक बक्सिङ मोह

आफ्ना बुबा पूर्ण साहीले कहिलेकाहि टोल छिमेकमा हुने कराते प्रतियोगिता हेर्न लगेसँगै सञ्जित साही खेलकुदतर्फ आकर्षित भएका थिए। सहिद धर्मभक्त विद्यालयमा कक्षा २ मा पढ्दै गर्दा उनी तेक्वान्दो खेलमा पनि भर्ना भए। विद्यालयमा तेक्वान्दो सिके पनि चञ्चले स्वभावका सञ्जितले खेलकुदमै लाग्छु भन्ने विरलै सोचेका थिए। उनी टेलिभिजनमा किक बक्सिङ पनि खुबै हेर्थे। त्यसैले होला बक्सिङप्रति सञ्जित निकै आकर्षित हुन थाले।  

उनलाई किक बक्सिङ खेल्ने रहर बढ्न थाल्यो। तर, प्रशिक्षण लिन जान्छु भनेर उनले घरमा भन्न सकेनन्। कक्षा ९ सम्म तेक्वान्दोमै लागेका सञ्जितमा किक बक्सिङ खेल्ने चाहना हुँदाहुँदै घरमा केही भन्ने हुन् की भन्ने डरले उनले आफ्नो इच्छा दबाए। कक्षा ९ मा पढ्दा सहपाठीमाथि कुटपिट गरेको आरोपमा विद्यालयले उनलाई रेस्टिकेट गर्‍यो। त्यसपछि उनी ब्राइटफ्युचर एकेडेमीमा भर्ना भए। ब्राइटफ्युचरका साथीहरू पनि बक्सिङ खेल्ने रहेछन्। जसले गर्दा उनलाई पनि बक्सिङमा लाग्न थप प्रेरणा मिल्यो। सञ्जितको नयाँ साथीहरू सधैं त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बक्सिङ प्रशिक्षण लिन जाने गर्दथे।  

उनले पनि घरमा बक्सिङ प्रशिक्षणमा भर्ना गरिदिन भने। तर, सञ्जितका बुबाआमाले उनको कुरामा वास्ता गरेनन्। त्यसैले फुलकन्ट्याक्ट खेलमा लाग्ने उनको इच्छा पुनः अपूरो बन्यो। अन्ततः सञ्जितले ट्युसन पढ्ने बहानामा लुकिछिपी बक्सिङ प्रशिक्षणमा सहभागी हुने जुक्ति निकाले। छोराले ट्युसन पढ्छु भनेपछि पूर्ण साही त्यसमा सहमत भए। ‘वि.सं.२०६८ सालमा म ट्युसनको बहाना गर्दै बक्सिङ प्रशिक्षणमा भर्ना भएँ,’ सञ्जितले भने, ‘तर विडम्बना मेरा साथीहरू कभर्डहलबाट बक्सिङ प्रशिक्षण गर्न टीकाथली जाने भए। मैले चाहि राखेपमा प्रशिक्षक दीपक श्रेष्ठबाट किक बक्सिङ सिक्ने निधो गरें।’

प्रशिक्षणको शुल्क तिर्न उनीसँगै पैसा भने थिएन। त्यसले गर्दा उनलाई निकै समस्या पर्ने गर्दथ्यो। ‘घरबाट दिने बस भाडा र खाजाको रकम बचाएर म किक बक्सिङ प्रशिक्षणमा सहभागी भएँ। तर मेरो खेलबारे थाहा पाउनु भयो भने के होला भन्ने डर लागिरहन्थ्यो,’ उनले थपे, ‘केही समय त घरमा ट्युसन पढिरहेको छु भन्ने भ्रम पार्न सफल भएँ। तर एकदिन किक बक्सिङ खेल्दा मेरो मुखमा चोट लाग्यो। घरमा त्यो चोट देखेपछि बुबाले कहाँ झगडा गरिस् भनेर निकै गाली पनि गर्नु भयो।’ तर, पनि उनले आफ्ना पितालाई बक्सिङ खेल्छु भन्ने आँट गर्न सकेनन्।  

‘किक बक्सिङ प्रशिक्षणबारे भन्ने आँट नै गरिनँ। तर पनि बुबाले नै कहाँबाट एकदिन दीपक गुरु (श्रेष्ठ) बाट किक बक्सिङ प्रशिक्षण लिइरहेको थाहा पाउनु भएछ,’उनले भने, ‘सोधेरै प्रशिक्षण लिएको भए हुन्थ्यो भनेर सम्झाउनु भयो।’ आफ्ना बुबाको त्यो भनाइपश्चात् उनलाई बक्सिङमा लाग्न थप प्रेरणा मिल्न थाल्यो। सोही प्रेरणाका कारण उनले वि.सं. २०७० मा सम्पन्न अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जिते। दुई वर्ष पछि नै मार्सल आर्टस फेस्टिभलमा पनि उनले स्वर्णको सफलता दोहोर्‍याए। घरमा आमाबुबाले आफ्नो खेलबारे थाहा पाएपछि मात्र ढुक्क भएर विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाउन थालेको उनी बताउँछन्।

तर, आफूसरहका साथीहरू विभिन्न खेलमार्फत राष्ट्रिय खेलकुदमा सहभागी हुँदा आफू भने क्लब लेभलमा हुने एकाथ प्रतियोगितामा खुम्चनु परेकाले उनमा निकै चिन्ता बढ्न थाल्यो। बक्सिङबाट बिदा हुँदै पुनः तेक्वान्दो प्रशिक्षण लिने पनि उनले सोच्ने गर्दथे। तर पनि उनी यस खेलबाट टाढा हुन सकेनन्। खेलकुदका निकायले आयोजना गर्ने बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता किक बक्सिङलाई समावेश गरिँदैन। त्यसैले पनि किक बक्सिङ खेलले राज्यबाट कमै मात्र सुविधा पाउनु स्वाभाविक नै हो। तर, सञ्जितलाई अभैm पनि विश्वास छ, कुनै दिन किक बक्सिङ पनि राष्ट्रिय खेलकुदमा समावेश हुनेछ र आफ्नो क्षमता देखाउन पाउनेछु भन्नेमा।

‘नेपाल किक बक्सिङ संघले लगातार पहल गर्दासमेत राखेपले यस खेललाई राष्ट्रिय खेलकुदमा समावेश गरेको छैन,’ सञ्जितले भने, ‘हामी पनि खेलाडी नै हौं। खेलकुदको अविभावक संस्थाले गरेको विभेदले मन दुख्छ। आशा छ, नवौं राष्ट्रिय खेलकुदमा किक बक्सिङ पनि समावेश गरिनेछ।’ किक बक्सिङ सिक्ने नयाँ खेलाडीहरूको कमी नभए पनि उनीहरूले भविष्य नदेखेकै कारण यस खेलबाट टाढिने अवस्थामा पुगेको समेत उनले गुनासो गरे।

प्रकाशित: ६ भाद्र २०७८ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App